दैलेखका दुई पालिकामा करारका कर्मचारीले लगाए ताला- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दैलेखका दुई पालिकामा करारका कर्मचारीले लगाए ताला

ज्योति कटुवाल

दैलेख — दैलेखका दुई पालिकामा करारका कर्मचारीले ताला लगाएका छन् । ५ दिनयता आन्दोलनरत कर्मचारीले डुगेश्वर र गुराँस पालिकाका विभिन्न शाखामा ताला लगाएका हुन् ।

गुराँस गाउँपालिकामा करारका कर्मचारीको म्याद थप नगर्ने विषयमा शनिबार आन्दोलनमा उत्रिँदा प्रहरीले हवाई फायर गरेको थियो । प्रहरी र कर्मचारीबीच झडप हुँदा कर्मचारी र प्रहरीसहित १ दर्जन घाइते भएका थिए । झडपमा घाइते प्रहरी र कर्मचारीहरुको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, सोमबारयता डुगेश्वर गाउँपालिकामा पनि ताला लागेको छ । कर्मचारी हटाएको भन्दै गाउँपालिकामा तालाबन्दी गरिएको हो । गाउँपालिकामा करारमा कार्यरत कर्मचारीले करार सम्झौताको म्याद थप नगरेको भन्दै आन्दोलनमा उत्रिएका थिए । गाउँपालिकाले करारका कर्मचारी हटाउने निर्णय सच्याउनुपर्ने माग राख्दै उनीहरुले गाउँपालिकाको कार्यालयमा ताला बन्द गरेका हुन् ।

उपाध्यक्ष कलावती न्यौपानेले ज्ञापनपत्र बुझिसकेपछि आफूलाई कार्यकक्षमै थुनेको बताइन् । ‘पालिकामा करारका कर्मचारीमात्रै ४ दर्जनभन्दा धेरै रहेछन् । पूर्वजनप्रतिनिधिहरुले आफन्तको भर्ती केन्द्रजस्तो बनाउनु भएको हरेछ,’ उनले भनिन्, ‘राज्यको बजेटको दोहन रोक्ने यस्तै थुप्रै अभियानको सुरुवात थालेका छौं ।’

असार ३० गते बसेको कार्यपालिका बैठकबाट करारका कर्मचारीको म्याद नथप्ने निर्णय भएको थियो । पालिकाको रकममा अन्य निकायमा काम गर्ने सबै कार्यालय सहयोगीहरुको म्याद नथपेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले बताए ।

गुराँस गाउँपालिकाका पूर्वअध्यक्ष खेमराज वलीले जिल्ला पालिकाका विभिन्न क्षेत्रमा कार्यरत ३ सय जना करारका कर्मचारीको रोजगारी एकैपटक खोसिएको बताए । उनले विगतका वर्षमा पालिकाले संघीय राजस्व शीर्षकबाट तलब दिन पुगेको थियो । 'गत वर्ष उक्त शीर्षकमा ७ करोड ५७ लाख रुपैयाँ थियो भने चालु आर्थिक वर्षमा ९ करोड ३७ लाख रुपौयाँ बजेट छ,' उनले भने, ‘रकम हुँदापनि किन कर्मचारी हटाउने यो गलत हो ।’

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले सामान्य प्रशासन मन्त्रालयले तोकेको कार्यसम्पादन हेरेर पुन: सम्झौता गर्न निर्देशन दिएपनि स्थानीय सरकारले बेतास्था गरेको बताए ।

प्रकाशित : श्रावण ३, २०७९ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्

सर्वनाममा ‘सपना अनेक-अनेक’

कान्तिपुर संवाददाता

काठमाडौँ — साढे चार दशकभन्दा लामो नाट्य क्षेत्रको अनुभवसँगै रंगकर्मी अशेष मल्लले थुप्रै नाटकका अनगिन्ती कथा, पात्र, तिनका अभिव्यक्ति र प्रतिबिम्बलाई रंमगञ्चमा प्रस्तुत गरिसकेका छन् ।

कोरोना महामारीले लामो समयको विश्रामपछि यतिखेर मल्ल एउटा खण्डकाव्यलाई नाटकका रुपमा मञ्चन गर्ने तयारीमा छन् । कवि गीता खत्रीको खण्डकाव्य ‘आमा हुन् आमा’ मा आधारित रहेर मल्लको निर्देशन तथा परिकल्पनामा गीति नाटक ‘सपना अनेक–अनेक’ बिहीबारदेखि कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुँदैछ । मल्लका अनुसार चार दशक लामो इतिहास बोकेको सर्वनामले पहिलोपटक गीति नाटक प्रस्तुत गर्दैछ ।

