कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुहान सुकेपछि काकाकुल खलंगा

‘धारा भएर के गर्ने ? पानी नै आउँदैन, पानी नहुँदा सरसफाइदेखि खाना पकाउनेसम्मका काम लथालिंग भएका छन्’
डीबी बुढा

जुम्ला — खलंगाकी अष्टलक्ष्मी भण्डारी दैनिकजसो बिहानै खानेपानीको जोहो गर्न जुगाड खोलातिर लाग्छिन् । उनको बिहान र बेलुकाको झन्डै २ घण्टा पानीको जोहो गर्नमै बित्छ । खलंगाको सबै घरमा धारा जडान गरिएको छ । तर खानेपानी धारामा हप्ता दिनदेखि पानी नझर्दा उनलाई जुगाडखोलाको पानी ल्याउनुपर्ने बाध्यता भएको हो ।

मुहान सुकेपछि काकाकुल खलंगा

‘धारा भएर के गर्ने ? पानी नै आउँदैन,’ उनले भनिन्, ‘पानी नहुँदा सरसफाइदेखि खाना पकाउनेसम्मका काम लथालिंग भएका छन् ।’ उनकी छिमेकी कमला देवकोटालाई पनि पानीको जोहो गर्न दैनिक जुगाडखोला जानुपर्ने बाध्यता छ ।

धारामा नियमित पानी नआउँदा पानी भर्नकै लागि केही स्थानीय तिला नदीसम्म पुग्न बाध्य छन् । खलंगामा खानेपानीको मुहान नहुँदा झन्डै ९ किलोमिटर टाढाको पातारासी गाउँपालिकाको–६ बडेखोलीदेखि खानेपानी ल्याइएको छ । तर खडेरीका कारण मुहानमा पानी सुकेपछि स्थानीयलाई सास्ती भएको हो । मुहान नहुँदा खानेपानीमा अर्कै स्थानीय तहको भर पर्नुपरेको खलंगा खानेपानी उपभोक्ता समितिले जनाएको छ ।

समितिका कार्यालय प्रमुख अर्जुन बरालले मुहान सुक्दा पानीको समस्या भएको बताए । ‘पहिले २ सय धाराको लागि मात्र खानेपानी आयोजना बनाइएको थियो, अहिले १ हजार ६ सय ५० धारा छन्,’ उनले भने, ‘बडेखोलीको मुहानमा ३ वटा पानीको मुहान मिसाइएको छ, तैपनि प्रतिसेकेण्ड २ लिटर मात्र पानीको गति हुँदा समस्या भयो ।’

उनका अनुसार दशक अघिसम्म मुहानमै प्रतिसेकेन्ड ६ लिटर पानी भरिन्थ्यो । खानेपानी समस्या हल गर्न अहिले ४ लाख लिटर अटाउने क्षमता भएको पानी ट्यांकी बनाइएको संस्थाले जनाएको छ । मानवीय कमजोरीका कारण जलवायुमा देखिएको असरले खानेपानीको मुहान सुकिरहेको स्थानीय अगुवा केशर न्यौपानेले बताए । ‘पहिले पिउने, सरसफाइ गर्नेदेखि नजिकैको करेसाबारीमा सिँचाइ गर्नसम्म यही पानीले पुग्थ्यो,’ उनले भने, ‘अहिले पिउने पानीकै लागि मुस्किल भयो ।’

भौगोलिक बनावट र जनसंख्या वृद्धिका कारण खलंगामा दिनप्रतिदिन खानेपानीको अभाव हुँदै गएको प्रमुख बरालले बताए । उनका अनुसार चैतदेखि असारको पहिलो सातासम्म खलंगामा पानी पुर्‍याउन समस्या भएको हो । पछिल्लो समय तातोपानी, चन्दननाथ र गुठीचौर गाउँपालिकालाई पुग्ने गरी धौलिगाड बृहत् खानेपानी आयोजनाको काम सुरु भएको उनको भनाइ छ ।

जिल्लाका ग्रामीण भेगमा पनि खानेपानीको चर्को समस्या छ । तिला गाउँपालिका–८ जुम्लाकोटमा पानी भर्नकै लागि स्थानीयहरू बिहान ५ बजेदेखि राति १० बजेसम्म लाइन बस्न बाध्य छन् । गाउँका १ सय ७२ घरधुरीमा २ वटा मात्र धारा भएपछि लाइन लाग्नुपर्ने बाध्यता भएको स्थानीय धनलाल बस्नेतले बताए । उनका अनुसार २०५९ मा निर्माण भएको खानेपानी योजनाको मुहान सुकेपछि पानी भर्नकै लागि सास्ती भोग्नुपरिरहेको हो । ‘पानी भर्नका लागि पालो कुर्दाकुर्दै दिनरात बित्छ,’ उनले भने, ‘मुहान सुक्दै गयो, गाउँ नै काकाकुल बनेको छ ।’

प्रकाशित : असार २२, २०७९ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?