कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्यचौकी औषधिविहीन

‘उपचारका लागि गयो, स्वास्थ्यकर्मीले जाँच गरेर औषधि किन्न मेडिकलमा पठाउँछन्’ 
वर्षायाम सुरु भएसँगै स्वास्थचौकीमा ज्वरो, टाईफाइड, झाडापखला र आउँमासीका बिरामी बढी
विप्लव महर्जन

सल्यान — स्थानीय छत्रेश्वरी गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र, ३ स्वास्थ्यचौकी र ३ आधारभूत स्वास्थ्य इकाइमा २ सातादेखि औषधि अभाव भएको छ । ७ स्वास्थ्य इकाइहरूमा औषधिको मौज्दात शून्य भएपछि बिरामीहरू उपचारका लागि मेडिकलको भर पर्न थालेका छन् । 

स्वास्थ्यचौकी औषधिविहीन

गाउँपालिकाले खरिद प्रक्रियामा ढिलाइ गरेपछि स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव भएको हो । औषधिको अभावका कारण उपचार गर्न गएका बिरामीहरू रित्तो हात घर फर्किने गरेका छन् । स्वास्थ्य संस्थामा निःशुल्क पाउने सिटामोल, जीवनजलगायत सामान्य औषधिको समेत अभाव छ । मौसम परिवर्तनका कारण गाउँमा ज्वरो, रुघाखोकी, पखालालगायत बिरामीहरू बढ्दै गए पनि औषधि नहुँदा बिरामीलाई सास्ती भोग्नुपर्ने बाध्यता छ । ‘उपचारका लागि गयो, स्वास्थ्यकर्मीले जाँच गरेर औषधि किन्न मेडिकलमा पठाउँछन्,’ स्थानीय कर्णबहादुर सार्कीले भने, ‘त्यसैले अब त मेडिकलकै भर लाग्न थाल्यो ।’ मेडिकलमा महँगो मूल्यमा उपचार गराउँदा विपन्न नागरिक मर्कामा परेको उनको भनाइ छ । पालिकाले औषधि खरिदमा ढिलाइ गर्दा ७ वडाका झन्डै ५ हजार दीर्घरोगी र विभिन्न स्वास्थ्य समस्या देखिएका बिरामीहरू मर्कामा प्रभावित भएको उनको भनाइ छ ।

पेट दुख्ने र पखाला लाग्ने समस्या देखिएपछि घरबाट आधा घण्टा हिँडेर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न गएका छत्रेश्वरी गाउँपालिका–५ लेखपोखराका ५२ वर्षीय दिलबहादुर पुनले स्वास्थ्य परीक्षण गराए पनि औषधि नपाएपछि खाली हात फर्कनुपरेको बताए । उनले निःशुल्क पाइने सामान्य औषधिलाई पनि मेडिकलमा २ सय ५० रुपैयाँमा किन्नु परेको बताए । ‘निःशुल्क उपचार र औषधि पाइन्छ भनेर स्वास्थ्यचौकी जान्छौं,’ उनले भने, ‘कहिले स्वास्थ्यकर्मी भेटिँदैनन् त कहिले औषधि नै पाइँदैन, बरु सोझै मेडिकलमा गएर उपचार गराउँदा सहज छ ।’ अहिले गाउँगाउँमा स्वास्थ्यचौकी खुले पनि आवश्यकताअनुसारको औषधि पाउन नसकेपछि विपन्न परिवारका बिरामी समस्यामा परेको स्थानीय विमल रोकाले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखराका इन्चार्ज वीरबहादुर ओलीले प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ थरीका औषधि निःशुल्क पाइने भए पनि दुई सातादेखि जीवनजल, एम्लोड, सिटामोल, बुस्कोपानलगायत औषधि नै नभएको बताए । औषधिको अभाव भएपछि अहिले उपचारका लागि आएका बिरामीलाई मेडिकलबाट किनेर सेवन गर्न सुझाव दिइरहेको बताए । ‘निःशुल्क पाइने औषधि किन्न पठाउँदा बिरामी रिसाउँछन्, कतिपय त झगडा गरेरै फर्किन्छन्,’ उनले भने, ‘हामीले पालिकालाई पटकपटक आग्रह गर्दा पनि औषधि आएन ।’ उनका अनुसार दैनिक ५० जनासम्म बिरामी केन्द्रमा उपचारका लागि आउने गरेका छन् । औषधिको अभावले बिरामीलाई सेवा दिन गाह्रो भएको स्वास्थ्यचौकी भोटेचौरका इन्चार्ज गणेश चन्दले बताए । उनका अनुसार वर्षायाम सुरु भएकाले ज्वरो, टाइफाइड, झाडापखाला र आउँमासीका बिरामी धेरै आउने गरेका छन् ।

छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप खनालले औषधि खरिदका लागि टेन्डर प्रक्रियामा जानुपर्ने भए पनि स्वास्थ्य शाखाले समयमै जानकारी नगराएकाले ढिलाइ भएको बताए । उनले असार मसान्त लागेकाले पनि टेन्डर गर्न ढिलाइ भएको जनाए । ‘औषधि अभावको कुरा जानकारी भइसकेको छ,’ उनले भने, ‘अब एक साताभित्रै टेन्डर प्रक्रियामा जान्छौं ।’

प्रकाशित : श्रावण १, २०७९ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?