२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

कैलाश मानसरोवर दर्शन गर्न सिमकोट भित्रिँदै धार्मिक पर्यटक

राजबहादुर शाही

मुगु — नेपाली भूमिबाट कैलाश मानसरोवर दर्शनका लागि ३ सय ४३ विदेशी पर्यटकहरू हुम्ला सिमकोट भित्रिएका छन् । कैलाश मानसरोवर दर्शनका लागि  ५ दिनयता नेपालगन्जबाट तारा एयरको जहाजमार्फत भारत, अमेरिका, फ्रान्स, नेदरल्यान्ड्स, न्युजिल्यान्ड‚ मोरोक्को, अस्ट्रेलिया, जर्मनीलगायत १२ भन्दा बढी मुलुकका पर्यटक भित्रिएको प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिइन् । 

कैलाश मानसरोवर दर्शन गर्न सिमकोट भित्रिँदै धार्मिक पर्यटक

अहिलेसम्म विभिन्न मुलकबाट ३ सय ४३ जना धार्मिक पर्यटक सिमकोट भित्रिएको र अझै आउने क्रम जारी रहेको उनले बताइन् । प्रमुख जिल्ला अधिकारीका अनुसार नेपालगन्जदेखि सिमकोटसम्म पुगेका धार्मिक पर्यटक एक रात सिमकोटमै बासी भोलिपल्ट नाम्खा गाउँपालिकाको लेकधिंगा जाने गरेका छन् । उक्त लेकधिंगामा पर्यटक बस्न १ सय वटा चौर टेन्ट राखिएको उनले बताइन् ।

लेकधिंगामा एक रात बसेर भोलिपल्ट हेलिकोप्टरमार्फत लिमीको ताक्ची जाने र ताक्चीमै दुई रात बिताएर पर्सिपल्ट गाडीमा लाप्चा पुगेर त्यहाँबाट कैलाश मानसरोवर दर्शन गरी फेरि टाक्चीमै फर्किएर पर्यटकहरू बास बस्ने गरेको प्रमुख जिल्ला अधिकारी परियारले जानकारी गराइन् ।

धार्मिक पर्यटक ओसार्न सिमकोटमा तीनवटा फिस्टेल हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ भने सिमकोटदेखि लेकधिंगासम्म पर्यटक लैजानका लागि १० वटा जिपको व्यवस्था मिलाइएको ट्रेकटर सोसाइटीले जनाएको छ ।

लेकधिंगाभन्दा माथि सञ्चार नेटवर्कले काम नगर्ने भएकाले ताक्ची र लाप्चा क्षेत्रमा काम गर्ने पथप्रदर्शकलाई स्याटलाइटको व्यवस्था मिलाइएको ट्रेकटर सोसाइटीका प्रबन्धक प्रल्हाद लिम्बुले बताए ।

कोरोना महामारीका कारण हिल्सा नाका भएर जाने कैलाश मानसरोवर तीर्थयात्रामा रोक लगाएपछि विदेशी धार्मिक पर्यटकहरू हुम्ला-लिमी-लाप्चाबाटै दर्शन गरी फर्किन थालेका छन् । नेपाली भूमिबाट कैलाश मानसरोवर दर्शनका लागि धमाधम विदेशी धार्मिक पर्यटक सिमकोट उक्लिन थालेपछि यहाँको चहलपहल बढेको हो ।

प्रकाशित : भाद्र १३, २०७९ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?