कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्दननाथका टोलटोलमा सरसफाई शिक्षा

डीबी बुढा

जुम्ला — जुम्लाको चन्दननाथ नगरपालिकाले टोलटोलमा सरसफाई अभियान सुरु गरेको छ । पहिलो चरणमा ५ गाउँलाई केन्द्रित गरेर एक हप्ताको सरसफाई अभियान थालिएको हो । अभियानभित्र टोलमा जनप्रतिनिधि, सरसफाई अभियानकर्ता, साझेदार संस्था र स्वयंसेवा पुगेर सचेतना फैलाउने काम भइरहेको छ । 

चन्दननाथका टोलटोलमा सरसफाई शिक्षा

'टोलमा रहेका हरेक व्यक्तिसँग भेटेर सरसफाईले स्वास्थ्यमा हुने फाइदाका विषयमा छलफल चलाइन्छ । चन्दननाथ नगरपालिकाको पहिलो लक्ष्य भनेको सरसफाईयुक्त नगर बनाउने हो । खलंगालाई स्वच्छ सहर र सफा नगर बनाउन अभियान थालेका हौं,' नगरप्रमुख राजुसिंह कठायतले भने,‘नगर सफा भएमात्र हामी स्वस्थ हुन सक्छौं । नगरमा बजेटको आकार निकै सानो छ । त्यही बजेटको दायराभित्र सुन्दर नगर बनाउने अभिभारा छ ।’

नगर क्षेत्रको सरसफाईका लागि पेस नेपाल, एसएनभी नेपाल र मित्र समाजले साथ दिएका छन् । अहिले टोलटोलमा सरसफाई शिक्षा र घरदैलो भेटघाट चलिरहेको छ । स्थानीय निर्वाचनमा नगर सरसफाई मुख्य मुद्दा बनेको थियो । हरेक उम्मेदवारले नगर सफा र हराभरा बनाउने गरी घोषणापत्र तयार गरेका थिए ।

नगरप्रमुख कठायतले भने,‘निर्वाचनमा विजय भएदेखि नै नगरपालिका सरसफाईमा ध्यान केन्द्रित भएको थियो । निकट भविष्यमै सुन्दर र हराभरा नगर बनाउने अठोट छ । यो अभियानमा नगरबासीको पूर्ण साथ चाहिन्छ । ’

उनले सरसफाईको विषयमा हरेक निकाय जिम्मेवाररुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । चन्दननाथ १ हैतीबाडा, ३ खोलीकोट, ४ सिंगाचौर, ८ स्यालबाडा र ९ वयालकाटियामा सरसफाई अभियान थालिएको हो । सरसफाईसँगै सामाजिक व्यवहार परिवर्तनसम्बन्धी सचेतना फैलाइन्छ । पेस नेपाल जुम्लाका कार्यकारी अध्यक्ष किशोर न्यौपानेले अभियानअन्तर्गत घरदैलोमै पुगेर कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरिएको छ ।

बजारमा संकलित फोहोर दैनिकरुपमा उठाउने र आफ्नो आगनको फोहोर आफै उठाउने गरी अभियान सुरु भएको उनले बताए । तर बजारमा नगरपालिकाले फोहोर नियमित उठाउन नसकेको व्यापारीहरुको गुनासो छ । चन्दननाथमा हरेक ३ महिनामा ‘हेप्पी हेल्दी विक’ मनाइन्छ । यो पटक ७ दिनमा ५ वटा गाउँमा सरसफाई अभियान गरेर ‘हेप्पी हेल्दी विक’ मनाइएको थियो । सदरमुकाम खलंगामा र्‍यालीसमेत निकालियो ।

'चन्दननाथको सुखी स्वस्थ सहर, मेरो चन्दननाथ मेरो पहिचान' भन्ने नारालाई साकार पार्न सरसफाइ अभियान तीव्र बनेको नगरपालिकाले जनाएको छ । भदौ ९ गते पहिलो दिन चन्दननाथ नगरपालिका ९ को बयालकाटिया र चनदननाथ ८ को स्यालबाडामा महिलालाई महिनावारीका विषयमा सचेत बनाउँदै छाउपडी प्रथाका असरबारे जनचेतना जगाइएको थियो । व्यवहार परिवर्तनसम्बन्धी सरसफाइ साप्ताहिक अभियानमा महिनावारी स्वच्छता, सफा शौचालय प्रयोग, हात धुने अवस्था र विधिका विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको छ ।

बस्ती बस्तीमा पुगेर हात धुने विधि, सफा शौचालयको प्रयोग, ढल निकासको अवस्था र महिनावारी स्वच्छता लगायतका सूचकहरु निर्धारण गरिएको छ । नमुना बस्तीका रुपमा छनोट गरिएका बस्तीले सरसफाईका सूचक पूरा गर्नुपर्ने मित्र समाजका संयोजक भरत बोहराले बताए ।

प्रकाशित : भाद्र १५, २०७९ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?