प्रहरी चौकीमा ५ मूर्ति- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरी चौकीमा ५ मूर्ति

सर्वसाधारणले वर्षको दुई पटक मात्रै मूर्तिको दर्शन पाउँछन् तर उच्च पदस्थलाई दर्शन गर्न साइत कुर्नु पर्दैन
डीबी बुढा

जुम्ला — कनकासुन्दरी गाउँपालिका ४ स्थित कनकासुन्दरी मन्दिरको ५० मिटरको दूरीमा छ, इलाका प्रहरी कार्यालय हाडसिँजा । यो कार्यालयको सुरक्षित कोठामा बाकसभित्र ५ वटा भगवानका मूर्ति पनि छन् । तर ती मूर्ति बेबारिसे फेला परेर वा कुनै चोर डकैतबाट फुत्काएर ल्याइएको होइन । 

पाँच वर्षअघि कनकासुन्दरी मन्दिरको छेउमा कर्णाली क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिको लगानीमा धर्मशाला निर्माणका लागि जग खन्दा तीन सेतो र दुई हरियो धातुको गरी पाँचवटा मूर्ति भेटिएका थिए । निकाल्ने क्रममा केही टुटफुट भएका ती मूर्ति विष्णु भगवान, इन्द्र भगवान, जालपा देवी, शिवको आसन, साँढेको टाउको लगायतका हुन् । जसमध्ये तीनवटा ठूला र २ वटा साना छन् । यो खस राजाको दरबार क्षेत्र भएकाले यी मूर्तिहरू झन्डै १३ औं शताब्दी पुराना भएको स्थानीय बताउँछन् ।

कनकासुन्दरी मन्दिरको दक्षिणमा लामा विष्णु भगवान, पूर्वको कोठामा जालपा देवीको पूजा गरिन्छ । उत्तर तर्फको कोठामा रहेको भैरव मन्दिरमा बलि चढाइन्छ । मूर्तिर् भेटिएपछि त्यसलाई मन्दिरभित्रै राख्ने कि के गर्ने भन्ने विषयमा स्थानीयको मत बाझियो । धेरैले भेटिएका मूर्तिहरू सयौं वर्ष पुराना भएकाले चोरी हुन सक्ने बताए । २०३४ सालमा कनकासुन्दरी मन्दिरबाट कनकासुन्दरी देवीको ऐतिहासिक मूर्तिर् चोरी भएको इतिहासले धेरैलाई झस्कायो । हराएको ती मूर्तिहरू अहिलेसम्म नभेटिएको भन्दै स्थानीयले मूर्तिर्को सुरक्षाको जिम्मा कसले लिने भन्ने प्रश्न गरे ।

मन्दिरमा नियमित पूजाका लागि द्यारपाटा गाउँका काफ्ले र सिमपाटीका देवकोटालाई पुस्तेनी जिम्मेवारी तोकिएको छ । त्यसका अलावा मन्दिरमा एकजना चौकदार नियमित बस्छन् । मन्दिरको ढोका निकै जीर्ण थियो । झ्याल पनि भरपर्दो थिएन । यस्तो संरचनामा चौकीदार र पुजारीको भरमा मूर्तिर्को सुरक्षा गर्न नसकिने भएपछि तत्कालका लागि चौकीमा नै मूर्तिर् राख्ने सर्वसम्मति जुट्यो ।

सबै मूर्तिका तौल झन्डै ४० केजी बराबरको छ । जसलाई सईको कमान्डमा ११ प्रहरीको दरबन्दी भएको थानाको एक कोठामा बाकसभित्र राखिएको छ । जुन कोठाको साँचो प्रहरी चौकीसँग छ । मूर्ति राखिएको बाकसको साँचो भने मन्दिरका पुजारीले राखेका छन । कोठाको सुरक्षा भने हवल्दारको नेतृत्वमा हुने गरेको छ ।

वर्षको दुई पटक मात्रै यी मूर्तिको सर्वसाधारणले दर्शन पाउँछन् । दसैंको फूलपातीदेखि नवमीसम्म र चैते दसैंको एक दिन बिहानदेखि बेलुकासम्म । यी दुई बेला बिहान चौकीबाट बाजागाजासहित मूर्ति मन्दिरमा लगिन्छ । अनि साँझ उसैगरी बाजागाजासहित मूर्तिलाई चौकीभित्र हुलिन्छ । त्यतिबेला भक्तजनहरू भगवान जेल परेको झैं मानेर दुःखी देखिन्छन् । तर उच्चपदस्थ सरकारी कर्मचारीदेखि नेता, मन्त्री र सांसदलाई यी मूर्तिको दर्शन गर्न साइत कुर्नु पर्दैन । उनीहरू चाहेको बखत चौकीमा पुग्छन, पुजारीलाई डाक्छन् अनि मूर्तिर्को दर्शन र पूजा गरेर फर्किन्छन् ।

धर्मशाला निर्माण समितिका सचिव ताराजङ्ग हमाल भगवानलाई थुनेर राखिएकोमा खुसी छैनन् । उनले भने, ‘हामीले भेटेको भगवानलाई हामीले पूजा गर्न पाएका छैनौं । मनको बिलौना र बह पोख्न पाइरहेका छैनौं । कसरी हाम्रो आत्म शान्ति होला ?’

