कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुम्ला फर्कियो बडिमालिका गएको टोली

जुम्ला — बाजुरास्थित बडिमालिका मन्दिरको पूजा गर्न गएको जुम्लाको सरकारी टोली १६ दिने धार्मिक यात्रा सकाएर जुम्ला फर्केको छ । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा एकराज गिरीको नेतृत्वमा पुजारी विष्णुप्रसाद उपाध्यायसहित झन्डै २० सदस्यीय टोली बडिमालिका गएको थियो ।

जुम्ला फर्कियो बडिमालिका गएको टोली

तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा पूजा गर्ने प्रचलनअनुसार जुम्लाको सरकारी टोली बडिमालिका पुगेको हो । पवित्र तीर्थस्थल बाजुरास्थित बडिमालिकाबाट डोली ल्याउने सरकारी टोलीलाई जुम्ला सदरमुकाम खलंगास्थित नेपाली सेनाको टुँडिखेल मैदानमा स्वागत गरिएको थियो । बडिमालिकाबाट मुगु हुँदै कनकासुन्दरी मन्दिरको पूजा गरेर फर्किएको उक्त टोलीलाई सेनाको टुकुडीले सलामी अर्पण गरेको थियो । टुकुडीले बडिमालिका, चन्दननाथ, भैरवनाथ, निसान भगवतीलाई सलामी दिएको गणपति रविन थापाले बताए ।

सेनाले सलामी चढाएपछि डोलीलाई बाजागाजासहित खलंगा बजार परिक्रममा गरेर चन्दननाथ भैरवनाथ मन्दिर हुँदै दरबार मालिका मन्दिरमा पुर्‍याइएको थियो । त्यसपछि डोली दरबार मालिकामा विधिवत् रूपमा बुझाइएको छ । टोली नाग पञ्चमीका दिन बडिमालिका गएको थियो ।

प्रकाशित : भाद्र २, २०७९ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?