कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘ग्रिन रिभर, ग्रिन रोड’ अभियान

डीबी बुढा

जुम्ला — जंगल फँडानीका कारण जलवायु परिवर्तनमा ठूलो असर परेको भन्दै हिमा गाउँपालिकाले ‘ग्रिन रिभर, ग्रिन रोड’ अभियान थालेको छ । अभियानअन्तर्गत गाउँपालिकाले पहिलो वर्षमै ५० हजार बिरुवा रोप्ने योजना बनेको छ ।

‘ग्रिन रिभर, ग्रिन रोड’ अभियान

अभियानअनुसार एक साताभित्र ३२ हजार ६ सय बिरुवा रोपिसकिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए । उनका अनुसार वार्षिक नीति तथा कार्यक्रममै अभियानलाई समावेश गरी कार्यान्वयनमा लगिएको हो । पहिलो चरणमा सल्लो, देवद्यार, धुपी, ढटेलो, पिपल र किमुका बिरुवा रोपिएको उनले जानकारी दिए । ‘वृक्षरोपणको कामले बाढीपहिरो नियन्त्रण हुने र बढ्दो वातावरण प्रदूषण हट्ने आशा छ,’ उनले भने, ‘सडक, हिमा नदी किनार र नांगा पाखामा बिरुवा रोप्न गरी बजेट विनियोजन गरेका छौं ।’

गाउँपालिकाले पहिलो चरणमा हिमा–१ देवलढुंगा र भित्रिखोलामा मात्र ६ हजार ३ सय बिरुवा रोपेको छ । आचार्यलिहीको भित्रिखोला जलविद्युत् आयोजना भएको क्षेत्रमा ३ हजार ६ सय बिरुवा रोपिएको प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए । ‘पाँच वर्षमा हिमा प्राकृतिक रूपमा निकै सुन्दर हुनेछ, हरियाली र मनोरम बन्नेछ,’ उनले भने, ‘डाँडाकाँडा हरियाली भएर जलवायु परिवर्तनका असर न्यूनीकरणमा सहयोग पुग्ने हाम्रो आशा छ ।’

गाउँपालिकाले ओदी क्षेत्रमा २ हजार ५ सय, खलढुंगामा ४ हजार ६ सय र नाग्म–गमगढी सडक आसपासमा २ सय बिरुवा रोपेको छ भने २० हजार बिरुवा वडास्तरमा पठाएको छ । पाँच वर्षको अवधिमा कम्तीमा २ लाख ५० हजार बिरुवा रोप्ने नीति लिइएको गाउँपालिका अध्यक्ष शाहीले बताए ।

‘वातावरण र प्रकृति राम्रो भए मानिसको जीवन पनि सुखी हुन्छ, वातावरण हराभरा भए मानव समाज पनि हराभरा हुन्छ,’ उनले भने, ‘राराताल जाने पर्यटक ओहोरदोहार गरिरहने बाटो भएकाले पनि हराभरा हिमा बनाउन थालिएको हो ।’ उनले स्थानीयकै सहभागितामा बिरुवा रोप्ने र हरेक बिरुवा हुर्काउन सचेतना अभियान सञ्चालन गर्ने बताए ।

प्रकाशित : श्रावण २१, २०७९ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?