१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

अक्सिजनकै अभावमा ज्यान जान्छ

कोभिड महामारीको बेला सबै स्वास्थ्य संस्थामा अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर पुगे पनि अहिले अधिकांश रित्ता छन्
डीबी बुढा

जुम्ला — जेठको पहिलो साता जुम्ला तातोपानी ८ ताम्ती गाउँकी अन्दाजी ६० वर्षीया सुशीला रावत श्वासप्रश्वासमा समस्या आएपछि एक्कासि थला परिन् । उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउनै झन्डै चार घण्टा लाग्यो ।

अक्सिजनकै अभावमा ज्यान जान्छ

डेढ घण्टा स्टेचरमा बोकेर सडकसम्म पुर्‍याउँदा बेहोस भइसकेकी उनले अस्पतालको बेडमा नपुग्दै प्राण त्याग गरिन् । वडाध्यक्ष तिलकबहादुर रावत समयमै अक्सिजन पाएको भए उनलाई बचाउन सकिन्थ्यो भनेर थकथकी मान्छन् ।

वडाध्यक्ष रावतले भौगोलिक विकटता र अक्सिजनको अभावमा दुर्गमका बिरामी अकालमा मृत्यु भोगिरहेको बताए । उनले भने, ‘समयमै अक्सिजन चढाउनसम्म सकिन्न । अनि त बाँच्ने आस भएका बिरामी पनि मृत्यु भोग्छन् ।’ वडाध्यक्ष रावत बेलैमा अक्सिजन नपाएर बिरामीको मृत्यु हुने घटना जिल्लामा बारम्बार भइराख्ने बताए । उनले भने, ‘स्वास्थ्य चौकीमा मात्रै अक्सिजन हुने हो भने पनि यस्तो अवस्था आउने थिएन ।’ जुम्ला तिलाका ५० वर्षीय तुलबहादुर थापा दमका बिरामी भएकाले बेलाबेला अक्सिजन चढाइराख्नुपर्छ । त्यसैले उनी बारम्बार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धाइराख्छन् । कहिलेकाहीँ त उनलाई अस्पताल नपुग्दै बाटोमै मरिन्छ कि झैं हुन्छ । बेलाबेला तुलबहादुरलाई कुन दिन अक्सिजनकै अभावमा फ्याट्ट मर्छु कि झैं लाग्छ । उनले भने, ‘गाउँमै अक्सिजनको सुविधा हुन्थ्यो भने त्यसरी डराई डराई अस्पताल दगुरिहाल्नुपर्थेन ।’

कर्णालीका अधिकांश स्वास्थ्य चौकीमा अक्सिजनको प्रबन्ध नभएकाले श्वासप्रश्वासको समस्या भएका बिरामीहरूलाई रोग बल्झिएका बेला मृत्युसँग जुध्नुपर्ने बाध्यता छ । जुम्ला सिञ्जाका ७० वर्षीय हरिबहादुर कामी प्रत्येक हिउँदमा सुर्खेत वा नेपालगन्ज झर्छन् । चिसोमा दमले समातेर हैरान बनाउने र त्यतिबेला गाउँमा अक्सिजन नपाइने भएकैले उनी हिउँदमा घरमा बस्न सक्दैनन् । सुशीला, तुलबहादुर र हरिबहादुर उदाहरण मात्र हुन् । उनीहरूजस्ता अक्सिजन आवश्यक पर्ने बिरामी कर्णालीमा हजारौंको संख्यामा छन् । दूरदराजमा बस्ने भएकैले उनीहरू चाहिएका बेला अक्सिजनसमेत पाउन नसक्ने अवस्थामा छन् । कर्णालीका हुम्ला, जुम्ला, कालीकोट, डोल्पा र मुगु जिल्लामा यस्तो समस्या चर्को छ । सडक सञ्जाल पुगे पनि जुम्ला, मुगु, डोल्पा र कालीकोटका ग्रामीण सडक सजिला छैनन् । हुम्ला त सडक सञ्जालमै पनि जोडिएको छैन ।

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा. रवीन खड्काका अनुसार कर्णाली प्रदेशमा ७ सय ३३ स्वास्थ्य संस्था छन । कोभिड महामारीका बेला सबै स्वास्थ्य संस्थामा अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर पुगे पनि अहिले तीमध्ये अधिकांश रित्ता छन् । अक्सिजन भएका स्थानमा पनि दक्ष जनशक्ति छैन ।

निर्देशनालयका अनुसार कर्णाली स्वास्थ्य संस्थामा १६ वटा अक्सिजन प्लान्ट छन् । जसमध्ये रुकुमको चौरजहारी अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, सुर्खेतको मेहलकुना अस्पताल र प्रादेशिक अस्पतालमा रहेका चार अक्सिजन प्लान्ट सञ्चालनमा छैनन् । प्रदेशमा साना–ठूला गरेर २२ सय अक्सिजन सिलिन्डर र १२ सय कन्सन्ट्रेटर छन् ।

प्रदेशभरिकै एउटा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई वटा अक्सिजन प्लान्ट छन् । एउटा तीन वर्ष अघिदेखि सुरु भएको थियो । जसले प्रतिमिनेट ३ सय ९० लिटर अक्सिजन उत्पादन गर्छ । दुई महिनाअघि अर्को अक्सिजन प्लान्ट सुरु भएको छ । जसले प्रतिमिनेट ९५० लिटर उत्पादन गर्छ । यी दुई प्लान्टले उत्पादन गर्ने अक्सिजनले सिंगो प्रदेशको आवश्यकता धान्ने देखिन्छ । तर दुर्गमका स्वास्थ्य चौकी र अस्पतालमा अक्सिजन सिलिन्डरसमेत नहुने अवस्थाले स्थानीयले चाहिएका बेला सजिलै अक्सिजन पाउन सकिरहेका छैनन् ।

