कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

वर्षायाममै खानेपानी हाहाकार

‘दैनिकजसो गाग्रीमा ४/५ पटक पानी बोक्नुपर्दा गाउँका धेरै महिला ढाडको रोगी छौं’
विप्लव महर्जन

सल्यान — बन्गाडकुपिण्डे नगरपालिका–१२ निगालचुलाको माझखर्क र चौरमा वर्षायाममा पनि खानेपानी हाहाकार भएको छ । समुद्री सतहदेखि करिब २ हजार मिटर उचाइमा रहेका बस्तीमा खानेपानी समस्या भएपछि स्थानीयहरू १ घण्टा हिँडेर खानेपानीको जोहो गर्न बाध्य छन् ।

वर्षायाममै खानेपानी हाहाकार

२०६६ मा निर्माण गरेको सौर्य ऊर्जा खानेपानी योजनाको मोटर बिग्रिएपछि स्थानीयले लामो समयदेखि खानेपानी समस्या भोग्दै आएका हुन् । बिहानै उठेर गाग्री लिई १ घण्टा तलको मार्केधारा मुहानमा जानुपरेको स्थानीय कमल विकले बताए । उनका अनुसार खानेपानीको हाहाकार भएपछि माझखर्क ५३ र चौरका ५७ गरी १ सय १० घर परिवार प्रभावित भएका छन् । ‘खानेपानीकै लागि विभिन्न कष्ट उठाउनुपर्छ,’ उनले भने, ‘बाटो भिरालो र साँघुरो हुँदा लड्ने र चोटपटक लाग्ने डर उत्तिकै छ ।’

२०६६ मा साविक गाउँ विकास समितिले ३ लाख रुपैयाँ खर्च गरी सौर्य खानेपानी योजना सञ्चालन गरेको थियो । मार्केधारा मुहानमा पनि लाइन बस्नुपर्ने बाध्यता भएको ४५ वर्षीया जुनमाया घर्तीले बताइन् । ‘दुई गाउँको पानी भर्ने मुहान एउटै छ,’ उनले भनिन्, ‘दैनिकजसो गाग्रीमा ४/५ पटक पानी बोक्नुपर्दा गाउँका धेरै महिला ढाडको रोगी छौं ।’ धेरै वर्षा भए घर नजिकैको मुहानमा पानी आउँथ्यो भन्दै उनले खडेरीका कारण पानीको समस्या चुलिएको बताइन् ।

पानीको समस्या धेरै भएको र छिटो उठेर मुहान नगए दिनभरि पानी खान नपाइने माझखर्ककी ४० वर्षीया सुनीता रोकाको भोगाई छ । ‘बस्तीदेखि खोलासम्म पुग्न जंगलको बाटो हिँड्नुपर्छ, वन्यजन्तुको डर त्यत्तिकै हुन्छ,’ उनले भनिन्, ‘घोडेटो बाटो पनि गतिलो छैन, जोखिमै जोखिममा पानीको जोहो गर्न बाध्य छौं ।’

निगालचुलास्थित स्वास्थ्यचौकीका इन्चार्ज दिलबहादुर सुनारले पानीको समस्याका प्रसूति गृहमा सेवा दिन कठिनाइ भएको बताए । माझखर्कमा खानेपानी समस्या समाधानका लागि लिफ्ट खानेपानीको विकल्प नभएको बन्गाडकुपिण्डे नगरपालिका–१२ का वडाध्यक्ष लालबहादुर घर्तीको भनाइ छ । उनका अनुसार चौरमा सञ्चालित योजनाको मोटर मर्मत गर्न ०६९ देखि २०७५ सम्म १९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । ‘पटकपटक मोटर बिग्रिरहने समस्याले गाउँमा खानेपानी हाहाकार भयो,’ उनले भने, ‘हामीकहाँ आउने सीमित बजेटले लिफ्ट खानेपानी बनाउन सकिँदैन, प्रदेश र संघीय सरकारले पटकपटक बजेट माग गरे पनि बेवास्ता गरिरहेका छन् ।’ खानेपानीको समस्याका कारण ५ वर्षको अवधिमा २ बस्तीबाट ७० परिवारले अन्यत्र बसाइँ सरेको उनले सुनाए ।

प्रकाशित : श्रावण ४, २०७९ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?