कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

भेडा पाल्नेलाई गोठालो भत्ता

डीबी बुढा

जुम्ला — कर्णाली प्रदेश सरकारले भेडापालक किसानलाई लक्षित गर्दै गोठालो भत्ता दिन थालेको छ । गोठालो भत्ता दिन थालेपछि किसान भेडा पाल्न हौसिएका छन् ।
यो वर्ष जुम्लाका १ सय ४३ जना किसानले गोठालो भत्ता पाएको पशु अस्पताल तथा पशु सेवा कार्यालयको तथ्यांक छ ।

भेडा पाल्नेलाई गोठालो भत्ता

कार्यालयमा २ सय ६५ जनाले गोठालो भत्ता पाउनुपर्ने भन्दै निवेदन पेस गरेका थिए । त्यसमा १ सय ४३ जनालाई छनोट गरी भत्ता दिइएको कार्यालयका प्रमुख गोविन्दबहादुर महतले बताए । उनका अनुसार कार्यालयले बर्सेनि गोठालो भत्ताका लागि प्रस्ताव पेस गर्न सार्वजनिक सूचना आह्वान गर्ने गरेको छ । ‘कार्यालयबाट प्राविधिक टोली पठाएर किसानका गोठहरू निरीक्षण गर्छौं, सबै अध्ययन गरेर भत्ता दिने किसान छनोट गरिन्छ,’ उनले भने । पछिल्लो समयमा चरन क्षेत्रको अभाव र भेडा पाल्न धेरै दुःख हुने भन्दै किसानले भेडा पाल्नै छाडेका थिए । भत्ताले वर्षभरि भेडापालन गर्दा लाग्ने खर्च व्यवस्थापन सहज भइरहेको तातोपानी–६ का किसान यज्ञ न्यौपानेले बताए । उनले ६५ वटा भेडा पालिरहेका छन् । उनी भेडा पाल्न झन्डै ६ महिना विभिन्न पाटनहरूमा जान्छन् । ‘पाटनतिर खासै खर्च हुँदैन, उताबाट आउँदा आधाजसो भेडा बिक्री गर्ने भइसकेका हुन्छन्,’ उनले भने, ‘एकमुष्ट भत्ता लिँदा सानोतिनो खर्च यसैले टर्छ ।’

कार्यालय प्रमुख महतले किसानको प्रोत्साहनका लागि भत्ताको व्यवस्था गरिएको बताए । उनका अनुसार गोठालो भत्ता प्राप्त गर्न एक किसानले न्यूनतम ५० भेडा पाल्नुपर्ने नियम छ । जसबापत प्रतिमहिना किसानहरूलाई १ हजार ५ सय रुपैयाँ गोठालो भत्ता दिइन्छ । किसानले बर्सेनि १८ हजार रुपैयाँ गोठालो भत्ता बुझिरहेको उनले जानकारी दिए । कार्यालयका अनुसार २ सय ८४ किसानले गोठालो भत्ताका लागि आफ्नो फार्म सूचीकृत गराएका छन् । प्रदेश सरकारले गत आर्थिक वर्षमा गोठालो भत्ताका लागि कर्णालीका ५ हिमाली जिल्लालाई ७२ लाख रुपैयाँ छुट्याएको थियो ।

प्रकाशित : श्रावण ८, २०७९ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×