कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

तरकारी टनेलमा विद्यालय कक्षा

हरिहरसिंह राठौर

छेडागाड, जाजरकोट — छेडागाड नगरपालिका–१२ स्थित हिमालय आधारभूत विद्यालयको भवन पहिरोका कारण चर्किएपछि बालबालिकाहरू झन्डै १ महिनादेखि तरकारी रोप्ने टनेलमा अध्ययन गर्न बाध्य छन् । साउन १० परेको झरीले विद्यालयको भवन चर्किएपछि उनीहरूलाई विद्यालयनजिकैको तरकारी टनेलमा राखेर पढाउन थालिएको हो ।

तरकारी टनेलमा विद्यालय कक्षा

विद्यालयनजिकै पहिरो जाँदा विद्यालय भवन चर्किएको प्रधानाध्यापक तिलक अधिकारीले बताए । ‘२ वटा कक्षाको त ढोकासमेत खोल्न नमिल्नेछ,’ उनले भने, ‘चर्किएको भवनमा राखेर पठाउँदा जोखिम हुने भएकाले तरकारी टनेललाई कक्षाकोठा बनाएका छौं ।’ कक्षा ५ सम्म पठनपाठन हुने विद्यालयमा पहिरोले २ वटा भवनको ४ वटा कक्षाकोठामा क्षति पुगेको छ । जसमा कक्षा ३ देखि ५ सम्मका बालबालिका पढ्ने ३ वटा कक्षाकोठा र भण्डार कक्ष क्षतिग्रस्त बनेको उनको भनाइ छ ।

टनेलमा शीतल हुँदा पढाउन सजिलो भए पनि ठूलो झरी अथवा चर्को घाम लाग्दा पनि प्लास्टिकमा बाफिएर पढ्न नसक्ने अवस्था छ । ‘ठूलो पानी पर्ने सम्भावना भए वा चर्को घाम लागे बिदा दिएर विद्यार्थीलाई घर पठाउँछौं,’ उनले भने, ‘निकै दुःखले पढाइरहेका छौं ।’ भवन चर्किएपछि वडा कार्यालय र नगरपालिकामा जानकारी गराए पनि तत्काल केही सहयोग गर्न नसक्ने जवाफ आएको प्रअ अधिकारीले बताए ।

विद्यालयमा अहिले बाल कक्षादेखि ५ कक्षासम्म ६६ बालबालिका अध्ययनरत छन् । २ स्थायी शिक्षक, १ राहत शिक्षक र १ बालविकास शिक्षक गरी ४ शिक्षक र १ विद्यालय कर्मचारी कार्यरत छन् । ‘विद्यार्थीलाई पनि सास्ती नै छ, हामीलाई पनि पढाउन समस्या भयो,’ प्रअ अधिकारीले भने, ‘धन्न एक जना छिमेकी किसानले टनेलमा पठनपाठन गर्ने गरी सहयोग गर्नुभयो, नत्र विद्यालय चर्केपछि बिदा गर्नुको विकल्प थिएन ।’

भवन चर्किएको जानकारी पाए पनि स्थलगत निरीक्षण गर्न जान नसक्दा विद्यालयको अवस्था थाहा नपाएको नगरपालिकाको शिक्षा शाखा प्रमुख दीपक शाहीले बताए । ‘अबको १/२ दिनभित्रै विद्यालयको अनुगमन गरी हामीले गर्न सक्ने सहयोग तत्काल गर्छौं,’ उनले भने, ‘बालबालिकाको पढाइ नरोकिने गरी थप सहयोग गर्नेबारे पनि सल्लाह भइरहेको छ ।’

प्रकाशित : भाद्र १२, २०७९ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?