कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.५५°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

जटिल समस्या भएकी गर्भवतीको सल्यान अस्पतालमै शल्यक्रिया

विप्लव महर्जन

सल्यान — गर्भमै शिशुको मृत्यु र पाठेघर फुटेपछि एक महिलाको जिल्ला अस्पताल सल्यानमै शल्यक्रिया गरिएको छ । प्रदेश अस्पताल सुर्खेतमा पठाउन हेलिकोप्टरबाट मगाइए पनि खराब मौसमले आउन नसक्दा 'प्रि-इक्लाम्सिया'को जटिल समस्या भएकी शारदा नगरपालिका १२ डांग्रीकी ३२ वर्षीया गर्भवती सीताकुमारी बुढाको एमडीजीपी डाक्टर अभिषेक सिंहको नेतृत्वमा जिल्ला अस्पताल सल्यानमै शल्यक्रिया गरिएको हो ।

जटिल समस्या भएकी गर्भवतीको सल्यान अस्पतालमै शल्यक्रिया

जिल्ला अस्पताल सल्यानले एक दशकदेखि सल्यक्रिया सेवा संचालनमा ल्याए पनि यस्ता जटिल समस्या भएकालाई प्रदेश अस्पताल सुर्खेत पठाउने गरेको थियो ।

ती महिला सात महिनाकी गर्भवती थिइन् । उच्च रक्तचापको समस्याबाट प्रभावित भएकी महिलाको शल्यक्रिया गर्न पाँच घण्टा लागेको जिल्ला अस्पताल सल्यानका ईन्चार्ज तथा एमडीजीपी डा. अभिषेक सिंहले बताए । ‘घरमा जटिल समस्या देखिएपछि गर्भवती सीताकुमारी बुढामगरलाई परिवारले जिल्ला अस्पताल ल्याएका थिए । उनको स्वास्थ्य परीक्षण गर्दा गम्भीर प्रि-ईक्लाम्सिया भएको थियो । भिडियो एक्सरे गर्दा बच्चा मरिसकेका थिए,’ उनले भने ‘औषधि प्रयोग गर्दा पनि व्यथा नलागेपछि आमाको पनि ज्यान खतरा पर्ने देखेर शल्यक्रिया गर्‍यौं, पाठेघरसमेत फुटेको रहेछ । तर आमाको ज्यान बचाउन सफल भयौं ।’

उनका अनुसार जिल्ला अस्पतालमा अहिलेसम्म ब्लड बैंक छैन । महिलालाई रगत आवश्यक थियो । अस्पतालका स्वास्थ्यकर्मी तथा आफन्तले पाँच पाउन्ड रगत दिएपछि शल्यक्रियामा सहज भएको थियो ।

दुई एमडीजीपी र तीन मेडिकल अधिकृत गरी पाँच जनाको टिमलाई जटिल समस्या भएकी महिलाको शल्यक्रिया गर्न गाह्रो भए पनि बचाउन सफल भएको जिल्ला अस्पताल सल्यानका मेडिकल अधिकृत डा.नितेष अधिकारीले बताए । ‘हेलिकोप्टर नआएपछि गाडीबाट लग्नु परेको भए महिलाको ज्यान जान सक्थ्यो । समयमै भएको शल्यक्रियाले ज्यान बच्न सफल भयो,’ उनले भने ।

बुढामगरलाई जस्तै समस्या देखिएका कालिमाटी गाउँपालिकाकी एक महिला र बच्चाको केही महिनाअघि अस्पतालमै ज्यान गएको उल्लेख गर्दै डा. सिंहले समस्या नदोहोरिउन् भनेर प्रदेश अस्पताल पठाउने तयारी गरिए पनि असम्भव भएको बताए ।

उनका अनुसार जिल्ला अस्पताल सल्यानमा अहिलेसम्म जटिल समस्या भएका तीन/चार जनाको सफल शल्यक्रिया भइसकेको छ ।

प्रकाशित : श्रावण १८, २०७९ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?