कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठिन्के आयोजनाको विद्युत् सेवा १३ महिनादेखि ठप्प

डीबी बुढा

जुम्ला — जुम्ला चन्दननाथ नगरपालिका १ मा रहेको ठिन्के जलविद्युत् आयोजनाको विद्युत् सेवा १३ महिनादेखि अवरुद्ध छ । सदरमुकामभित्रै रहेको विद्युत् आयोजनाको बिजुली नबल्दा सेवाग्राही मर्कामा परेका छन् । उनीहरूले तत्काल बिजुली बाल्न पाउनुपर्ने भन्दै मागसमेत गरेका छन् ।

ठिन्के आयोजनाको विद्युत् सेवा १३ महिनादेखि ठप्प

गत वर्ष भदौ महिनामा परेको वर्षाले विद्युतको नहर भासिएपछि यस क्षेत्रमा विद्युत् सेवा सञ्चालन हुन सकेको छैन । साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढथापाले ठिन्के विद्युतबाट उपभोक्ताले लाभ लिन नसकेको बताए । उनले भने, ‘विद्युतको नहरसँगै जोडिएको कुलो बनाउँदा डोजर प्रयोग भएको थियो । जमिन थर्किएर कमजोर भएकोले जमिन वर्षाको पानीले भासियो । यही कारणले बिजुली बल्न सकेको छैन ।’

ठिन्के जलविद्युत आयोजनाका झण्डै ७ सयभन्दा बढी ग्राहक छन् । लामो समयसम्म बिजुली बाल्न नपाउँदा सरकार गैरजिम्मेवार बनेको स्थानीयहरूको गुनासो छ । 'विद्युत् १३ महिनादेखि बलेको छैन । विद्युत् मर्मत गर्न सरकारको तदारुकता पनि देखिँदैन,' स्थानीय कालीबहादुर खड्काले भने, ‘बिजुली आउँदा उज्यालो अनुहार देखाएका हामी नगरवासी १३ महिनादेखि अन्धकारसँग जुधिरहेका छौं । यो समस्या कसले देख्ने ? कसले बुझिदिने ?’

गत भदौ ५ गते नहर भत्किएको हो । भत्किएको नहरको लागत स्टमेट तयार पार्न प्राविधिकसमेत परिचालन भएका थिए । नहरको लागि ग्याबिन हाल्ने र नहर आरसीसी गरेर बिजुली बाल्ने तयारीसमेत भएको थियो । उनले भने, ‘न अहिलेसम्म बिजुली आयो, न त बिजुली बनाउने रकम र प्राविधिक भेटिए । आजसम्म पनि अन्धकार रातमा छामछाम छुमछुम गर्दै दिन गुजारा चलाइराखेका छौं ।’

उक्त ठाउँमा २५ किलोमिटर नहर भत्किएको चन्दननाथ १ का वडाध्यक्ष तिलकप्रसाद न्यौपानेले बताए । नहरको उचाइमा ग्याबिन हालेर नहर पक्की गरेपछि मात्र बिजुली बल्ने सम्भावना रहेको उनको भनाइ छ । ‘नगरपालिकाले चासो देखाएको छ । अब छिट्टै बन्ला,’ वडाध्यक्ष न्यौपानेले भने ।

यस्तै विद्युत् आयोजनाको काम सुरु भएपछि हालसम्म खेतमा धान नरोपिएको स्थानीय अमृत आचार्यले बताए । उनले भने,‘न खेतमा धान रोपियो । न घरमा बिजुली बल्यो । केबल बिजुलीको तार झुण्ड्याइएका पोल हेरेर चित्त बुझाउनु पर्ने अवस्था छ ।’ उनले तत्काल बिजुली बाल्नका लागि नहर निर्माणको काम प्रारम्भ गर्न नगरपालिकालाई आग्रह गरेका छन् ।

'हामीले धान त खेतमा रोप्न पाएनौं । बत्ती बाल्न पाउने आसामा श्रमदान पनि गर्यौं । जब विद्युत् निर्माणको काम सकियो नहर भत्किएर १३ महिनादेखि बत्ती बाल्न पाएका छैनौं,’ आचार्यले भने ।

बिजुली नबलेको जनगुनासो बढेपछि चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायत भत्किएको विद्युतको नहर हेर्न स्थलगत अनुगमनमा निस्केका थिए । उनले तत्काल नहर मर्मतको व्यवस्था मिलाउने बताएका छन् ।

वैकल्पिक उर्जाको दुई करोड ५५ लाख रुपैयाँले मेसिन, तार र पोल खरिद गरिएको थियो । यसअघि उत्पादन भएको २ सय किलोवाट बिजुलीले सदरमुकाम खलंगास्थित बजारलाई नपुग्ने भएपछि एक सय किलोवाट क्षमताको ठिन्के जलविद्युत् आयोजनाको निर्माण कार्य थालिएको थियो ।

नगरप्रमुख कठायतका अनुसार तातोपानी ४ मा रहेको गिडीखोलामा निर्माण भएको दुई सय किलोवाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने सम्झौता भइसकेको छ । अन्यत्र ठाउँमा उत्पादन भएका साना जलविद्युत् आयोजनाको बिजुली पनि राष्ट्रिय प्रसारण लाइनमा जोडेर विद्युत् समस्याको समाधान गर्ने पहल गरेको उनले बताए ।

ठिन्केको विद्युत सेवाबाट आचार्यबाडा, भण्डारीबाडा, तलिचौर, जुम्ला विमानस्थलदेखि कालेखोलीसम्मका बासिन्दा लाभान्वित हुन्छन् । नहर भत्किएपछि प्राधिकरणको बिजुली जोडिएको छ । तर त्यो बिजुली पनि नबल्ने स्थानीयहरूको गुनासो छ।

प्रकाशित : श्रावण ३१, २०७९ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?