१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०१

चिकित्सक कुटिएको विरोधमा कर्णाली अस्पतालका स्वास्थ्यकर्मीद्वारा प्रदर्शन

डीबी बुढा

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. करुण साहमाथि भएको कुटपिटको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू प्रदर्शनमा उत्रिएका छन् ।

चिकित्सक कुटिएको विरोधमा कर्णाली अस्पतालका स्वास्थ्यकर्मीद्वारा प्रदर्शन

‘अन्याय पोल्छ, न्याय बोल्छ’ भन्ने प्लेकार्डसहित उनीहरू आइतबार सडकमा उत्रिएका हुन् । उनीहरू अस्पतालभित्र सुरक्षित रुपमा काम गर्न पाउनु पर्ने भन्दै प्रदर्शनमा उत्रिएका हुन् । डा. कविराज पौडेल नेतृत्वको चिकित्सकको टोलीले जिल्ला प्रशासन कार्यालय जुम्लामा ज्ञापनपत्रसमेत पेस गरेको छ । साथै अहिलेसम्मको प्रक्रियाका बारेमा जानकारी लिएको छ । कुटपिट गर्ने व्यक्तिलाई स्वास्थ्य ऐन बमोजिम कारबाही हुनुपर्ने उनीहरूको माग छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत डा. करुण साहमाथि गत बिहीबार अस्पताल प्रशासनका कर्मचारी धनबहादुर शाहीले हातपात गर्दै ज्यान मार्ने धम्कीसमेत दिएका थिए । सोही घटनाको विरोधमा यहाँका चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका हुन् ।

'हामी डा. करण साहमाथि अस्पताल प्रशासनका कर्मचारी धनबहादुर शाहीले हातपात गरेको तथा ज्यान मार्ने धम्कीसमेत दिएको घटनाप्रति सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरू मर्माहत छौं । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा अनवरत रुपमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने अमार्यादित कार्यले मनोबल गिरेको छ ।

काम गर्ने वातावरण प्रतिकुल बन्दै गएको छ । त्यसैले प्रतिष्ठानमा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कडाभन्दा कडा कारबाहीको माग गर्छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

साथै तत्काल कारबाहीको प्रक्रिया अगाडि नबढाए क्रमवद्ध रुपमा आन्दोलनका कार्यक्रम अघि सार्ने भन्दै चिकित्सकहरूले चेतावनी दिएका छन् । पहिलो दिन र दोस्रो दिन हातमा कालोपट्टी बाँधेर काम गरेका चिकित्सकहरूले तेस्रो दिनमा इमर्जेन्सी बाहेकका सबै सेवा ठप्प पारेर सडकमा उत्रिएका हुन् ।

सोमबारदेखि भने उनीहरूले पेन डाउनको कार्यक्रम राखेका छन । गत बिहीबार प्रतिष्ठान प्रशासनका कर्मचारी धनबहादुर शाहीले आफ्नो छोराको टाँका नकाटेको भन्दै डा. करुण साहमाथि हातपात गरेका थिए । यसबीचमा कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानको कार्यकारी परिषदको बैठकले प्रतिष्ठान प्रशासनका कर्मचारी शाहीलाई ४५ दिनका लागि निलम्बन गरिसकेको छ ।

कार्यकारी परिषदको बैठकले अस्पताल निर्देशक डा. पुजन रोकायाको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति पनि गठन गरेको छ । समितिलाई ३० दिनको समय सीमा तोकिएको छ । आइतबार दिउँसो पनि छानबिन समितिको बैठक बसेको छ ।

प्रकाशित : भाद्र ५, २०७९ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?