१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

भेरीगंगामा विमानस्थल बन्दै

कान्तिपुर संवाददाता

वीरेन्द्रनगर — सुर्खेतको भेरीगंगा नगरपालिकामा ‘सुर्खेत भेरीगंगा रामघाट’ विमानस्थल निर्माणका लागि प्रक्रिया सुरु भएको छ । संघीय सरकारले चालू आर्थिक वर्षको बजेटमा विमानस्थलका लागि रकम विनियोजन गरेलगत्तै वातावरणीय प्रभाव मुल्यांकन (ईआईए) गरिने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सार्वजनिक सूचना जारी गर्दै विमानस्थल निर्माणका लागि ईआईए सुरु गर्ने भन्दै प्रभावित क्षेत्रबाट लिखित राय सुझाव माग गरेको हो ।

प्राधिकरणले विमानस्थल निर्माणका लागि भेरीगंगाको वडा नं. ९, १० र ११ मा क्षेत्र निर्धारण गर्नुपर्ने भएकाले प्रभावित क्षेत्रका सरोकारवालालाई सात दिनभित्र लिखित राय तथा सुझाव उपलब्ध गराउन भनेको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले ईआईएका लागि प्याक्ट कन्सल्टेन्ट प्रालिलाई जिम्मा दिईएको जनाए । उनका अनुसार वातावरण संरक्षण ऐन, २०७६ को दफा ५ को उपदफा (१) तथा वातावरण संरक्षण नियमावली, २०७७ को नियम (४) को उपनियम (१) बमोजिम वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन तयार गर्नुपुर्व क्षेत्र निर्धारण गर्नुपर्ने भएको हो । वातावरण संरक्षण नियमावली, २०७७ को नियम (४) को उपनियम (२) बमोजिम क्षेत्र निर्धारण गर्ने क्रममा उक्त प्रभावित भेरीगंगाको वडा नं. ९, १० र ११ को प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक तथा आर्थिक प्रणालीहरूमा के कस्तो प्रभाव पर्छ भनी एकीन गर्न राय मागिएको प्रवक्ता निरौलाको भनाइ छ ।

प्रभावित नगरपालिका, वडा कार्यालय, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति तथा संस्थासँग लिखित राय सुझाव माग गरिएको उनले जनाए । सरोकारवालाको राय सुझाव आएलगत्तै आयोजनाको वातावरणीय प्रभाव मुल्यांकनको काम सुरु हुने प्राधिकरणले जनाएको छ ।

प्राधिरकरणले सार्वजनिक गरेको सूचनामा विमानस्थलको पुर्व पश्चिम फैलने धावनमार्गको लम्बाई २ हजार ७९० मिटर र चौडाइ ४५ मिटर रहने प्रस्ताव गरिएको उल्लेख छ । धावनमार्गसँग १ हजार २ सय ९६ मिटर लम्बाई र २० मिटर चौडाई भएको समानान्तर ट्याक्सी मार्ग, दुई वटा लिङ्क ट्याक्सी मार्ग (१३७.५ मि. लम्बाई र ३० मिटर चौडाई) र एप्रोन ७ सय लम्बाई र १ सय ३० मिटर चौडाईको हुनेछ । यस्तै, विमानस्थल टर्मिनल, स्टाफ क्वाटर, पार्किङ्ग रहने विमानस्थल २२४.४ हेक्टर क्षेत्रफलमा निर्माण गरिने छ ।

हाल सञ्चालनमा आइरहेको सुर्खेत विमानस्थललाई विस्तारका लागि प्रक्रिया थालिएपनि विस्तारपछि पनि ठूला जहाज अवतरण गर्न नसक्ने निष्कर्ष प्राधिकरणले निकालेपछि विकल्प खोजिएको प्रवक्ता निरौलाले बताए । ‘अब भेरीगंगामा प्रक्रिया सुरु भएको छ,’ उनले भने, ‘सुर्खेत विमानस्थललाई विस्तार गरेपनि ठूला जहाज अवतरण हुन नसक्ने र फुलफेज (चौबिसै घण्टा) सञ्चालन हुन नसक्ने भएपनि सरकारले विकल्प खोजेको हो ।’ प्रवक्ता निरौलाले विस्तार गर्दा लाग्ने खर्चभन्दा कम लागतमा नयाँ विमानस्थल बन्ने भएकाले भेरीगंगामा निर्माण प्रक्रिया थालिएको बताए ।

सुर्खेतमा ठूला जहाज अवतरण उद्देश्यका साथ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चर्चा लामो समयदेखि चल्दै आएको हो । यसबीचमा संघ, प्रदेश तथा स्थानीय सरकारले आ–आफ्नै तवरले विभिन्न समयमा प्रक्रियासमेत अघि बढाए । प्रारम्भिक अध्ययन भएको ६ वर्षपछि संघीय सरकारले फेरि सुर्खेतको भेरीगंगामा विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने भएको छ । ०७३ मा सम्भाव्यता अध्ययन टोलीले पनि रामघाटमा अन्तर्राष्ट्रिय विमानस्थलका लागि उत्तम रहेको निष्कर्ष निकालेको थियो ।

०२३ सालमा १ हजार ४० मिटर क्षेत्रफलमा सुर्खेत विमानस्थल निर्माण गरिएको थियो । उक्त विमानस्थललाई करिब आठ वर्षअघि पहिलोपटक विस्तार गरी १ हजार २ सय ५५ मिटर लम्बाइ र ३० मिटर चौडाइको बनाइएको थियो । अहिले विमानस्थलमा एटीआर–४२ तथा साना सिट क्षमता भएका जहाजले मात्रै उडान भर्न सक्छन् ।

प्रकाशित : श्रावण २४, २०७९ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?