कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दुर्गम गाउँहरू महिलाको भरमा

हरि गौतम

रुकुम पश्चिम — साउन १६ गते त्रिवेणी गाउँपालिका–७ की ३० वर्षीया कमला केसी रुखबाट लडेर घाइते भइन् । उनलाई गाउँका ७ महिला मिलेर स्ट्रेचरमा राखेर मुरु स्वास्थ्यचौकी पुर्‍याए ।

दुर्गम गाउँहरू महिलाको भरमा

केसी लडेर उठाउँदादेखि स्वास्थ्यचौकी पुर्‍याउँदासम्म महिला नै सक्रिय भए । गत साता बाँफिकोट गाउँपालिका–९ की ३४ वर्षीय पुतला सुनारलाई सुत्केरी व्यथाले च्याप्यो । त्यहाँ पनि ६ जना महिलाहरू मिलेर उनलाई गाउँभन्दा १ घण्टा टाढाको मेडिकलमा ल्याएर सुत्केरी गराए । यी दुई गाउँमात्र होइन, जिल्लाका अधिकांश गाउँमा युवाको संख्या न्यून छ । गाउँमा महिला, ज्येष्ठ नागरिक र बालबालिका मात्रै भएपछि अधिकांश काममा महिला मात्रै सहभागी हुनुपर्ने बाध्यता छ । ‘गाउँमा युवा तथा पुरुष नहुँदा मर्दा–पर्दा, अर्म–पर्म हामीबाटै चलिरहेको छ,’ मुसीकोट–११ की रती ओलीले भनिन्, ‘मान्छे मर्दा मलामी र बढ्दा जन्तीका लागिसमेत गाउँमा युवाहरू पाइँदैनन्, आपत्–विपत्मा खोज्दासमेत गाउँमा युवा भेटाउन मुस्किल छ ।’ वर्षामा बाटोघाटो सोहोर्ने, खानेपानीका पाइप बगे बनाउने मान्छेसम्म नपाइने अवस्था आएको उनको भनाइ छ । युवा गाउँमा नहुँदा विभिन्न काममा समस्या परेको उनले बताइन् ।

बाँफिकोट गाउँपालिका–८ मा अर्मपर्म गरेर कृषि र विभन्नि व्यवसाय गरिन्छ । त्यहाँ पनि अर्मपर्म महिलाले मात्रै गर्छन् । हलो जोत्ने, घर बनाउने जस्ता काममा पनि महिलाले नै अर्मपर्ममार्फत गरिरहेको स्थानीय फूलमाया खत्रीले बताइन् । उनका अनुसार गाउँका केही युवा जागिरका लागि गाउँ बाहिर गएका छन् भने अधिकांश युवा मजदुरीका लागि भारत र विभिन्न खाडी मुलुकमा गएका छन् । उनको ९ जनाको परिवारका ३ युवा पनि गाउँ बाहिरै रहेको उनले जानकारी दिइन् । उनका जेठाजु नेपाल प्रहरीमा कार्यरत छन् भने पति रुकुम पूर्वको एक विद्यालयमा पढाउँछन् । देवर लोकसेवाको तयारीका लागि दाङ गएको उनले जानकारी दिइन् ।

कतिपय युवा जागिर र पढाइको सिलसिलामा बाहिर भएपछि गाउँमा बालबालिका र महिला मात्र रहेको बाँफिकोट गाउँपालिका–६ का हरिबहादुर खनालले बताए । ‘कति युवा बर्खे बाली लगाएर र कति स्थानीय तहको निर्वाचनपछि गाउँ छाडेर कमाउन हिँडेका छन्,’ उनले भने, ‘गाउँ सुनसान त छँदै छन्, मर्दापर्दासमेत मान्छे पाइँदैन ।’ गाउँमा आम्दानीको स्रोत नभएपछि कमाउन सक्नेहरू गाउँघर बस्ने अवस्था नरहेको उनले बताए ।

जिल्लाभरिबाट कति जना जिल्ला बाहिर वा देश बाहिर गएका छन् भन्ने विवरण कसैसँग छैन । ‘परिवारको सबै खर्च युवाले नै धान्नुपर्दा गाउँमै बस्न पनि मुस्किल छ,’ सानीभेरी गाउँपालिकास्थित सूर्योदय माविका शिक्षक दीर्घबहादुर विकले भने, ‘स्थानीय स्तरमा रोजगार स्वरोगारको व्यवस्थापन नभएसम्म यो समस्या हल हुन गाह्रै छ ।’

मुसीकोट नगरप्रमुख महेन्द्र केसीले भर्खरै नयाँ बजेट र कार्यक्रम ल्याएकाले सकेसम्म स्वरोजगारका कार्यक्रम कार्यान्वयनको क्रममा रहेको बताए । ‘रोजगारीको समस्या सबैभन्दा ठूलो बन्दै गएको छ,’ उनले भने, ‘विकास निर्माण, विभिन्न व्यवसाय र सीपमूलक तालिममार्फत सकेसम्म युवाहरूलाई रोजगारी दिने हाम्रो प्रयास रहनेछ ।’

प्रकाशित : भाद्र ९, २०७९ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?