कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकटमा घरघरै धारा जोडिँदै

सबैभन्दा बढी सुक्खा क्षेत्र मानिने धौलागोहमा पानी झरेको छ
तुलाराम पाण्डे

कालीकोट — खानेपानीका लागि घण्टौं हिँडेर पानी ल्याउनुपर्ने कालीकोटका विकट बस्तीमा घरघरमा धारा बन्न थालेका छन् । यहाँका स्थानीय तहले मिटरसहित घरघरमा धारा वितरण गर्ने रणनीति अपनाएका छन् । 

विकटमा घरघरै धारा जोडिँदै

अहिले जिल्लाका ९ वटै पालिकामा झन्डै ३ हजार घरधुरीमा घरघरमा धारा निर्माण भइसकेको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयले जनाएको छ । अहिले पलाता, रास्कोट, नरहरिनाथ, तिलागुफा, खाडाचक्र र शुभकालिकाले खानेपानीलाई पहिलो प्राथमिकता दिएर बजेट विनियोजन गरिरहेका छन् । ‘खानेपानीलाई दिगो बनाउन घरघरमा धारा पुर्‍याउनुपर्ने देखियो,’ कार्यालयका प्रमुख इन्जिनियर मंगलबहादुर शाहीले भने, ‘यसले बर्सेनि योजना खाने प्रवृत्तिको अन्त्य हुनेछ ।’ उनले खानेपानी कार्यालयमार्फत प्रदेशका ८ वटा योजना र खानेपानी विभागमा ५६ योजना क्रमागत रहेको बताए ।

सुक्खाग्रस्त पलाता गाउँपालिकाले पहिलो गाउँसभाबाट ३ वर्षभित्र घरघरमा धारा पुर्‍याउने महत्त्वाकांक्षी योजना अघि सारेको थियो । तर बजेट अभावमा करिब ३ सय घरधुरीमा मात्र खानेपानीका धारा जडान गरेको छ ।

अघिल्लो स्थानीय सरकारको पालामा खानेपानीमा मात्र १५ करोड खर्च गरे पनि सबै घरमा धारा पुग्न सकेको छैन । ‘थिर्पूमा मात्र सबै घरमा धारा जडान गर्न सफल भयौं,’ पूर्वगाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले भने, ‘सबैभन्दा बढी सुक्खा क्षेत्र मानिने धौलागोहमा पनि बस्तीसम्म पानी झरेको छ, मिटरसहितका धारा बनाउन बाँकी छ ।’

थिर्पूमा घरघरमा धारा भएपछि स्थानीय महिला सबैभन्दा बढी खुसी छन् । ‘पहिले खोलाको पानी खानुपर्थ्यो,’ पलाता–९ कालचिउरीकी ४५ वर्षीया मैनादेवी बमले भनिन्, ‘अचेल त घरमै धारा छ, सजिलो भयो ।’ उनका अनुसार कुलोको पानी खाँदा ०६३ मा फैलिएको झाडापखालाबाट गाउँमा ११ जनाको मृत्यु भएको थियो । उनले पानी लिन जाने समय पनि बचत भएको बताइन् । खानेपानीको चर्को समस्या रहेको बोक्चुगाउँकी आम्पुरा रोकायाले पानीको नाउला (कुवा) मै बास बसेर पानी थाप्नुपर्ने बाध्यताको अन्त्य भएको बताइन् । स्थानीय धीरबहादुर भण्डारीका अनुसार घरघरै खानेपानीको सुविधा पुगेपछि गाउँलाई पूर्ण सरसफाइयुक्त गाउँ घोषणा गरिएको छ । यो वर्ष पनि खानेपानीलाई प्राथमिकतामा राखी झन्डै ४ करोड रुपैयाँ खानेपानी योजनाहरूमा छुट्याइएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाले बताए ।

रास्कोट नगरपालिकाले पनि घरघरमा धारा अभियान थालेको छ । रास्कोट–३ का ३ सय घरधुरीमा घररघमा धारा जडान भइसकेको छ । वडा नं ६ को बड्डालाका १ सय घरधुरीमा पनि पानी धारामा आइसकेको नगरप्रमुख धर्मराज शाहीले बताए । उनका अनुसार नगरका सबै वडामा घरघरमा धारा पुर्‍याउन २० करोड रुपेयाँको डिजाइन स्टिमेट तयार गरी बजेटको लागि पहल भइरहेको छ ।

सदरमुकाम रहेको खाडाचक्र नगरपालिका– १ स्थित मान्म बजार, २ नम्बर वडाको गैरागाउँ, वडा नं ७ को पिली, ५ नम्बरको विहानी र ११ नम्बर वठाको बरातुलाई सुरक्षित खानेपानी सुनिश्चित भएको बस्ती घोषणा गरिएको छ । ती बस्तीलाई पहिलो कार्यकालका जनप्रतिनिधिले नै सुरक्षित खानेपानी सुनिश्चित गाउँ घोषणा गरेको नगरका खानेपानी तथा सरसफाइ फोकलपर्सन भक्तिप्रसाद पाण्डेले बताए । उनका अनुसार अहिले खाडाचक्रमा खानेपानीका साना–ठूला गरी १३ वटा आयोजनाको काम भइरहेको छ ।

२ हजार घरधुरीमा शौचालयविहीन

कालीकोटमा खुला दिसामुक्त अभियान सञ्चालन गरी विभिन्न गाउँबस्ती हुँदै जिल्लालाई २०७० जेठमा नेपालको आठौ र कर्णालीको पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरियो । तर अभियान दिगो नहुँदा करिब २ हजार घरधुरी चर्पीविहीन छन् । जिल्ला समन्वय समितिका अनुसार पुराना बनाएका अस्थायी चर्पी भत्किएपछि र सेफ्टी ट्यांकी भरिएर प्रयोगमा नआउँदा ती घरहरू शौचालयविहीन भएका हुन् । पलाता गाउँपालिकाका २ हजार १ सय ७१ घरधुरीमध्ये ४ सय ७१ घरधुरीमा चर्पी नै नभएको तथ्यांक ५ महिनाअघि सार्वजनिक गरेको थियो ।

प्रकाशित : आश्विन ९, २०७९ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?