हिलाम्मे सडकले यात्रुलाई सास्ती

विप्लव महर्जन

सल्यान — वर्षात्‌‌को समयमा दैनिकजसो परेको पानीले जिल्लाको ग्रामीण सडक हिलाम्मे हुँदा जिल्लावासी तथा यात्रुले सास्ती खेपिरिरहेका छन् । संघ, प्रदेश तथा स्थानीय तहको बजेटमा सडकको स्तरवृद्धिको विषयमा सम्बन्धित निकायले खासै चासो नदेखाएका कारण जिल्लावासी तथा यात्रुलाई सास्ती भएको हो । 

हिलाम्मे सडकले यात्रुलाई सास्ती

सडक हिलाम्मे भएकाले जिल्लावासीलाई सदरमुकाम तथा बाहिरी जिल्ला आउजाउमा समस्या मात्र भएको छैन‚ हिलोमा फसेका गाडी धकेल्न यात्रुहरू बाध्य छन् । सडक हिलाम्मे र चिप्लो भएकाले सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।

जिल्लाको बाग्चौरदेखि रागेचौर हुँदै चौरजहारी जाने सडक पूर्वाधार विकास कार्यालयले केही किलोमिटर कालोपत्रे गरेको र केही वर्षअघि संघीय सरकारको बजेटमार्फत ग्राबेल गरे पनि वर्षात्‌को भेलले ग्राबेल सबै बगाउँदा अधिकांश क्षेत्र हिलाम्मे भएको र आउजाउ गर्न धेरै कठिनाइ हुने गरेको कुमाख गाउँपालिका ५ का भद्रबहादुर बुढाले बताए ।

कुमाख गाउँपालिकाको रागेचौरबाट बाग्चौर नगरपालिकाको थारमारे बजार पुग्नलाई एक घण्टा मात्रै लाग्ने भए पनि सडक हिलाम्मे भएकाले गाडी फस्ने गरेको र एक घण्टाको दूरीमा रहेको ठाउँमा पुग्न झन्डै तीन घन्टा समय लाग्ने गरेको उनले बताए । वर्षात्‌का कारण सडकको दूरावस्था भए पनि सम्बन्धित निकाय मौन रहेको उनको गुनासो छ ।

सडक हिलाम्मे भएका कारण सदरमुकाम तथा पालिकाको केन्द्र पुग्न कठिनाइ हुने गरेको कालिमाटी गाउँपालिका ५ दम्दवालीका सुरेश गाहा मगरले बताए । हिँडेर जान नसकिने, दुईपांग्रे सवारीसाधनमा नचल्ने, चारपांग्रेमा पनि समस्या हुने र गन्तव्यसम्म पुग्न सकिने हो/होइन भन्ने द्विविधाले कतै नगई घरमै बसेको उनले जानकारी गराए ।

‘सडक चिप्लो भएकाले दुर्घटना हुने जोखिम उत्तिकै छ । नियमित गाडी चल्न सकेका छैनन्‚’ उनले भने‚ ‘बस्तीमा कोही बिरामी भएमा अहिले अस्पतालसम्म पुर्‍याउन कठिनाइ हुने गरेको छ ।’ सम्बन्धित निकायलाई बारम्बार आग्रह गर्दै आए पनि स्तरवृद्धिको नाममा झारा टार्ने काम गरेकाले समस्या बढ्दै गएको उनको भनाइ छ ।

‘चौरजहारी सडक निर्माण गरेको डेढ दशकभन्दा बढी भैसकेको र सम्बन्धित निकायले स्तरवृद्धि तथा कालोपत्रेका लागि बजेट विनियोजन गर्दै आएको छ‚’ उनले भने‚ ‘ठेकेदार कम्पनीले प्रभावकारी काम गर्न सकेको छैन । कतिपय स्थानमा कामै नगरी छाडेका छन् । केही वर्षअघि हालेको ग्राबेल देखिँदैन । जसका कारण अहिले पनि समस्या जहाँको तहिँ छ ।’

‘सम्बन्धित निकायले सडक खन्न मात्र जानेको छ तर स्तरवृद्धि गर्न चासो देखाउँदैन । स्तरवृद्धि गर्न बढी बजेट लाग्छ भनेर मतलब गर्दैन‚ जसले गर्दा सडक हुनु/नहुनु बराबर जस्तै छ‚’ बन्गाड कुपिण्डे नगरपालिका १० ढोरपिपलका कमानसिंह घर्तिले भने ।

प्रकाशित : श्रावण ११, २०७९ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x