कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुम्लाको चङ्खेलीमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

रासस

हुम्ला — हुम्लाको दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकामा एक महिनादेखि मोबाइल सेवा अवरुद्ध हुँदै आएको छ । मेल्छाम गाउँमा स्थापना गरिएको नेपाल टेलिकमको टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध भएको हो ।

टेलिफोन सेवा अवरुद्ध हुँदा यहाँका बासिन्दाहरू सञ्चारको पहुँचमा जोडिन नसकेको भन्दै गुनासो गर्न थालेका छन् । एक महिनादेखि गाउँपालिकाका पाँच वटा वडाका सेवाग्राहीले यो सेवा पाउन नसकेको बताइएको छ ।

सञ्चार सेवा अवरुद्ध हुँदा काम परे पहिलेकै जस्तो मानिस पठाएर खबर आदान–प्रदान गर्नुपर्ने अवस्था सिर्जना भएको चङ्खेली गाउँपालिका–६ का बेलसरा तामाङ बताउँछिन् ।

यसबाट गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ का २५ बस्तीका बासिन्दा समस्यामा परेका छन् । मोबाइल सेवा अवरुद्ध भएपछि गाउँपालिकामा सम्पर्क गर्नसमेत समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ ।

गाउँपालिकाले नेपाल टेलिकमलाई समयमै टावरमा आएको खराबीबारे जानकारी गराए पनि हालसम्म सुनुवाइ हुन नसकेको गाउँपालिकाले जनाएको छ ।

सहज रूपमा प्राविधिक पुुग्ने अवस्था नरहेका कारण टावरमा आएको खराबीको मर्मत कहिलेसम्म हुने टुंगो छैन । दसैंको समयमा टेलिफोन सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर रहेका आफन्तसँग सम्पर्कमा जोडिनसमेत समस्या बनाएको यहाँका स्थानीयवासीको गुनासो छ ।

प्रकाशित : आश्विन ११, २०७९ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?