कतिसम्म भने कहिलेकाहीँ त फ्याट्टै बिजुली जाँदा प्रतिष्ठानमा भर्ना गरिएका बिरामीलाई समेत अक्सिजन पुर्‍याउन हम्मेहम्मे हुन्छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक राजीव शाहका अनुसार प्रतिदिन ३५० जनाले दैनिक उपचार सेवा लिन्छन् । जसमध्ये १५० जना अस्पतालमा भर्ना गर्नुपर्ने बिरामी हुन्छ । अस्पतालको ३ सय बेडमा २ सय बेडमा पाइपलाइनबाटै अक्सिजन पुर्‍याइएको छ । बाँकी बिरामीको अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटरकै भरमा उपचार हुन्छ । अस्पतालमा ४५० अक्सिजन सिलिन्डर र १५० जति कन्सन्ट्रेटर रहेको अस्पतालले जनाएको छ ।

पहिले अक्सिजन नहुँदा जटिल प्रकृतिको शल्यक्रिया रोकिन्थ्यो, अहिले जेनतेन जस्तोसुकै जटिलखाले शल्यक्रिया पनि भइराखेको छ, निर्देशक शाहले भने, ‘अस्पतालमा पुगेको बिरामी जसोतसो त बचाउन सकिएला तर ग्रामीण क्षेत्रमै श्वासप्रश्वासले ग्रस्त बिरामी अस्पतालसम्म आइपुग्न गाह्रै पर्ला ।’

मुगु अस्पतालका डा. महेश आचार्यले कर्णालीमा अक्सिजन अभावका कारण धेरैको मृत्यु हुने गरेको बताए । उनले भने, ‘अक्सिजन अभावकै कारण जटिल प्रकारको रोगको उपचारसमेत रोकिन्छन् ।’ मुगुमा एक वर्षदेखि सानो साइजको अक्सिजन प्लान्ट राखेर अक्सिजनको चरम अभाव टार्ने प्रयास भएको देखिन्छ । यो प्लान्टले ६ घण्टा लगाएर ४० लिटरको एक सिलिन्डर मात्र भरिरहेको हुन्छ । २४ घण्टामा ४ सिलिन्डर मात्र भरिन्छन् । मुगु अस्पतालमा दैनिक ५ देखि १० जनासम्म श्वासप्रश्वासका बिरामीको उपचार हुन्छ । हुम्लाका स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले अस्पतालमा मिनी अक्सिजन प्लान्ट स्थापना गरिए पनि पर्याप्त नभएको बताए । अस्पतालमा जडान गरिएको मिनी प्लान्टबाट २४ घण्टामा ३ सय २० लिटर अक्सिजन मात्रै उत्पादन हुन्छ । अस्पतालमा अक्सिजनका ४५ थान सिलिन्डर पनि छन् । तर ती सधैंभरि अवस्थामा हुँदैनन् । सिंहले कहिलेकाहीँ त एउटै गम्भीर अवस्थाका बिरामीलाई १० सिलिन्डरसम्म अक्सिजन चाहिने गरेको बताए । अस्पतालले अक्सिजनकै अभावमा गम्भीर खाले सबै बिरामी सुर्खेत वा नेपालगन्ज रेफर गरिरहेका छन् । अस्पतालमा अहिले गत सालको ५ सिलिन्डर अक्सिजन मौज्दात छ । सिंहले भरेर सिलिन्डर ल्याउन नसकिएकाले यस वर्ष अक्सिजन अभाव हुने सम्भावना बताउँछन् ।

भूगोलका हिसाबले कर्णालीको डोल्पा जति ठूलो छ, यहाँको स्वास्थ्य समस्या पनि उत्तिकै ठूलो छ । । वैशाखमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. निरेश थापा पाठेघर खसेका महिलाको अपरेसनका लागि डोल्पा पुगेका थिए । उनले अक्सिजनकै अभावमा आफूले उपचार गर्न नसकेको अनुभव साटे । अस्पतालमा कन्सन्ट्रेटर भए पनि बिजुलीको भर नहुने भएकाले उपचारमा जोखिम मोल्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।

डोल्पामा ४० केजीका १७० र १० वटा सानो आकारका अक्सिजन सिलिन्डरसहित २७ कन्सन्ट्रेटर छन् । डोल्पा अस्पतालका टेकबहादुर गुरुङले अस्पतालमा बिरामीलाई जेनतेन अक्सिजन पुगे पनि दुर्गम भेगमा अक्सिजन नहुँदा समस्या भइरहेको बताए । कोभिड संक्रमणका बेला डोल्पामा अक्सिनको अभावमा चार जनाको मृत्यु भएको थियो । कालीकोट अस्पतालमा एउटा अक्सिजन प्लान्ट छ, जसले २४ घण्टामा ४ सय २० लिटर उत्पादन गर्छ । अस्पतालले जिल्लाकै रासकोट र डिल्लीकोट अस्पतालमा समेत अक्सिजन भरेर पठाउँछ । दैनिक ६० जना बिरामी जाँच गर्ने भए पनि अस्पतालले दैनिक दुई/तीन जना बिरामी भर्ना गर्छ ।

प्रकाशित : असार ३१, २०७९ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?