सुर्खेतमा वन कार्यालयले नियन्त्रणमा लिएका व्यक्तिको मृत्यु, आफन्त आन्दोलित
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
सुर्खेत — सुर्खेतमा वनसम्बन्धी मुद्दामा पक्राउ गरिएका व्यक्तिको मृत्यु भएपछि आफन्त आन्दोलित बनेका छन् । वीरेन्द्रनगर वन डिभिजन कार्यालयमार्फत बिहीबार पक्राउ गरिएका वीरेन्द्रनगर-१३ भूतचोकका ५८ वर्षीय धनीराम लामिछानेको वन कार्यालय पुर्याउनेबित्तिकै मृत्यु भएको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![सुर्खेतमा वन कार्यालयले नियन्त्रणमा लिएका व्यक्तिको मृत्यु, आफन्त आन्दोलित](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/third-party/death-1882022044239-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
उनको मृत्यु भएपछि आफन्तले पक्राउ गर्नेहरुबाट कुटपिट भएपछि मृत्यु भएको आरोप लगाउँदै कार्यालयमा आन्दोलन गरेका छन् । आक्रोशित बनेका आफन्तले घटनाबारे सत्यतथ्य छानबिन नभएसम्म शव नबुझ्ने बताएका छन्। वीरेन्द्रनगर वन डिभिजन कार्यालयका अनुसार मदन भण्डारी राजमार्गमा पर्ने जंगलमा नम्बरिङ गरिएको रुख काटेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।
मृतकका भाइ रामप्रसाद लामिछानेले घर बनाउन सानो रुख काटेको आरोपमा भाउजुलाई पहिला वन कार्यालयले पक्राउ गरेको बताए । उनले भने, ‘पछि वन कार्यालयबाट मिलापत्र गर्ने कुरा गरेर घर गए, झुक्काएर दाइलाई वनका चार जना कर्मचारीहरुले लतार्दै, पिट्दै ल्याएर बाटैमा मारेको आरोप लगाए ।
भाइ रामप्रसादले वनका कर्मचारीले कुटपिट गरेर मारेको र पछि डोरीले झुन्ड्याएर आत्महत्या गरेको भन्ने बाहना रचेको आरोप लगाए । साथै आफन्तहरूले उक्त घटना सत्य, तथ्य छानबिन हुनुपर्ने, कर्मचारीहरुलाई कारबाही हुनुपर्ने माग राखेका छन् । डिभिजन प्रमुख मुनबहादुर रावतले श्रीमतीको जमानीमा हाजिर जमानीको कागज गराउने तरखरमा लागेको बेला लामिछानेले आत्महत्या गरेको दाबी गरे ।
लामिछानेलाई पक्राउ गर्न वीरेन्द्रनगर सब डिभिजन प्रमुख कृष्णराम धितालको आदेशमा फरेस्टर सन्तोष खत्री, वनरक्षक पियुसराज तिवारी लगायतको टोली गएको थियो।
प्रदर्शनले डिभिजन वन कार्यालय वीरेन्द्रनगर, सुर्खेत कार्यालय अगाडि तनावग्रस्त बनेको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले लामिछानेको मृत्यु कर्मचारीको कुटपिटबाट नभई आत्महत्या भएको दाबी गरे । उनले भने, 'हामी शव परीक्षणसहित आवश्यक अनुसन्धान गर्दैछौं ।'
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)