कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मध्यपश्चिम विश्वविद्यालयमा २५ प्राध्यापक आउँदै

चाँदनी कठायत

वीरेन्द्रनगर — मध्यपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्न नयाँ अभ्यासमार्फत २५ जना प्राध्यापक करार सेवामा लिन लागेको जनाएको छ । ‘शैक्षिक कम्युन’ नामक नयाँ कार्यक्रममार्फत २५ जना अनुसन्धानकर्ता प्राध्यापकहरू ल्याउन लागिएको विश्वविद्यालयले जनाएको छ । ‘एकेडेमिक कम्युन कम थिंक ट्यांक’ नाम दिइएको कम्युनमा विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरेका २५ जना प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक हुनेछन् ।

मध्यपश्चिम विश्वविद्यालयमा २५ प्राध्यापक आउँदै

विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरेका नेपालीलाई शैक्षिक विकासमा योगदान गर्न आवधिक करार सेवामा लिन लागिएको विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेलले बताए । शैक्षिक तथा प्राज्ञिक उन्नयनका लागि भन्दै प्राध्यापकहरुलाई करार सेवामा लिन विश्वविद्यालयले खुला प्रतिस्पर्धा गराएको उनको भनाइ छ ।

‘शैक्षिक कम्युन’ कार्यक्रम सुरु गर्न विश्वविद्यालयको कार्यकारी परिषद्ले गत वैशाख १० गते निर्णय गरी जेठ ३ मा विज्ञापन खोलेको थियो । उक्त विज्ञापनमार्फत आएका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकहरू चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको रजिष्ट्रार पौडेलले बताए । शैक्षिक कम्युन कार्यक्रमका लागि १ सय ३५ जना अनुसन्धानकर्ता प्राध्यापकहरुको आवेदन परेको थियो । तीमध्ये ९१ जना योग्यता सूचीमा समावेश भएका छन् । विश्वका २१ देशका विश्वविद्यालयबाट विद्यावारिधि गरी विभिन्न विधामा अनुसन्धान गरिरहेका र अध्यापन गराइरहेका योग्यता सूचीमा परेका हुन् । प्रतिस्पर्धीमध्येबाट एमयूका विभिन्न संकायअन्तर्गत विषयगत विज्ञका रुपमा २५ जना छनोट गरिने विश्वविद्यालयले जनाएको छ ।

प्राध्यापक छनोटका लागि सेवा आयोगले काम अघि बढाएको रजिष्ट्रार पौडेलले बताए । कम्युनका लागि प्रध्यापकहरू छनोट गर्दा मुख्यगरी अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित लेखलाई प्राथमिकता दिइएको छ । लेखमा १ सय २० पूर्णांक राखिएको छ ।

प्राध्यापकले ९ वटा सहप्राध्यापकले ७ वटा र उपप्राध्यापकले ५ वटा लेख अन्तर्राष्ट्रिय जर्नलनमा प्रकाशित गरेको हुनुपर्ने कुरा कार्यविधिमा उल्लेख छ । शैक्षिक गुणस्तर नयाँ उचाइमा पुग्ने अपेक्षाका साथ यस्तो कार्यक्रम सुरु गर्न लागिएको विश्वविद्यालय प्रशासनले जनाएको छ ।

शैक्षिक कम्युन अन्तर्गत करारमा नियुक्त हुने २५ जना प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकमध्ये कतिपयले आफ्नो तर्फबाट पनि शैक्षिक परियोजना ल्याउने छन् । त्यस्ता परियोजनालाई विश्वविद्यालयको कार्यकारी परिषद्‍बाट अनुमोदन गरिनेछ । परियोजना सञ्चालनबापत प्राध्यापकले पाउने रकमको केही प्रतिशत विश्वविद्यालयका लागि जम्मा गर्नुपर्ने बताइएको छ । आफूले ल्याएको परियोजनाबाहेक प्राध्यापकहरुले विश्वविद्यालयको शैक्षिक गुणस्तर बढाउनका लागि पनि काम गर्ने छन् । हाल ६ महिनाका लागि करार गरिए पनि ती प्राध्यापकले आफ्नो परियोजना ल्याए वा विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा प्रभाव पार्न सकेमा मूल्यांकनका आधारमा करार थप गर्ने व्यवस्था गरिने विश्वविद्यालय प्रशासनले जनाएको छ ।

