कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तरकारी गाउँ बन्यो तलिचौर

डीबी बुढा

जुम्ला — जुम्ला सदरमुकाम खलंगादेखि १५ मिनेटको पैदल दूरीमा पर्ने तलिचौर गाउँका हरेकको बारीमा तरकारी फलेको छ । दशकअघिसम्म धान झुलिरहेका खेतमा तरकारी लगाइएको छ । जताततै तरकारी नै तरकारी लगाउने भएकाले तलिचौर तरकारी गाउँ भनेर चिनिएको छ ।

तरकारी गाउँ बन्यो तलिचौर

जुम्ला चन्दननाथ–१ तलिचौरकी नानी देवकोटालाई यो सिजनमा प्याज निकाल्न भ्याइनभ्याइ छ । बिहानैदेखि बेलुका अबेरसम्म बारीमै प्याज कोरिरहेकी हुन्छिन् । मकै, आलु, प्याज र सिमी एउटै बारीमा लगाइएको छ । उनी एकै सिजनमा चार थरी उत्पादन निकाल्ने गरेको बताउँछिन् । नानीले प्याज बेचेर एक साताभित्र २० हजार रुपैयाँ कमाइन् । यो वर्ष प्याज बेचेर न्यूनतम एक लाख रुपैयाँ कमाउने लक्ष्य छ । उनले बजारको मागअनुसार तरकारी पुर्‍याउन नसकिएको बताइन् ।

सोही गाउँकी हरिकला न्यौपानेको बारीमा प्याज, टमाटर, काउली, बन्दा, भेन्टा, खुर्सानी, काँक्रो, गाँजर, मुला सबै पाइन्छ । उनले ९ रोपनी जग्गामा तरकारी खेती गरेकी छन् । तरकारीबाट प्रशस्त आम्दानी हुन थालेपछि धान खेतमासमेत तरकारी लगाएकी छन् ।

८ हजार रुपैयाँको बीउ खरिद गरेर तरकारी खेती थालेकी हरिकला यो वर्ष न्यूनतम दुई लाख रुपैयाँसम्म आम्दानी हुने बताउँछिन् । उनले भनिन्, ‘सिंगो तलिचौर तरकारी खेतीमा लागेको छ । बर्सेनि तरकारीबाट करोडौं रुपैयाँ गाउँ भित्रिन्छ ।’ तरकारी खेतीपछि स्थानीयलाई आर्थिक समस्या छैन ।

यहाँ उत्पादित तरकारी कालीकोट, सुर्खेत, नेपालगन्ज, दैलेख, जाजरकोट, चितवन र बुटवलसम्म पुग्ने गरेको छ । तलिचौरकी राधा न्यौपाने तरकारी उत्पादनले गाउँको मुहार फेरेको बताउँछिन् । उनले वार्षिक २५ लाख रुपैयाँसम्म तरकारी खेतीबाटै कमाउँछिन् । छोराछोरीको पठनपाठन, लालनपालन, घरखर्च व्यवस्थापन सबै तरकारी बेचेर नै धान्छन् ।

तरकारी खेती प्रति किसान जागरुक बन्न थालेपछि कृषि विकास कार्यालयसमेतले साथ दिएको छ । हरिकन्याले भनिन्, ‘अधिकांश घरलाई ग्रिन हाउस दिएको छ । अनुदानमा तरकारी उत्पादन गर्ने सामग्री दिएको छ । यसले हौसला बढेको छ ।’

पछिल्लो समयमा तरकारीमा रोगकिराको संक्रमण बढेको छ । अर्गानिक विषादी प्रयोग गरेर रोगकिराको निवारण गर्ने गरेको स्थानीयले बताए । चन्दननाथ–१ का वडाध्यक्ष तिलक न्यौपाने तलिचौरको १ सय घरले तरकारी गर्ने बताउँछन् । एक परिवारले एक वर्षमा न्यूनतम ५ टनसम्म तरकारी फलाउँछन् । न्यूनतम ५० हजार देखि २५ लाख रुपैयाँसम्म कमाइरहेका छन् । गाउँभरि ५० हेक्टरभन्दा बढी क्षेत्रफल जग्गामा तरकारी खेती गरिन्छ ।

अब सस्तोमा तरकारी कसरी बजारसम्म लैजान सकिन्छ भन्ने हिसाबले सोच्न थालिएको वडाध्यक्ष न्यौपाने बताउँछन् । ‘किसानलाई प्रविधि र यान्त्रिकीकरणको प्रयोगमा जोड दिइएको छ । रोगकिरा नियन्त्रणमा नगरपालिका संवेदनशील भएर लागिपरेको छ’ उनले भने । सुरुमा किसान डोकोमा तरकारी बोकेर बजारमा घुमिरहन्थे । अहिले गाडी लिएर व्यापारी गाउँमै पुग्छन् । केहीले त अहिलेसम्म डोको र बोरामा तरकारी पुर्‍याउन छाडेका छैनन् ।

डोल्पा, जुम्ला जोड्ने सडकको बीचमा तलिचौर गाउँ पर्ने भएकाले हरेकको नजर तरकारी खेतीमै जाने गरेको छ । यो गाउँको तरकारीले बजारको माग झन्डै चार महिना धान्छ । तरकारी उत्पादनबाट आर्थिक उपार्जन हुन थालेपछि प्रत्येक परिवारले बालबालिकाको पठनपाठन सहज रूपमा अघि बढाएका छन् । उनीहरूले बालबालिका निजी विद्यालयमा पठाउने गरेका छन् । छोराछोरीलाई कृषि, स्वास्थ्य, विज्ञान विषय पढाउन हिम्मत गर्ने भएका छन् । अधिकांशले त लोक सेवा आयोगमा समेत नाम निकालिसकेका छन् ।

प्रकाशित : श्रावण १७, २०७९ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?