पुल नबनेपछि पप्पुसँगको ठेक्का रद्द

फेरी सञ्चालनका लागि ६० लाख रूपैयाँमा ठेक्का
चाँदनी कठायत

वीरेन्द्रनगर — सुर्खेत–तेलपानी–भुरीगाउँ सडकखण्डस्थित रानीघाटको भेरी नदीमा पुल नबनाउने निर्माण कम्पनीसँग ठेक्का सम्झौता तोडिएको छ । सडक डिभिजन कार्यालय सुर्खेतले पप्पु/मल्ल जेभी दैलेखसँगको सम्झौता अन्त्य गरेको हो । डिभिजन कार्यालयले उक्त कम्पनीलाई कालोसूचीमा राख्न समेत सिफारिस गरेको छ । कम्पनीले १० वर्ष २ महिनाअघि पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।

पुल नबनेपछि पप्पुसँगको ठेक्का रद्द

म्याद थप गरी पटकपटक ताकेता गर्दा पनि निर्माण कम्पनीले अटेर गरेपछि कालो सूचीमा राख्नका लागि प्रक्रिया थालिएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सार्वजनिक खरिद ऐन–२०६३ को दफा ६३, ५९, को उपदफा ७ र ठेक्का सम्झौतामा भएको व्यवस्थाबमोजिम ठेक्का तोडेर कालोसूचीमा राख्न सिफारिस गरिएको हो । ‘सार्वजनिक खरिद कार्यालयमा हामीले सिफारिस गरेका छौँ,’ कार्यालयका सूचना अधिकारी इन्जिनियर तुलाराम शर्माले भने, ‘काम गर्न राजी नै भएन, उक्त कम्पनीसँग काम गर्ने क्षमता नै देखिएन, ७२ सालपछि त प्रगति शून्य थियो ।’

सरकारले ०६९ असार ६ मा पप्पु कस्ट्रक्सन/मल्ल जेभीसँग ०७२ साल पुस २८ गतेभित्र पुल बनाइसक्ने गरी १४ करोड २९ लाख ८९ हजार २ सय ६८ रुपैयाँ लागतको ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीलाई पुल निर्माणका लागि २०७७ पुस २८ सम्म म्याद थपिएको थियो । निर्माण व्यवसायीले पिलरको आसनमा कडा चट्टान भेटिएकाले ढिलाइ भएको र यसको डिजाइन नै बदल्नुपर्ने बताउँदै आएको थियो । कम्पनीले पुलको ‘डिजाइन रिभ्यु’ का अनुरोध गरेपछि वैकल्पिक डिजाइन पनि तयार गरिएको शर्माले बताए ।

कार्यालयले सम्झौता हुँदा निर्माण कम्पनीले लिएको १ करोड ७६ लाख ५० हजार रुपैयाँ रकम फिर्ता लिएको छ । उक्त निर्णयविरुद्ध पप्पुले सडक डिभिजन कार्यालय र नेपाल बंगलादेश बैंकको नेपालगन्ज शाखालाई विपक्षी बनाएर उच्च अदालत सुर्खेतमा रिट दायर गरेको थियो । उसले सम्झौता हुँदा लिएको रकम फिर्ता नलिन र सम्झौता नतोड्न भन्दै २०७३ असार २५ गते उच्च अदालत सुर्खेतमा रिट दायर गरेको थियो । जसमा निर्माण कम्पनीले ३ करोड रूपैयाँसम्मको काम भएको दाबी गरेको छ ।

निर्माण थालेको १० वर्षसम्म पनि उक्त पुलको ३ वटा पिलर मात्रै ठडिएका छन् । पुलका लागि निर्मित सामग्री नदीमै जीर्ण बनिसकेको स्थानीय कमल विकले बताए । उनका अनुसार कति सामग्री नदीले बगाइसक्यो । ‘नदीको बीच भागमा सिमेन्टका गोला आकारका पायल मात्रै देखिन्छन्,’ उनले भने ।

सडक डिभिजन सुर्खेतले त्यही ठाउँमा पुल नबनुन्जेलसम्मका लागि फेरी बनाउने गरी प्रक्रिया थालेको छ । यातायातका साधनलाई भेरी नदी वारपार गर्न सहजताका लागि छिन्चु–जाजरकोट सडक खण्डको सल्लीबजारस्थित भेरी नदीमा राखिएको फेरि रानीघाटमा ल्याएर सञ्चालन गर्न लागिएको सूचना अधिकारी शर्माले बताए । ‘पक्की पुल बनाउन समय लाग्ने भएकाले फेरि सञ्चालनको तयारी थालिएको हो,’ उनले भने, ‘जसका लागि कम्पनी पनि छनोट गरिसकेका छौं ।’ उनले फेरी सञ्चालनका लागि बराह निर्माण सेवालाई ६० लाख रुपैयाँमा ठेक्का दिइएको बताए । उक्त फेरी सञ्चालनमा आएपछि सुर्खेत–बर्दिया आवतजावत गर्न रत्न राजमार्ग हुँदै बाँकेको कोहलपुर भएर जानुपर्ने बाध्यता हट्नेछ ।

उक्त निर्माणाधीन पुलको आडैमा रहेको झोलुंगे पुल ०७१ सालमा आएको बाढीले भत्काएपछि स्थानीय भने निराश छन् । स्थानीय हरिहरनाथ वेदीले पुल बनेपछि व्यापार व्यवसाय बढ्नेमा ठूलो आश पलाए पनि लामो समयदेखि काम अलपत्र भएकोमा दुःख लागेको बताए । ‘१० वर्षसम्म केही काम भएन,’ उनले भने, ‘फेरि बनेपछि भने व्यापार व्यवसाय बढ्ने आशा छ ।’

प्रकाशित : आश्विन ३, २०७९ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?