ज्येष्ठ नागरिकलाई निःशुल्क खाजा- कर्णाली - कान्तिपुर समाचार

ज्येष्ठ नागरिकलाई निःशुल्क खाजा

हरि गौतम

रुकुम पश्चिम — मुसीकोट नगरपालिका–५ का मनबहादुर खत्रीलाई समय बिताउन मुस्किल छैन । साँझ–बिहान परिवारका सदस्यसित रमाउने खत्री दिउँसो साथीभाइसँग भेटिन्छन् । मुसीकोट–१ का प्रियराज शर्माको दैनिकी पनि खत्रीको जस्तै गरी बितिरहेको छ । घरमा एक्लै बस्नुपर्दा उनी साथीभाइ भएको ठाउँमा गाइहाल्छन् । दिनभर गफिन्छन्, पुराना कुरा गर्छन् र बेलुका घर फर्कन्छन् ।

मुसीकोट–१ स्थित जेष्ठ नागरिक संघले सञ्चालन गरेको जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमले उनीहरूलाई सजिलो बनाइदिएको छ । जेष्ठ नागरिकलाई लक्षित गरी जिल्ला समन्वय समितिको कार्यालयनजिकैको जनविकास पुस्तकालयमा दिवा सेवा कार्यक्रम सञ्चालन गरिएको छ । एक्लै बस्नुपर्ने, समय बिताउन समस्या हुने ज्येष्ठ नागरिकलाई लक्षित गर्दै यो कार्यक्रम सुरु गरिएको हो ।

यहाँ ज्येष्ठ नागरिक भेटघाट गर्ने, छलफल गर्ने, चिया, खाजा खाने, नाचगान गर्नेसम्मको व्यवस्था छ । ज्येष्ठ नागरिकका लागि चिया, खाजा निःशुल्क पाइन्छ । ‘दिनभर घरमा कोही नहुने बेला कुरा गर्ने थलो पाइएको छ,’ खत्रीले भने, ‘बिस्तारै हिँड्दै संघको कार्यालय पुग्छु कुराकानी हुन्छन्, अरू साथीभाइ भेटिन्छन्, दिन गएको पत्तै हुन्न ।’

पुराना साथीभाइ भेटिने, कुराकानी हुने भएपछि खुसी पनि लाग्ने उनले बताए । ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर थालिएको कार्यक्रमले आफूहरूलाई सहयोग पुगेको शर्माले बताए । उनी जेष्ठ नागरिक संघका सदस्य पनि हुन् । सबैको मागअनुसार यो कार्यक्रम सुरु गरिएको र कार्यक्रमले जेष्ठ नागकिरलाई सहयोग नै पुगेको उनको भनाइ छ ।

मुसीकोट नगरपालिका र सामाजिक विकास कार्यालयले यो कार्यक्रमका लागि बजेट दिएका छन् । जेष्ठ नागरिक संघका उपाध्यक्ष गोविन्द केसीले ज्येष्ठ नागरिकहरू आउने, भेटघाट गर्ने, नाचगान गर्ने र चिया, खाजा पुग्नेगरी बजेट आएको बताए । प्राप्त बजेटमध्ये केही बजेट भ्रमणमा पनि खर्च गर्ने गरिएको छ ।

नगरपालिका र सामाजिक विकास कार्यालयले गरी ५ लाख रुपैयाँभन्दा बढी बजेट दिएको उनले बताए । ज्येष्ठ नागरिकका लागि टिभी हेर्न, बाजागाजा बजाउने व्यवस्था पनि गरिएको छ । जिल्लाभरका लागि यो कार्यक्रम सुरु भए पनि हाल मुसीकोटमा मात्रै केन्द्रीत रहेको उपाध्यक्ष केसीले बताए ।

जिल्लाका बाँकी ५ पालिकामा पनि जेष्ठ नागरिक पालिका संघ गठन गरी यस्तै खाले कार्यक्रम सञ्चालन गर्ने योजनामा रहेको उनले सुनाए । ‘केही समय भए पनि ज्येष्ठ नागरिकलाई भुल्ने, रमाउने, भेटघाट होस् भन्ने उद्देश्यले जिल्लाका सबै पालिकामा यो कार्यक्रम सञ्चालनको योजना बनाएका छौं,’ उनले भने ।

प्रकाशित : भाद्र ६, २०७९ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्

रुकुम पश्चिममा ५–११ उमेर समूहका बालबालिकालाई कोभिड खोप लगाइँदै

हरि गौतम

रुकुम पश्चिम — रुकुम पश्चिममा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ । आइतबारदेखि जिल्लाभरका ५–११ वर्ष उमेरका बालबालिकाका लागि कोभिड विरुद्धको फाइजर खोप अभियान सञ्चालन हुन लागेको छ ।

जिल्लाभर उक्त उमेर समूहका बालबालिकाको संख्या करिब २३ हजार रहेको जनाइएको छ । ती सबै बालबालिकालाई फाइजर खोप लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

३ सय २५ वटा विद्यालयमा खोप अभियान सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिइन् । खड्काका अनुसार जिल्लाका अधिकांश विद्यालयहरुमा खोप केन्द्र राखिएको छ । सबैको पायक पर्ने भएपछि विद्यालयमै राखेर खोप लगाउने बताइएको छ ।

भदौ ५ गते आइतबारदेखि खोपको पहिलो मात्रा लगाउन सुरु हुने र पहिलो मात्रा लगाएको २१ दिनपछि दोस्रो मात्रा लगाउन सुरु गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । पहिलो पटक ५–११ वर्ष उमेरका बालबालिकालाई पनि कोभिड विरुद्धको खोप लगाउन लागिएको हो ।

१२ भन्दा माथि उमेर समूहका लागि यो खोप अभियान यसअघि नै सुरु भइसकेको थियो । यो खोप सुरक्षित र प्रभावकारी रहेकोले ढुक्क भएर आफ्ना बालबालिकालाई खोप लगाउन स्वास्थ्य सेवा कार्यालयले अनुरोध गरेको छ ।

खोपका लागि स्थानीय तहमा रहेका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका संग सम्पर्क गर्न समेत आग्रह गरिएको छ । जिल्लाका ६ वटै स्थानीय तहमा एकैपटक खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । सञ्चालनअघि नेपालका २७ वटा जिल्लामा ५–११ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप लगाइएको थियो । अहिले बाँकी ५० वटा जिल्लामा खोप अभियान सञ्चालन हुने लागेको हो ।

प्रकाशित : भाद्र ३, २०७९ १५:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×