कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मूर्ति व्यवसायबाट आत्मनिर्भर

राजबहादुर शाही

मुगु — बुढीनन्दा गाउँपालिका–६ बाजुराका कर्णप्रसाद जैसी मुगुको धैनकोट बसेर सररस्वतीलगायत विभिन्न देवीदेवताका मूर्ति बनाउँछन् । ४८ वर्षीय जैसीले बनाएका सरस्वतीका मूर्तिको माग हुम्ला, बाजुरा, जुम्ला, कालीकोट, डोल्पामा जाने गरेको छ । उनले मूर्ति बनाएरै महिनामा १ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।

मूर्ति व्यवसायबाट आत्मनिर्भर

मूर्ति मात्र होइन उनले सिमेन्ट र विभिन्न धातुका सालिकसमेत बनाउँदै आएका छन् । साना मूर्ति र सालिकको ३५ हजार र ठूला मूर्तिको १३ लाखसम्ममा बिक्री गर्छन् । ‘मैले बनाएका मूर्ति देखेर सबै चकित हुन्छन्, सबैले अझै राम्रो काम गर्ने हौसला दिनुहुन्छ,’ उनले भने, ‘सुरुमा निकै मेहनत गरेर यो सीप सिके, अहिले राम्रै सीप रोजेजस्तो लाग्छ, गाउँमै भगवान्का मूर्ति बनाउँदा धर्मकला सिकेकै अनुभव भएको छ ।’ उनले २०७३ सालदेखि मूर्ति बनाउन सुरु गरेका हुन् ।

उनले २ वर्षअघि शिवको मूर्ति बनाएर बाजुरा जिल्ला प्रशासन कार्यालयलाई उपहारबापत दिएका थिए । प्रशासनले उनको सीपको कदर गर्दै जैसीलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिएको थियो । बाजुराकै कोटेश्वर मन्दिरमा महादेवको मूर्ति बनाएका छन् । जैसीले अहिलेसम्म ६ सय ३ वटा मूर्ति बनाइसकेका छन् । तीमध्ये २५ वटा सालिक निर्माण गरेका छन् । ‘सालिक बनाउन फोटो वा उनको मुखाकृर्तिको वर्णन गरे पुग्छ,’ उनले भने, ‘मैले बनाएको शालिक र मूर्तिबाट मेरा सबै ग्राहक सन्तुष्ट हुनुहुन्छ ।’ उनले जुम्लाका पूर्वकांग्रेस सभापति स्वर्गीय मानव सेजुवालको सालिक बनाएर १३ लाख रुपैयाँ पारिश्रमिक लिएका छन् । उनैले जुम्लाको बीच बजारमा रहेको लक्ष्मीप्रसाद देवकोटको मूर्ति पनि बनाएका हुन् ।

उनको मूर्ति व्यवसाय मुगु र आसपासका जिल्लामा मात्र सीमित छैन । २०७४ मा काठमाडौंमा आयोजित कला प्रदर्शनमा प्रथम भएर २० हजार रुपैयाँ पुरस्कार पाएका थिए । ‘अहिले वर्षभरिको सबै घर खर्च मूर्ति व्यवसायबाटै टर्छ, धेरथोर बचत पनि गरिरहेको छु,’ उनले भने, ‘बाचुन्जेल यही व्यवसायलाई निरन्तरता दिने धोको छ ।’

उनले फुर्सदको बेला व्यक्तिहरूका फोटो पनि पेन्टिङ गर्छन् । एउटा पेन्टिङ फोटोको ५ हजार रुपैयाँसम्म लिने उनले जानकारी दिए । मूर्तिबाटै कमाएको पैसाले उनले ३ छोराछोरी र बुहारीलाई मुगु र काठमाडौंमा पढाएका छन् । जैसीको सीपको प्रचार भएपछि कार्यालय, विद्यालय र व्यक्तिले मूर्ति बनाउन आफ्नै ठाउँमा बोलाउने गरेका छन् ।

प्रकाशित : श्रावण ३, २०७९ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×