कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुम्ली शब्दकोश अधुरै

डीबी बुढा

जुम्ला — साविक जिल्ला विकास समितिको जिल्ला परिषद्ले २०६५ वैशाख ११ गते खस भाषाको संरक्षणका लागि शब्दकोश प्रकाशन गर्ने निर्णय गर्‍यो । चन्दननाथ–२ का ७६ वर्षीय रमानन्द आचार्यले शब्द संकलन र सम्पादनको जिम्मा पाए ।

जुम्ली शब्दकोश अधुरै

खस भाषामा दख्खल राख्ने आचार्यले झन्डै ३५ हजार खस शब्द संकलन गरिसकेका छन् । त्यसको अर्थ लगाउनेदेखि कम्प्युटर टाइपिङको काम सकिएको छ । तर आर्थिक कारण १४ वर्षदेखि थालिएको शब्दकोषले पूर्णता पाएको छैन ।

आचार्यले सम्पादन गरेको ‘खसिया आखर’ शब्दकोश साविक जिविस बन्द भएपछि अलपत्र परेको छ । जिविसले पहिलो वर्ष २ लाख रुपैयाँ विनियोजन गरेको थियो । खस शब्द संकलन गर्न हुम्ला, मुगु, डोल्पा र कालीकोटमा पनि पुगेको आचार्यले बताए ।

‘अहिले संकलित पाण्डुलिपि दराजमा थन्किएको छ,’ उनले भने, ‘म त अस्ताउन लागेको घाम, मर्नुअघि नै शब्दकोश प्रकाशन गर्ने धोको छ ।’ शब्दकोश प्रकाशनबाट आर्थिक लाभ प्राप्त नहुने देखेपछि सबै पन्छिएको उनको आरोप छ ।

‘मनि’, ‘म्यान’ र ‘मेथड’ नमिल्दा प्रकाशनको काम अलपत्र परेको आचार्यको गुनासो छ । उनका अनुसार शब्दकोश प्रकाशन गर्दासम्म झन्डै १५ लाख रुपैयाँ लाग्ने अनुमान जिविसले गरेको थियो । ‘जिविस हुँदासम्म आर्थिक सहयोग भइरहेको थियो, जिविस नभएपछि बन्द भयो,’ उनले भने, ‘अरूले खस शब्द संरक्षण गर्न चासो नै दिएनन् ।’

शब्दकोश प्रकाशन नभए पनि आचार्य अहिले पनि दिनभरजसो यही काममा व्यस्त छन् । नेपाली भाषाको उत्पत्ति भाषा मानिएको खस भाषा बोलिने क्षेत्रहरूमा कथ्य भाषाका रूपमा मात्रै रहेकाले यसलाई संरक्षण र लिपिबद्ध गर्न जुम्ली शब्दकोश निर्माणको काम थालिएको हो ।

शब्दकोशलाई चार उपभाषिकामा विभाजन गरिएको छ । पहिलो ८० दराली भाषिकामा ८० दरा, ५ सय दरा र सिञ्जा दराका शब्दहरू राखिएको छ । दोस्रो त्रिविकोटी भाषिकामा चौधबीस दरा र डोल्पामा बोलिने शब्दहरू, तेस्रो रासकोटी भाषिकामा कालीकोटमा बोलिने शब्द र चौथो मुहु भाषिकामा मुगु र हुम्लामा बोलिने शब्द समावेश गरिएको छ ।

‘स्रोत पाए प्रकाशनको लागि हामी तयार नै छौं, सरकारी निकायको सहयोग चाहिएको छ ’ प्रकाशन समितिका सदस्य गणेश चौलागाईले भने ।

प्रकाशित : भाद्र ४, २०७९ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?