कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

रुकुम पश्चिम पूर्ण खोप सुनिश्चित जिल्ला

हरि गौतम

रुकुम पश्चिम — रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिले सदरमुकाम खलंगास्थित बाल मन्दिर प्रांगणमा शुक्रबार कार्यक्रम गरी रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको हो । खोप लाउनुपर्ने जिल्लाका सम्पूर्ण बालबालिकाले सबै मात्रा पूरा गरेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको खोप समन्वय समितिले जनाएको छ । 

रुकुम पश्चिम पूर्ण खोप सुनिश्चित जिल्ला

स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जिल्ला खोप समन्वय समितिको निर्णय, प्रदेश खोप समन्वय समितिको अनुमतिपछि रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको जानकारी दिइन् । यसअघि जिल्लाका तीन नगर तथा तीन गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिसकिएको छ । जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणापछि मात्रै जिल्ला घोषणाको प्रक्रिया थालिएको अधिकृत खड्काले बताइन् ।

जिल्लाका जन्मेदेखि १५ महिनासम्मका ३ हजार ५ सय ७१ जनाले पूर्ण खोप लगाएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । जसमध्ये ३ हजार ५ सय १२ जनाको खोप कार्ड छ भने ५९ जना बालबालिकाले खोप खोप लाए पनि कार्ड भने छैन । १६ महिनादेखि २३ महिनासम्मका २ हजार ३ सय ७५ बालबालिकाले पूर्ण खोप लगाइसकेको खोप सुपरभाइजर अधिकृत खड्काले बताइन् । उनका अनुसार विभिन्न माध्यमबाट अनुगमन र निरीक्षण गरी खोप लाएको सुनिश्चित गरेपछि मात्रै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । यस अवधिमा बालबालिकाले विभिन्न १३ वटा सरुवा रोग विरुद्धका खोप लगाउनुपर्छ । पूर्ण खोप सुनिश्चितका लागि १६ महिनादेखि २३ महिना उमेर समूहका बालबालिकाको खोपको अवस्था पहिचान र विश्लेषण गरिन्छ ।

पूर्ण खोप सुनिश्चित जिल्ला घोषणापछि यसको दिगोपनाका लागि विभिन्न रणनीति तय गरिएको छ । प्रभावकारी एवं गुणस्तरीय नियमित खोप सेवा सञ्चालन, हरेक वर्षको चैत महिनाभित्रै स्वास्थ्यकर्मीको संलग्नतामा घरधुरी सर्वेक्षण गर्ने नीति तय भएको छ । सर्वेक्षण प्रतिवेदनको समीक्षा, विश्लेषण, अभिलेख, तथा प्रतिवेदन, खोप सेवाको सुदृढीकरणका लागि सुक्ष्म योजना, योजना अध्यावधिक र छुट बालबालिकालाई खोप लगाइने छ ।

स्थानीय तहको वार्षिक कार्यक्रममा पूर्ण खोप घोषणा र दिगोपना कार्यक्रम समावेश गरी स्वीकृति दिइनेछ । हरेक वर्ष, वडा, स्थानीय तह, जिल्लासभाबाट पूर्ण खोप सुनिश्चितता भएको प्रमाणीकरण, सार्वजनिक र प्रतिवेदन पेस गर्ने गरी रणनीति तय भएको छ ।

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति उपप्रमुख देवबहादुर विकले खोप लाउनुपर्ने सबै बालबालिकालाई खोप दिइएको सुनिश्चिततापछि जिल्लालाई पूर्ण खोप सुनिश्चित गरिएको बताए । स्वास्थ्य सुधारका लागि खोप महत्वपूर्ण भएको भन्दै विकले यो अभियानलाई निरन्तरता दिन सबै निकायको भूमिका उत्तिकै महत्वपूर्ण रहने बताए । यसका लागि सबैले हातेमालो गरिरहन पनि उनको आग्रह छ ।

प्रकाशित : असार ३१, २०७९ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×