फेरि बढ्यो कोरोना संक्रमण- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेरि बढ्यो कोरोना संक्रमण

एक महिनामा संक्रमितको सख्यां १ सय ४३
चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ । करिब तीन महिना कोरोना संक्रमितको संख्या शून्य रहेको कर्णालीमा पछिल्लो चार सातामा संक्रमितको संख्या बढेको हो । गत असार २१ मा एक जनामा मात्रै संक्रमण देखिएको थियो । एक महिनाभित्र (साउन २१ सम्म) कुल संक्रमितको सख्यां १ सय ४३ पुगेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार शनिबार मात्रै आठ जनामा गरिएको आरटी–पीसीआर परीक्षणमा चार जनामा कोरोना पोजिटिभ देखिएको छ । ‘परीक्षण गराएका मध्ये ५० प्रतिशतमा संक्रमण देखिएको छ,’ निर्देशनालयका निर्देशक डा. रविन खड्काले भने, ‘हामी कोही व्यक्तिको मृत्यु नभएसम्म डराउँदैनौं तर अहिलेको अवस्था पनि डरलाग्दो हो ।’ आइतबार पत्रकारसँगको अन्तरक्रियामा उनले सामान्य लक्षण देखिएका व्यक्तिहरू परिक्षण गराउन नआएको बताए । ‘स्वास्थ्यकर्मी तथा कर्मचारी, विदेश जानेवाला मात्रै परीक्षण गराउन आएका छन्, अहिले कोही पनि परीक्षण गराउन नआउनु ठूलो चुनौती हो,’ उनले भने ।

हालसम्म कर्णालीमा कोरोना संक्रमणबाट ३ सय ९१ जनाको मृत्यु भएको छ । गत फागुन १८ यता कर्णालीमा कोरोना संक्रमित एक जनाको पनि मृत्यु भएको छैन । कर्णालीमा हालसम्म १ लाख ३० हजार दुई सय ९४ पीसीआर परीक्षण गर्दा २३ हजार २ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । निर्देशनालयका अनुसार ६७ हजार ४४ एन्टिजेन परीक्षण गर्दा १५ हजार ७ सय ५५ जनामा संक्रमण देखिएको छ ।

कोरोना संक्रमण ह्वात्तै बढेमा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले दरबन्दीअनुसार पर्याप्त दक्ष तथा तालिमप्राप्त जनशक्तिको अभाव हुने जनाएको छ । प्रदेशभर कुल ८ सय ८८ जना स्वास्थ्यकर्मीको स्थायी दरबन्दी रहेकामा ३ सय २५ मात्रै पूर्ति भएको छ । ५ सय ६७ जनाको स्थायी दरबन्दी रिक्त छ । हाल कर्णालीमा दरबन्दी करारमा २ सय ५५ र अन्य करारमा ५ सय ४२ कर्मचारी कार्यरत छन् । निर्देशक डा. खड्काले डोल्पा, मुगु र हुम्लामा विशेषज्ञ चिकित्सकको अभाव रहेको बताए । उनले नर्सिङ तथा प्यारामेडिक्स पदपूर्ति तथा थप जनशक्तिको आवश्यकता परेको जनाए । उनले सरकारले कोभिड करारका कर्मचारीका लागि बजेट पनि विनियोजन नगरेको बताए । ‘कुनै पनि सरकारले यसका लागि बजेट छुट्याएको छैन,’ उनले भने, ‘कोरोना बढेको खण्डमा हामीले कर्मचारी थप गर्नैपर्ने हुन्छ, त्यसका लागि बजेट आवश्यक पर्छ ।’

निर्देशक डा. खड्काले एम्बुलेन्स तथा शववाहनको पर्याप्त व्यवस्था हुन नसक्नु, नियमित विद्युत्को आपूर्ति र ऊर्जाको समेत भरपर्दो व्यवस्था नहुनु, दक्ष जनशक्तिको अभावमा अधिकांश जिल्लामा आईसीयू र एचडीयू भेन्टिलेटर सञ्चालन हुन नसक्दा कोभिड नियन्त्रणमा चुनौती देखा पर्ने बताए । उनले जुम्लामा कोल्ड चेन रुमको स्थापना गर्नुपर्ने, छिन्चु, कपुरकोट र कुइनेमा होल्डिङ स्क्रिनिङ सेन्टर सञ्चालनमा आएकोमा व्यवस्थित ढंगले सञ्चालन नभएकाले यसतर्फ स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने बताए ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णाली प्रदेशभर डोल्पाबाहेक अन्य नौ जिल्लामा १६ अक्सिजन प्लान्ट जडान गरिएको छ । प्रदेश अस्पताल सुर्खेत, कटकुवा हेल्थपोस्ट, मेहेलकुना अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र रुकुम पश्चिमको चौरजहारी अस्पतालमा जडान गरिएका एक/एकवटा अक्सिजन प्लान्ट प्रयोगमा नआएको निर्देशक डा. खड्काले बताए । उनका अनुसार हाल प्रदेशभर डोल्पाबाहेक अन्य जिल्लामा ११ वटा अक्सिजन प्लान्ट सञ्चालनमा छन् ।

प्रकाशित : श्रावण २३, २०७९ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्

बोल बम !

तस्बिर : इलिट जोशी

काठमाडौँ — साउन महिनामा हिन्दू धर्मावलम्बीले शिवको महिमा गाउँदछन् । शिव मन्दिरनजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन पनि छ । गेरुवस्त्र धारण गरी खाली खुट्टै गएर जलाशयबाट जल ल्याई शिव लिंगमा चढाउँछन् । नेपाल र भारतका शिवालयहरूमा साउन महिना ‘बोलबम’ भन्दै हिँडेका गेरुवस्त्रधारी भक्तजनहरू भेटिन्छन् ।

‘बोल’ भनेको ‘भन’ र ‘बम’ भनेको शिव (बीचमन्त्र) हो । काठमाडौंमा सुन्दरीजलको जल पशुपतिनाथसम्म पैदल आएर चढाउने गरिन्छ । बोलबम मधेसी समुदायले बढी मान्ने गरेका भए पनि पछिल्लो समय अरु पनि सहभागी हुने क्रम बढेको छ ।

सोमबार बिहानै सुन्दरीजल पुग्दा जल लिनेहरुको भीड थियो । तीर्थालुहरु बिहान ३ बजे नै जल लिनको यहाँ आउने गरेको स्थानीयवासीको भनाइ छ । साउन महिनाको हरेक सोमबार यसरी नै तीर्थालुहरु जल लिएर पशुपति लगेर चढाउँछन् । यसरी जल चढाउँदा मनोकांक्षा पूरा हुने तीर्थालुको विश्वास छ ।


प्रकाशित : श्रावण २३, २०७९ १०:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×