कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रानीकोटमा बाख्रा स्रोत केन्द्र

५० लाख रूपैयाँबाट सुरू गरेको व्यवसायमा अहिलेसम्म ६ करोड लगानी
कान्तिपुर संवाददाता

सल्यान — शारदा नगरपालिका–५ रानीकोटमा बोयर जातको बाख्राको स्रोत केन्द्र स्थापना गरिएको छ । कर्णाली प्रदेशमै पहिलोपल्ट बोयर जातका बाख्राको व्यावसायिक उत्पादन बढाउने गरी स्रोत केन्द्र स्थापना गरिएको हो ।

रानीकोटमा बाख्रा स्रोत केन्द्र

स्थानीय युवाद्वारा सञ्चालित राष्ट्रिय कृषि विकास कम्पनीमार्फत करिब ६ करोड रुपैयाँ लगानीमा बाख्रा स्रोत केन्द्र स्थापना गरिएको हो । जसका लागि रानीकोटका २१ घरपरिवारले ३ वर्षदेखि सामूहिक रूपमा बाख्रापालन गर्दै आएका छन् । बाख्रा पालन गर्ने सबै युवा हुन् । उनीहरूले ५० लाख रुपैयाँबाट सुरु गरेको व्यवसायमा अहिलेसम्म ६ करोड लगानी भइसकेको छ । केन्द्र स्थापना गर्न कम्पनीमा आबद्ध युवाहरूले प्रतिव्यक्ति एक लाख रुपैयाँ सेयर लगानी गरेको कम्पनीका अध्यक्ष किरण शाहीले बताए । उनका अनुसार कम्पनीमा अहिले १ सय ८० बोयरलगायत अन्य जातका बाख्रा छन् । ‘अहिले पनि जिल्लामा उन्नत जातका बाख्रा बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ, उन्नत जातका बोकाबाख्रा किन्नका लागि बाहिर जान नपरोस् भनेर स्रोत केन्द्र खोलिएको हो,’ उनले भने, ‘अहिले फार्ममा वर्षमा कम्तीमा ५० वटा बोयर जातका पाठापाठी उत्पादन भइरहेका छन् ।’ उनले प्रत्येक वर्ष एक करोड रुपैयाँसम्मका बोयर जातका बोका उत्पादन गर्ने गरी कम्पनी खोलिएको बताए ।

जिल्लामा उत्पादित खसीबोकाको माग उच्च रहेकाले विगतमा दुई/चारवटा ‘खरी’ जातका बाख्रा पालेर सामान्य आयआर्जन गरिरहेका स्थानीयलाई उन्नत जातका बाख्रा पाल्न लगाइएको उनको भनाइ छ । उनका अनुसार बाख्राबाट राम्रो आम्दानी हुन थालेपछि एक लाख शेयर लगानी गरेका एउटा किसानको सेयर अहिले १३ लाखसम्म पुगेको छ । कम्पनीमा ८ युवाले प्रत्यक्ष रोजगारी पाएको उनले बताए । बाख्रा स्रोत केन्द्रका लागि करिब ३ सय रोपनी जग्गामा विभिन्न जातका ५० हजार घाँसका बिरुवा खेती गरिएको छ । सामूहिक बाख्रापालन व्यवसायसँगै स्रोत केन्द्र स्थापना भएपछि जीविकोपार्जनमा सहयोग भएको र वार्षिक ५० हजार रुपैयाँसम्म कमाइरहेको कम्पनीमा आबद्ध किसान खगेन्द्र शाहीले बताए । ‘बाख्रापालन व्यवसायमा लागेपछि घरमै रोजगारी मिलेको छ,’ उनले भने, ‘भर्खर मात्र व्यवसाय सुरु गरेकाले आम्दानी कम भए पनि व्यवसायबाट आत्मसन्तुष्टि मिलेको छ, परिवारको खर्च धान्न सजिलो भएको छ ।’

जिल्लामा उत्पादन भएका खसीबोकाको सुर्खेत, नेपालगन्ज, काठमाडौंलगायत सहरमा राम्रो माग भएकाले बाख्रापालन व्यवसाय फस्टाउँदै गएको पशु सेवा कार्यालयका प्रमुख कपिलप्रसाद उपाध्यायले बताए । उनका अनुसार जिल्लाबाट वार्षिक करिब ५२ हजार खसीबोका जिल्ला बाहिर गइरहेका छन् ।

प्रकाशित : आश्विन १२, २०७९ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?