जुम्लामा कर्मचारीबाटै कुटिए डाक्टर

डीबी बुढा

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत डा. करण साह प्रतिष्ठानकै कर्मचारीबाट कुटिएका छन् । अस्पतालको आकस्मिक विभागका कार्यरत डा.साहलाई प्रतिष्ठान प्रशासनतर्फका कर्मचारी धनबहादुर शाहीले नै कुटेका हुन् । शाहीको कुटाईबाट डा. साहको टाउको र पेटमा चोट लागेको जनाइएको छ । 

जुम्लामा कर्मचारीबाटै कुटिए डाक्टर

बिहीबार बिहान ९ बजे प्रतिष्ठान प्रशासनतर्फका चौथो तहका कर्मचारीसमेत रहेका शाही छोराको टाका काट्न भन्दै इमरजेन्सी विभागमा पुगेका थिए । तत्कालका लागि बिरामी हेर्न व्यस्त रहेको जनाउँदै डा. साहले बिहान ११ बजेतिर टाका काटिदिने प्रतिक्रिया दिए । शाहीको छोराको टाका काट्ने विषयमै उनीहरुबीच विवाद सिर्जना हुँदा शाहीले हातपात गरेको नेपाल चिकित्सक संघ जुम्ला शाखाका उपाध्यक्ष डा. कमल थानीले जानकारी दिए ।

'बिहानपख इमरजेन्सी वार्डमा बिरामीको भिडभाड नै थियो । चिकित्सकले बच्चाको घाउ पाकीसकेको छैन । हतार नगर्नुस् । अहिले म बिरामीसँग छु । ११ बजेतिर भेटेर हेरौंला भन्नुभएको सुनियो,' उपाध्यक्ष डा. थानीले भने,‘शाही त मेरो काम नगरेको भन्दै डाक्टर माथि हातपातमा उत्रिएछन् । यो राम्रो काम कदापी होइन् । यो कार्यले सिंगो प्रतिष्ठानका चिकित्सक र स्वास्थ्यकर्मी नै कर्मचारीबाट असुरक्षित हुनुपर्ने अवस्था आयो । ’

डा. साहले आफूमाथि हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उजुरीउपर प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

नेपाल चिकित्सक संघ जुम्लाले घटना छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । संघका उपाध्यक्ष थानीले जुनसुकै कारण भए पनि आक्रमण गर्न नपाइने भन्दै घटनाको विरोध गरेको जनाए । प्रहरीले प्रतिष्ठानका कर्मचारी शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन तथा प्रवक्ता डा. रमेश भट्टराईले कर्मचारीले चिकित्सकलाई कुटेको बताए । उनले भने,‘उनले कर्मचारीले चिकित्सकमाथि हात हाल्न नहुनु पर्ने हो । हात हालिसकेपछि समस्या भयो । ’ डा. साह डिउटीमा भएको बेला हातपात गर्न होइन । अलिअलि धकेलाधकेल भए पनि समाधान गर्न सकिन्थ्यो होला । उनले थपे,‘सीसीटीभी फुटेजमा स्पष्टरुपमा चिकित्सकमाथि हातपात भएको देखिन्छ ।’ पीडित चिकित्सकले निवेदनसँगै सीसीटीभी फुटेज नै प्रहरी प्रशासन कार्यालयमा पेस गरेका छन् । चिकित्सकले काम गर्न सक्दैनौं, इमरजेन्सी बाहेकका सेवा बन्द गर्ने चेतावनी दिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले चिकित्सक कुट्ने कर्मचारीलाई कारबाहीको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । आन्दोलनको पहिलो चरणमा उनीहरुले अस्पताल प्रशासन, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय जुम्लामा चिकित्सक कुटिएको बारे जानकारी गराइसकेका छन् ।

भदौ ३ र ४ गते कालोपट्टी बाँधेर काम गर्ने, भदौ ४ गते आइसीयु, इमरजेन्सी र एनआइसीयु बाहेकको सबै सेवा बन्द गर्ने, भदौ ५ गते दोषीलाई कारबाही नहुँदासम्म कलम बन्द गर्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । स्वास्थ्यकर्मी तथा चिकित्सकले संयुक्त विज्ञप्ति निकाल्दै सेवाग्राहीप्रति पुग्ने असुविधा प्रति क्षमा मागेका छन् । अहोरात्र बिरामीको सेवामा तत्पर रही दुर्गमका जनतालाई स्वास्थ्य सेवा दिँदै गर्दा चिकित्सकमाथि नै कुटपिट भएकोले स्वास्थ्यकर्मी तथा चिकित्सकमा मानसिक असर परेको छ । विज्ञप्तिमा भनिएको छ,‘घटनामा संलग्न पीडकलाई कडाभन्दा कडा कारबाही नभएसम्म संघर्षका कार्यक्रम रोकिने छैनन् । जसबाट हुने क्षतिको जिम्मेवारी स्वयं पीडकले नै लिनुपर्ने छ । ’

पीडक भनिएका कर्मचारी शाहीले चिकित्सक कुटिएको विषय सत्य नभएको प्रतिक्रिया दिएका छन् । ‘मेरो बच्चाको पेट दुखेर छटपटिएको थियो । सँगै टाका काट्नुपर्ने पनि थियो । तर त्यसका लागि १ घण्टा कुर्दा पनि उपचार नभएपछि केही प्रशासनिक कर्मचारीको सहयोगमा पुनः उपचारको लागि अनुरोध गरे तापनि बारम्बार बाहिर पठारहनुभयो,' उनले सामाजिक सञ्जालबाटै प्रतिक्रिया दिएका छन्, 'यदि इमर्जेन्सीमा भिड भएको भए पनि म गल्ती हुन्थें । सीसी क्यामरा हेर्नुस् इमर्जेन्सीमा त्यो समयमा १ जना पनि बिरामी थिएन । तापनि उहाँले निकै नै आडम्बर देखाएपछि सामान्य धकेलाधकेल भएको हो । सायद जोकोही पनि यस्तै गर्थे किनकि ६ वर्षको बच्चा छट्पटिरहँदा कति मन दुख्छ ।’

प्रकाशित : भाद्र ३, २०७९ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?