कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

गाउँभरि ज्वरोका बिरामी, विद्यार्थीको मृत्यु

जाजरकोट — नलगाड नगरपालिका–५ सिर्केजिउलामा ज्वरोका कारण एक विद्यार्थीको मृत्यु भएको छ । नगरपालिकाको सिर्के जिउलास्थित जुनी माविमा कक्षा ७ मा अध्यनरत मेनुका खड्काको मृत्यु भएको हो । छात्राको मृत्यु भएपछि विद्यालय बन्द गरिएको छ ।

गाउँभरि ज्वरोका बिरामी, विद्यार्थीको मृत्यु

विद्यालयका अधिकांश विद्यार्थी र शिक्षक बिरामी भएपछि नगरपालिकाकै लविसास्थित गणेश प्राविसमेत बन्द छ । गाउँगाउँमा बिरामी भएपछि समस्या भएको स्थानीय शिक्षक हरिश बुढाथोकीले बताए । स्वास्थ्यकर्मी पठाइदिन नगरपालिकालाई अनुरोध गरिए पनि अहिलेसम्म स्वास्थ्यकर्मी गाउँमा नपुगेको उनको भनाइ छ । ‘हप्ता दिनमा बढेको ज्वरो र रुघाखोकीका कारण गाउँभरि नै समस्या भएको छ, अहिले त बिरामी नभएका घर नै छैनन्,’ उनले भने, ‘एउटै घरमा २/३ जनासम्म बिरामी परेका छन् ।’ उनले स्वास्थ्यकर्मी गाउँमा नआउँदा बिरामीहरू घरेलु उपचार र जडिबुटीको भरमा उपचार गर्न बाध्य भएको बताए ।

नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले नगरपालिकाभरि सबै गाउँबस्तीमा भाइरल ज्वरोको प्रकोप फैलिएको बताए । ‘मौसमी समस्या हो वा अरू कुनै समस्या, सबै गाउँहरूमा स्वास्थ्यकर्मीलाई उपचार गर्न र औषधिको व्यवस्था गर्न निर्देशन दिइएको छ,’ उनले भने, ‘सबैतिर ज्वरोको प्रकोप भएकाले सिर्केजिउलातिर स्वास्थ्यकर्मी नगएका हुन सक्छन्, तत्काल त्यहाँ जान स्वास्थ्यकर्मीलाई अनुरोध गरेको छु ।’ उनले दल्लीस्थित प्राथमिक स्वास्थ्य केन्द्र पनि ज्वरोका बिरामीले भरिएको बताए । उनका अनुसार केन्द्रमा दैनिक ५० जनासम्म ज्वरोका बिरामी उपचारका लागि जाने गरेका छन्, जसमध्ये १० जनाको भर्ना गरेरै उपचार भइरहेको छ ।

प्रकाशित : भाद्र २३, २०७९ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×