कनकासुन्दरी ५ का स्थानीय ६९ वर्षीया लालप्रसाद उपाध्याय चौकीभित्र मूर्ति थुनेर राख्नुभन्दा मन्दिरकै छेउमा प्रहरी बिट राख्न सुझाउँछन् । लालप्रसादले भने, ‘मन्दिरमै प्रहरी बिट राखिदिएको भए सहज हुने थियो । सबै नागरिकको माग यही हो । तर राज्य सुन्दैन । हामी क्या गरौं ।’ उनले प्रत्येक पटक कनकासुन्दरी मन्दिरको दर्शन गर्न जाँदा ती मूर्तिको पनि दर्शन गर्न पाए हुन्थ्यो भनेर सोधीखोजी हुने गरेको बताए । चौकीभित्र मूर्तिलाई वर्षौंसम्म थुनेर राख्नु भक्तजनको भावनामा चोट पुर्‍याउने काम भएको उनले बताए ।

कनकासुन्दरी ४ का वडाध्यक्ष धनमानसिंह हमालले थानाबाट ल्याएर मूर्ति मन्दिरमा राख्दा पनि चोरी हुने डर भएको बताए । उनले मन्दिरको रेखदेख गर्न प्रहरीको पहरा मिलाउन आफूहरूले पटक पटक प्रदेश तथा संघीय सरकारसमक्ष माग गरेको बताए । मूर्तिको ऐतिहासिक महत्त्व पहिल्याउन काठमाडौं २०७६ मा स्थानीय पुरातत्त्व विभाग पुगे पनि विभागका कर्मचारीहरूले महत्त्व नदिएको उनले सुनाए ।

‘कही सीप नलागेपछि हामी रित्तो हात फर्कियौं,’ उनले भने । इलाका प्रहरीचौकी हाडसिँजाका प्रहरी हवलदार रामबहादुर रानाले जनशक्ति अभावका कारण मन्दिरमै राखेर मूर्तिको सुरक्षा नसकिने बताए । उनले भने, ‘मूर्ति मन्दिरमै राखेर पूजा गर्न पाउनुपर्ने भन्दै नागरिक दबाब दिन्छन् । चौकीमा जनशक्ति अभाव छ ।’

प्रकाशित : भाद्र १, २०७९ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्

विद्यालय मर्ज गर्दै स्थानीय सरकार

‘विद्यालय मर्ज हुँदा बजेट विनियोजन गर्न र एकीकृत पूर्वाधार योजना लागू गर्न सजिलो हुने देखियो’ 
कान्तिपुर संवाददाता

रुकुम पश्चिम — आठबीसकोट नगरपालिकाले कम विद्यार्थी भएका विद्यालयहरू मर्ज गर्न थालेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएपछि शिक्षक र शैक्षिक पूर्वाधार व्यवस्थित गर्न विद्यालय मर्ज गर्न थालिएको हो ।

नगर कार्यपालिकाको निर्णयअनुसार पहिलो चरणमा ९ नम्बर वडाको दीपज्योति आधारभूत विद्यालय र सहिद स्मृति नमुना माविलाई मर्ज गरिएको छ । विद्यालय मर्ज गर्न असारमा शिक्षा, युवा तथा खेलकुद शाखाका थलविर ओलीको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो ।

कार्यदलले विद्यालय मर्जको काम गरिसकेको संयोजक ओलीले बताए । उनका अनुसार २०४९ सालमा स्थापना भएको दीपज्योति आधारभूत विद्यालय र २०७४ सालमा खुलेको सहिद स्मृति नमुना माविबीच मर्ज गरिएको हो । अब विद्यालयमा कक्षा १ देखि १० सम्म पढाइ हुनेछ ।

यसअघि माध्यमिक विद्यालयमा कक्षा ६ देखि १० कक्षासम्म मात्र पठनपाठन भइरहेको थियो । दुई विद्यालय मर्जपछि विद्यालयको नाम सहिद स्मृति दीपज्योति नमुना मावि राखिएको छ । विद्यालयका लागि व्यवस्थित दुई भवन निर्माणको अन्तिम चरणमा छन् । विद्यालयमा आवासीय सुविधासहित पठनपाठन भइरहेको छ ।

नगर शिक्षा समितिका संयोजक एवं नगरप्रमुख रवि केसीले शैक्षिक गुणस्तर कायम गरी सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन विद्यालय मर्जको योजना अघि सारिएको बताए ।

‘एउटै वडामा कुनैमा विद्यार्थी संख्या कम र अर्कोमा बढी भएको पाइए धेरै विद्यार्थीलाई पायक पर्ने गरी मर्जको अवधारणा अघि सारेका छौं,’ उनले भने, ‘विद्यालय मर्ज हुँदा बजेट विनियोजन गर्न र एकिकृत पूर्वाधार योजना लागू गर्न सजिलो हुने देखियो ।’

प्रकाशित : भाद्र १, २०७९ १०:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×