मुगुमा स्थानीय तहका ७०८ उम्मेदवारलाई जरिवाना 

राजबहादुर शाही

मुगु — जिल्लामा स्थानीय तहका उम्मेदवारहरुले निर्वाचन खर्च विवरण नबुझाएको भन्दै निर्वाचन कार्यालयले ७०८ जना उम्मेदवारलाई जरिवाना तोकेको छ ।

चार वटा स्थानीय तहका ७०९ जना उम्मेदवारमध्ये एक जना मुगुम कार्मारोङ गाउँपालिकाका उपाध्यक्ष पदका उम्मेदवार गुरुस्याङग्याप लामाले मात्र निर्वाचन खर्च बुझाएका छन् । चुनावमा जित्ने र हार्ने दुबै तर्फका उम्मेदवार जरिवानामा परेका छन् ।

गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन भई जेठ ७ गते परिणाम घोषणा भएको थियो । परिणाम सार्वजनिक भएको करिब सात महिनासम्म पनि नगर प्रमुख, उपप्रमुख, पालिका अध्यक्ष, उपाध्यक्ष वडाध्यक्ष, सदस्य, दलित महिला सदस्य, जनजाति सदस्यहरुले हालसम्म निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा नबुझाएपछि कारबाहीमा परेका छन् ।

जिल्ला निर्वाचन कार्यालयको नियमबमोजिम उम्मेदवारले असारमै आफ्नो निर्वाचन खर्च बुझाई सक्नु पर्ने भए पनि उम्मेदवारहरुले अटेर गरेपछि जरिवाना भोग्नु पर्ने भएको हो । निर्वाचन कार्यालयले नगर प्रमु, उपप्रमुख पदका उम्मेदवारलाई ४ लाख ५० हजार, नगरका वडाध्यक्ष, सदस्यका उम्मेदवारलाई २ लाख जरिवाना तोकिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धनकृष्ण बडुवालले बताए । उनका अनुसार पालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारलाई ३ लाख ५० हजार र पालिका अध्यक्ष र सदस्य पदका उम्मेदवारलाई १ लाख ५० हजार जरिवाना तोकिएको छ ।

निर्वाचन कार्यालयले गत भदौमा छायानाथरारा नगरपालिका, सोरु खत्याड र मुगुम कार्मारोङ गाउँपालिकामा लड्ने सम्पूर्ण उम्मेदवारलाई पत्राचार गरी तुरुन्त निर्वाचन खर्च विवरण पेस गर्नु भने पनि बेवास्ता गरेको उनको भनाइ छ । जिल्ला निर्वाचन कार्यालयले उम्मेदवारलाई जरिवानाको अवधि ६ महिना तोकिएको र उक्त समयसम्म पनि नबुझाए आयोगको निर्देशनबमोजिम थप कारबाही हुने सूचना अधिकारी बडुवालले बताए ।

प्रकाशित : आश्विन ८, २०७९ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्

'ट्रान्जिट प्वाइन्ट नहुँदा विराटनगर पछि पर्‍यो'

कान्तिपुर संवाददाता

काठमाडौँ — उद्योगी अरुण राठीले विराटनगरमा ट्रान्जिट प्वाइन्ट नहुँदा बन्दरगाहाबाट आउने सामान सिधै आउन नसकेको बताएका छन् । 

कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित उज्यालो पूर्व कार्यक्रम अन्तर्गत 'पूर्वको पौरख' सत्रमा बोल्दै राठी ग्रुपका निर्देशक अरुण राठीले विराटनगरमा पहिलो उद्योग स्थापना भए पनि ट्रान्जिट प्वाइन्टको हिसाबले वीरगन्जमा रेल गुडेपछि सामानहरू सस्तो भएको बताए ।

उनले विराटनगरमा बन्दरगाहाबाट सिधै सामान नआउने र वीरगन्जमा आउने भएकाले आन्तरिक कारणले वीराटनगर पछि परेको उनको भनाइ थियो ।

यस्तै, नेपालका उद्योगहरूमा बाहिरबाट कच्चा पदार्थ ल्याउने र त्यसलाई भ्यालु एडिसन गरेर सामान उत्पादन गर्ने किसिमको काम मात्रै भएको उनले बताए । अन्तर्राष्ट्रिय बजारमा कस्तो उत्पादन बढाएर प्रतिस्पर्धा गर्ने भन्ने सम्बन्धमा उत्पादनहरू कम भएको पनि उनको भनाइ छ ।

'विरानटगरका व्यापारीलाई कसरी स्याउ र अलैंची उत्पादन गर्ने ठाउँमा लैजाने भन्ने क्षेत्रमा लगेर हामीले प्रोत्साहन गर्न सकेको छैनौं,' उनले भने, 'हाम्रोमा खाली कपी पेस्ट उद्योग हुन्छ । एक जमनामा एउटाले बनाएको हुन्छ ऊ सफल हुन्छ । उसैको सिको गरेर त्यही क्षेत्रमा हात हल्दा सफलता हासिल नभएकाहरू छन् । '

यस्तै विराटनगरमा जग्गा महँगो भएका कारण वीरगन्जमा उद्योगहरु सिफ्ट भएको पनि उनले बताए । 'एक वर्षमा उत्पादन गर्ने सामानहरु भारत र चीनका उद्योगहरुले २ घन्टामा उत्पादन गर्छन् । ती मुलुकमा हुने उत्पादन क्वालिटी र ब्रान्डिङ धेरै नै हुन्छ,' उनले भने, 'हामी भारत र चीनका उद्योगहरुसँग प्रतिस्पर्धा गरेर काम गरिरहेका छौं । यो धेरै राम्रो हो,' उनले भने ।

साथै सानो मार्केटका बाबजुद ब्रान्डिङ र गुणस्तर कायम गरेर नेपाली उद्योगहरु टिकिरहेको उनको भनाइ थियो ।

प्रकाशित : आश्विन ८, २०७९ १६:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×