२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

बिहेको प्रलोभन देखाएर दुई बालिकामाथि बलात्कार

एक जना पक्राउ, एक फरार
विप्लव महर्जन

सल्यान — सल्यानमा दुई बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । कालिमाटी गाउँपालिका १ लक्ष्मीपुर घर भएका १४ वर्षीया र १७ वर्षीया दुई बालिका बलात्कृत भएको खुलासा भएको हो ।

बिहेको प्रलोभन देखाएर दुई बालिकामाथि बलात्कार

दुवै बालिकाहरूमाथि विवाहको प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । लक्ष्मीपुरकी १४ वर्षीया बालिका र १७ वर्षीया बालिकामाथि कालिमाटी गाउँपालिका ४ का १९ वर्षीय छविलाल गिरी र २० वर्षीय मेघराज थापाले विवाह गर्ने लालच देखाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।

प्रहरीको अनुसन्धान अनुसार कालिमाटी गाउँपालिका १ लक्ष्मीपुरको त्रिज माविमा बालिकालाई बोलाएर जबर्जस्ती करणी गरेको खुलासा भएको प्रहरी निरीक्षक खनालले जानकारी दिए । प्रहरीका अनुसार विवाह गर्ने लालचमा बलात्कार गरेपछि दुई बालिकालाई जंगलमा छाडी दुवै जना पुरुषहरू फरार भएका थिए ।

पीडितका आफन्तले किटानी जाहेरीसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई खोजतलास गर्ने क्रममा छविलाल गिरीलाई पक्राउ गरिएको थियो । साथै जबर्जस्ती करणी मुद्दा शिर्षकमा जिल्ला अदालत सल्यानबाट आठ दिनका लागि म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अर्का आरोपित मेघराज थापा भने फरार रहेका छन् । उनलाई पक्राउका लागि जिल्ला अदालतबाट अनुमति लिएको र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : भाद्र १२, २०७९ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?