मल्लले अहिले आफ्नो पहिलो नाटक ‘तुवाँलोले ढाकेको बस्ती’कै जस्तो अनुभव गरिरहेका छन् । अन्य नाटक र गीति नाटकमा कलात्मक भाव प्रस्तुतिमा केही फरक रहेको उनले बताए । ‘हुन त मलाई सबै नाटकहरू पहिलोपल्ट गरेको जस्तै अनुभूति हुन्छ’, उनले भने,‘गीति नाटकमा लेखकको भाव, कथालाई कलात्मक बनाएर प्रस्तुत गर्दा झन डर हुँदो रहेछ ।’

उनी नाटकमा प्रयोग गरेको बिम्बले लेखकको कथालाई सम्प्रेसण गर्न नसक्नु नै परिकल्पनाकारको असफलताका रुपमा लिन्छन् । कुनै संवादबिना गीत र संगीतसँगै कलाकारले शरीरको अभिव्यक्तिले मात्र गीति नाटकको समग्र भावलाई केन्द्रमा राखेर प्रस्तुत गर्नुपर्ने भएकोले चुनौती नै रहेको मल्ल बताउँछन् ।

नाटकले ‘आमा’ शब्दलाई केन्द्रमा राखेर सिंगो मुलुक र महिला पात्रलाई उठान गरेको छ । जहाँ विदेशिन बाध्य युवापुस्ता, तिनिहरूले राख्ने देशप्रेम, युवाहरू विदेश पलायन भएपछि मुलुक, समाज, परिवारको अवस्था, आफ्नो सन्तानलाई बाबुको परिचय दिन नपाई मृत्यु अंगालेका कुमारी आमाहरूको कथा नाटकमा छन् । यी कथाका भावहरूलाई दर्शकले संगीतको धुन, गीतको लय र कलाकारको शारीरिक अभिव्यक्ति तथा बिम्बात्मक रुपमा प्रयुक्त प्रप्सले महसुस गर्न सक्ने मल्लको भनाइ छ ।

नाटकमा समग्र कथालाई बुझाउन संगीतकार राजु सिंहले संगीतको धुन भरेका छन् भने बानिका प्रधान र सत्यराज आचार्यले स्वर दिएका छन् । मुलुकको समकालीन समय र परिवेशलाई सांस्कृतिक तथा लोक परम्परामा ढाल्न कोरियोग्राफर प्रमिला कार्की उप्रेतीले कलाकारहरूको शारीरिक चाललाई घाँटु, चरिया, भरतनृत्य, नेपाली लोकनृत्यको ताल संयोजन गरेकी छन् ।

निर्देशक मल्लका लागि मात्र नभएर लामो समयदेखि संगीत, गायन तथा नृत्य क्षेत्रमा पोख्त संगीतकार सिंह, गायिका प्रधान, आचार्य र कोरियोग्राफर उप्रेतीलाई नाटकले नौलो अनुभूति दिलाएको छ । संगीत, गायन तथा नृत्य जस्ता आ–आफ्नो विधालाई निकै नजिकसँग नियाले पनि नाटकको कथा, पात्र र तिनको भाव अनुसारको सिर्जनाले बेग्लै अनुभूति दिलाएको सबै सर्जकहरूको अनुभव छ ।

संगीतमा तीन दशकभन्दा लामो समयको अनुभव बटुलेका संगीतकार सिंहका अनुसार नाटकका लागि धुन सिर्जना गर्नु नौलो रह्यो । ‘नाटकमा एउटा कथा र पात्रमा बाँधिएर धुन बनाउँदा साह्रै कठिन हुँदोरहेछ । जुन कुरा मैले पहिलोचोटि अनुभव गरें,’ कथा र पात्रमा सीमित भएर धुन सिर्जना गर्दा स्वयं सर्जकले कसरी भाव महसुस गर्नुपर्छ भन्ने कुरा नाटकबाट सिक्न पाएको सिंहले बताए ।

लामो समयदेखि अमेरिकामा बस्दै आएकी कवि खत्री नाटकका लागि निकै उत्साहित छिन् । हाल नेपालमै रहेकी उनले नाटकले नेपाल र नेपाली युवाको अहिलेको समग्र कथालाई उठान गर्ने भएकाले आफ्नो जीवनकै एउटा सपना पूरा भएको सुनाइन् । उनले भनिन्, ‘लामो समयदेखि गीति नाटक बनाउने ठूलो सपना थियो । अहिले त्यो पूरा हुँदै छ । मैले मेरो सिर्जनामा देश र एउटी महिलालाई ‘आमा’को प्रतीकका रुपमा चिनाएकी छु ।’

साउन ५ गतेदेखि २१ गतेसम्म मञ्चन हुने नाटकमा मनोज महर्जन, भावना उप्रेती, रविना परियार, धिरज थापा मगर, मिलन शाक्य, निरीक्षा घतानी, शुंँ–गूको अभिनय रहेको छ ।


प्रकाशित : श्रावण ३, २०७९ १७:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×