कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय पाठ्यपुस्तक छाप्न होडबाजी

‘सिँजा क्षेत्र खस भाषा र सभ्यताको केन्द्र भएकाले खस भाषा जोगाउन पाठ्यपुस्तक प्रकाशन गरी कार्यान्वयनमा लगेका हौं’
डीबी बुढा

जुम्ला — जिल्लाका स्थानीय तहहरूमा पाठ्यपुस्तक छपाइ गर्न होडबाजी नै चलेको छ । जिल्लामा पहिलो पटक तातोपानी गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक छापेको थियो । सिँजा र चन्दननाथ नगरपालिकाले पनि पाठ्यपुस्तक छापेर विद्यालयमा पठाइसकेका छन् ।

स्थानीय पाठ्यपुस्तक छाप्न होडबाजी

जिल्लाका अधिकांश तहले खस भाषामा पाठ्यपुस्तक छापेका छन् । पहिलो पटक २०७५ सालमा पाठ्यपुस्तक छापेको तातोपानी गाउँपालिकाले पनि खस भाषामै पाठ्यपुस्तक छापेको थियो । स्थानीय भाषा संस्कृति र परम्पराको जगेर्ना गर्दै आर्थिक, सामाजिक, सास्कृतिक, धार्मिक र पर्यटकीय सम्भावनाको उजागार गर्न स्थानीय पाठ्यपुस्तक आवश्यक देखिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । उनका अनुसार पाठ्यपुस्तकभित्र तातोपानीमा रहेका धार्मिक पर्यटनस्थल, मार्सीधानको खेतीलगायत बारेमा जानकारी दिइएको छ । तातोपानीले २ हजार २ सय पुस्तक प्रकाशन गरेको थियो ।

चन्दननाथ नगरपालिकाले पनि खस भाषामै पाठ्यपुस्तक छापेको छ । भाषा संस्कृतिमा आधुनिकता झल्किन थालेपछि खस भाषामा पाठ्यपुस्तक तयार पारिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईंले उनका अनुसार । स्थानीय पाठ्यपुस्तकका लागि नगरले ३ लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको थियो । अहिले कक्षा १ देखि ३ सम्म खस भाषामा उक्त पाठ्यपुस्तक पठाइरहेको उनले जानकारी दिए ।

गत वर्ष सिँजा गाउँपालिकाले खस पाठ्यपुस्तक प्रकाशन गरेर विद्यालयमा पठायो । तर विद्यालयमा पुगेको पाठ्यपुस्तक पठनपाठन भइरहेको छ कि थन्काइएको छ भन्ने बारेमा अन्योलता छ । प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले पुस्तक २२ वटै विद्यालयमा पुर्‍याइसकिएको भए पनि पठनपाठन भए नभएकोबारे अनुगमन हुन नसकेको बताए । ‘कुन विद्यालयले पढाए र कुनले पढाएनन् भन्ने अझै जानकारी आएको छैन,’ उनले भने, ‘सिँजा क्षेत्र खस भाषा र सभ्यताको केन्द्र भएकाले खस भाषा जोगाउन पाठ्यपुस्तक प्रकाशन गरी कार्यान्वयनमा लगेका हौं ।’

स्थानीयतहले स्थानीय पाठ्यपुस्तक प्रकाशन गर्नु राम्रो भए पनि सरोकारवाला र स्थानीय बुद्धिजिवीसँग परामर्श नै नगरी पुस्तक प्रकाशन गरेको स्थानीय सर्पानन्द हमालले बताए । ‘पालिकाले पाठ्यपुस्तक निर्माण गर्नु कुरा सामान्य होइन, स्थानीय अगुवाहरू र सरोकारवालासँग छलफल गर्न सके सबै विषयवस्तु समेटिन्थे,’ उनले भने, ‘केही स्थानीय तहले अर्कै पालिकाको पाठ्यपुस्तक कपिपेस्ट गरेर पनि किताब छापेका छन् ।’ उनले पाठ्यपुस्तकभित्रका विषयसूची गहन छन् कि छैनन् भन्ने विषयले ठूलो प्रभाव पार्ने जानकारी दिए ।

स्थानीय पाठ्यपुस्तक पढाउने शिक्षक नहुँदा केही विद्यालयमा पठनपाठन हुन नसकेको स्थानीय अगुवा प्रेम न्यौपानेले बताए । ‘स्थानीय पाठ्यपुस्तकले पार्ने दीर्घकालीन प्रभाव के हो ? भन्नेबारेमा पनि स्थानीय सरकारले आकलन गर्न जरुरी छ,’ उनले भने, ‘पठनपाठनका लागि शिक्षकलाई तालिम दिने, विद्यार्थीको रुचि बुझ्ने र स्थानीय पाठ्यपुस्तकको पढाइ भए/नभएकोबारे अनुगमन मूल्यांकन गर्ने काममा पनि पालिकाहरूले ध्यान दिन जरुरी छ ।’


प्रकाशित : श्रावण २८, २०७९ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?