अरिंगालले टोकेर एक जनाको मृत्यु- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अरिंगालले टोकेर एक जनाको मृत्यु

हरि गौतम

रुकुम पश्चिम — रुकुम पश्चिममा अरिंगालले टोकेर एक पुरुषको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–१, का ३८ वर्षीय सुवर्ण सुनारको अरिंगालले टोकेर मृत्यु भएको हो ।

तीन दिनअघि अरिंगालले टोकेपछि बिरामी भएका सुनारको आइतबार उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा सल्यानको श्रीनगरमा मृत्यु भएको हो ।

अन्य साथीहरूसँगै सल्यानको बाँफुखोलामा अरिंगालको गोला झार्न गएका सुनारलाई अरिंगालले टोकेको थियो । घाइते सुनारलाई तीन दिनसम्म त्रिवेणी गाउँपालिका–६, झुल्नेटास्थित एक निजी स्वास्थ्य क्लिनिकमा राखेर उपचार गरिएको थियो ।

अरिंगालले टोकेपछि उनको शरीरमा ५३ वटा घाउ थिए । ५३ ठाउँमा अरिंगालले चिलेको बताइएको छ । त्यहाँ उपचार गर्दा ठीक नभएपछि मात्रै नेपालगञ्ज पठाइएको थियो । सुनार त्रिवेणी गाउँपालिकाका कर संकलक पनि थिए । उनले सल्यान र रुकुम पश्चिमको सिमाना खौलामा बसेर कर संकलनको काम गर्थे ।

प्रकाशित : श्रावण २२, २०७९ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्

अब सहकारीहरूले पनि एटीएम कार्ड दिने

एटीएम र पोस मेसिनमा सहकारीले दिने कोप कार्ड प्रयोग गर्न मिल्ने 
कान्तिपुर संवाददाता

काठमाडौँ — अबदेखि सहकारीहरुले पनि आफ्ना बचतकर्ता तथा सदस्यहरुलाई एटीएम कार्ड दिने भएका छन् । राष्ट्रिय सहकारी बैंकको २० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममार्फत सहकारीहरुको कार्ड सेवा थालनी भएको छ । स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी), राष्ट्रिय सहकारी बैंक र ग्लोबल आईएमई बैंकको सहकार्यमा कार्ड सेवाको सुरुवात भएको हो ।

ग्लोबल आईएमई बैंकमार्फत 'युनियन पे'को कार्ड जारी भई राष्ट्रिय सहकारी बैंकमार्फत सहकारीहरुले प्रदान गर्नेछन् । यसमा पीएसओको रुपमा एससीटीले जिम्मेवारी लिएको छ । यसरी प्रदान हुने कार्ड अन्तर्राष्ट्रिय स्तरको चिपयुक्त हुने र कन्ट्याक्टलेस प्रविधिमा आधारित रहेको एससीटीले जनाएको छ । यो कार्ड नेपाल तथा भारतका एटीएम तथा पोस मेसिनमा प्रयोग गर्न सकिनेछ । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंले यो सेवाले सहकारीहरुलाई विद्युतीय कारोबारका लागि थप सुविधा मिलेको र यसले सहकारीको सेवालाई डिजिटल बनाउने बताए ।

उनका अनुसार अब सहकारीहरुले सजिलै राष्ट्रिय सहकारी बैंकमा सम्पर्क गरी कोप कार्ड जारी गर्न सक्नेछन् । सहकारीहरुले आफ्ना सदस्य तथा बचतकर्तालाई कोप कार्ड वितरण गरेपछि सहकारीमा आबद्ध सदस्यहरुले जुनसुकै बेला जहाँबाट पनि एटीएममार्फत आफ्नो खाताको रकम निकाल्न पाउने छन् । साथै पोस मेसिनमा कार्डको प्रयोग गरी कुनै पनि सेवा वा वस्तु खरिदको भुक्तानी गर्न सक्ने छन् । यो सुविधापछि सहकारीमा खाता हुनेहरुलाई नगद अभाव झेल्नु नपर्ने सहकारी बैंकले जनाएको छ ।

कार्ड शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रको सहभागितामार्फत उपलब्ध साधन स्रोतको अधिकतम परिचालन गरी आर्थिक वृद्धि हासिल हुने बताइन् । दिगो आर्थिक विकास गर्दै शोषणरहित समाजको निर्माण गर्नु आजको आवश्यकता रहेको उनको भनाइ छ । त्यस्तै कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सहकारी क्षेत्रमा पनि बैंकले प्राविधिक रुपमा सहयोग गरिरहने प्रतिबद्धता जनाए । एससीटीका अध्यक्ष सुमन पोखरेलले विद्युतीय भुक्तानी प्रणालीमा जोडिँदा सहकारी संस्थाहरूको सेवा प्रभावकारी हुने बताए ।

प्रकाशित : श्रावण २२, २०७९ १६:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×