विश्वविद्यालयका प्रा.डा. चन्द्रप्रसाद रिजालका अनुसार करार गरिएका प्राध्यापकलाई विश्वविद्यालयले आवासीय रुपमा राखिनेछ । शैक्षिक कम्युन कार्यक्रम सञ्चालनका लागि प्राध्यापक नियुक्त गर्ने कार्यविधि बनाइए पनि उनीहरुलाई परिचालन गर्ने कार्यविधि भने बनिनसकेको उनको भनाइ छ ।

शैक्षिक गुणस्तर सुधारका लागि सञ्चालन गर्न लागिएको ‘शैक्षिक कम्युन’ का लागि विश्वविद्यालयले चार करोड रुपैयाँ कोषमा जम्मा गरेको छ । उच्च शिक्षा सुधार परियोजना (एचईआरपी) अन्तर्गत प्राप्त अनुदानमध्ये उक्त बजेट यो अभियानका लागि छुट्याइएको विश्वविद्यालयले जनाएको छ । एचआरपी परियोजनामा विश्व वैंकको सहयोग छ ।

विश्वविद्यालयले कलेज अफ म्यानेजमेन्ट (मुसोम) लाई स्वायत्त बनाउने सम्झौता गरेकाले यो परियोजनाबाट अनुदान सहयोग आएको हो । यो परियोजनाअन्तर्गत आएको रकममध्येबाट १० वटा आंगिक क्याम्पसको क्षमता वृद्धि गर्न ५० लाखदेखि एक करोड रुपैयाँसम्म दिइएको प्रा.डा.रिजालले बताए । परियोजनाबाट आएको अनुदान रकममध्ये ४० प्रतिशत मुसोमलाई दिएर बाँकी विश्वविद्यालयका लागि राखिएको उनको भनाइ छ ।

मुसोमलाई दिएर विश्वविद्यालयले राखेको चार करोड रुपैयाँमध्येको केही रकम अहिले 'शैक्षिक कम्युन' मा खर्च लागिएको हो । यसका लागि मध्यपश्चिम विश्वविद्यालयले विश्वविद्यालय अनुदान आयोगबाट सहमति लिएको थियो ।

विश्वविद्यालयका अनुसार शैक्षिक कम्युनमा नियुक्त हुनेलाई ६ महिनाका लागि करार गरिनेछ । उनीहरुले दैनिक चार घण्टा पढाउने छन् भने तीन घण्टा प्राध्यापक र कर्मचारीसँग काम गर्नेछन् । प्राध्यापकसँगै काम गर्दा विश्वविद्यालयको नीतिगत सुधार र रणनीति निर्माणमा मद्दत पुग्ने विश्वास लिइएको छ । त्यस्तै, विश्वविद्यालयले सबै पाठ्यक्रम पुनः अवलोकन गरी सुधार गर्न खोजेकाले त्यसमा पनि सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

विश्वविद्यालयले आगामी आर्थिक वर्षदेखि सबै पाठ्यक्रम नयाँ परिवेशअनुसार परिमार्जन गरिने बताएको छ । पाठ्यक्रममा अभ्यास सिकाइलाई बढी जोड दिइने भएको छ । विश्वविद्यालयका प्रा.डा. रिजालले आगामी पाँच वर्षभित्र प्रत्येक विषयमा सैद्धान्तिक कक्षा ४० प्रतिशत र अभ्यास सिकाइ ६० प्रतिशत हुने गरी पाठ्यक्रम परिमार्जन गर्न लागिएको जानकारी दिए ।

शैक्षिक कम्युन कार्यक्रममार्फत मध्यपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले ‘योङ प्रोफेसर’ को रुपमा सहभागी हुने मौका समेत पाउने विश्वविद्यालयले जनाएको छ । त्यसबापत विद्यार्थीहरुले प्रमाणपत्रसमेत पाउनेछन् । मध्यपश्चिम विश्वविद्यालयले ‘ग्राजुएट स्कुल’ अन्तर्गत हाल विभिन्न आठ वटा संकाय सञ्चालन गर्दै आएको छ ।

प्रकाशित : असार २६, २०७९ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?