कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णाली अस्पतालमा ब्रोन्कोस्कोपी सेवा सुरु

डीबी बुढा

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक ब्रोन्कोस्कोपी सेवा सुरु भएको छ । अस्पतालले सोमबारदेखि ब्रोन्कोस्कोपी सेवा सुरु गरेको जनाएको छ ।

कर्णाली अस्पतालमा ब्रोन्कोस्कोपी सेवा सुरु

विकट हिमाली जिल्लामा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पहिलो पटक ब्रोन्कोस्कोपी सेवा सुरु गरेको हो । छाती रोग विशेषज्ञ डा. अनुस्मृति पाल नेतृत्वकोे टोलीले ब्रोन्कोस्कोपी सेवा सुरु गरेको हो।

डा. पालका अनुसार ब्रोन्कोस्कोपी मेसिन जुम्लामा पहिलो पटक ल्याइएको हो । ब्रोन्कोस्कोपी सेवा सञ्चालनका लागि मेसिन पहिले नै आइसकेको थियो । डा. पालले भनिन्, ‘औपचारीक रुपमा सोमबारदेखि सेवा सञ्चालनमा आएको हो ।’

ब्रोन्कोस्कोपी सेवा सुरु भए पनि शंकास्पद क्षयरोग, फोक्सोको क्यान्सर, फोक्सो सुकेको, खकारमा रगत देखिने, फोक्सोमा केही चिज अड्केको, मुखबाट रगत बग्ने, दीर्घ खोकी लगायतको समयमै उपचार गर्न सहयोग मिल्ने बताइएको छ । डा. पालले थपिन्, ‘अब माथि उल्लेखित रोगका बिरामीले उपचारको लागि सास्ती बेहोर्नुपर्ने अवस्था हुनेछैन ।’

यसअघि बिरामीहरू चितवन र काठमाडौंका सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न बाध्य थिए । अब यो प्रविधिले समयमै रोगको उपचार हुने बताइएको छ । बिरामीलाई आर्थिक भार कम हुनुका साथै भरपर्दो स्वास्थ्य सेवाको अनुभुति पनि हुने बताइएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका अनुसार सोमबार खकारमा रगत बग्ने जुम्लाका एक बिरामीको सिटी स्क्यान गरी ब्रोन्कोस्कोपी गरेर उपचार थालिएको थियो ।

कर्णालीमा क्षयरोग, फोक्सोमा क्यान्सर, खकारमा रगत बग्ने रोगका बिरामी बढ्दै छन् । विगतमा क्यान्सरको शंका लागेका बिरामीलाई चितवन र काठमाडौं पठाउनु पर्ने बाध्यता थियो । डा. पालले भनिन्, ‘अब जुम्लामै सबै उपचार हुन्छ । कर्णालीका नागरिकले दिर्घ रोग पालेर थन्किनु पर्ने अवस्था आउने छैन । ’

ब्रोन्कोस्कोपी सेवा नेपालका सुविधा सम्पन्न अधिकांश अस्पतालमा पनि नरहेको बताइन्छ । ब्रोन्कोस्कोपी सेवाको माध्यमबाट घाँटीभित्र अड्कीएका सबै वस्तु सहजै निकाल्न सकिने छ । साथै क्यान्सरको परिक्षण पनि जुम्लामै हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

पहिले सिटी स्क्यान गर्दा क्यान्सरको सम्भावना भएका बिरामीलाई महंगो खर्चमा मासुको जाँचका लागि पनि बिरामी बाहिरी जिल्ला पुग्न परिरहेको हुन्थ्यो । दिर्घरोगको उपचारका लागि ब्रोन्कोस्कोपी सेवा काशेढुंगा सावित हुने उपकुलपति डा. रावलको विश्वास छ ।

ब्रोन्कोस्कोपी सेवा सञ्चालनमा आएपछि अस्पतालले यिनी रोगको शंका लागेका बिरामीलाई अस्पतालमा आएर उपचार सेवा लैजान आग्रह गरेको छ । धुलो धुवा,खानपिनका कारणले कर्णालीमा दीर्घ रोगका बिरामी बढ्न थालेका छन । उनले भने, ‘अब उनीहरूले उपचार नपाइ घरमै थन्किनु पर्ने अवस्था हुँदैन । ’

कर्णाली तथा सुदूरपश्चिममा छाती रोग विशेषज्ञ डा.पाल एक मात्र भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । डा. पालले जुम्लामा विसं.२०७२ देखि छाती रोग विशेषज्ञका रुपमा काम गर्दै आइरहेकी छन् ।

२०६८ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको स्थापना भएको थियो । स्थानीय जनकबहादुर बुढाले कर्णाली स्वास्थ्य सेवा र शिक्षाका हिसावले अब्बल बन्दै गएको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘कुनै समयमा कर्णालीमा डाक्टर भेटाउन कठिन हुन्थ्यो । डाक्टर भेटिए पनि औषधिको अभाव हुन्थ्यो । समयमै उपचार नपाएका कैयन कर्णालीवासीले अकालमा मृत्यु खेपिरहेका हुन्थे । पछिल्लो समयमा कर्णालीमै विशेषज्ञ सहितका स्वास्थ्य सेवा सञ्चालनमा आएपछि निर्धक्क रुपमा आफ्नो रोगको परामर्श कर्णालीवासीले पाउँछन् । रोजेर डक्टरसँग उपचार सेवा लिन्छन् । यो कर्णालीको लागि निकै सुखद पक्ष हो,’ कर्णालीमा हाडजोर्नी, एनएसथेसिया, मेडिसिन, अर्थो, एमडीजीपी,गाईनो, बालरोग विशेषज्ञ र जनरल सर्जन लगायत सेवा प्रदान भइरहेको छ ।

प्रकाशित : श्रावण ३०, २०७९ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?