कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पालिकाको केन्द्र पुग्नै एक दिन

‘सडक बन्यो भने गाडीमा सिधै २/३ घण्टामा पालिकाको केन्द्र पुगिन्थ्यो, अहिले २ जिल्ला घुमेर जानुपर्दा बाटैमा बास बस्नुपर्ने बाध्यता छ’
विप्लव महर्जन

सल्यान — कालिमाटी गाउँपालिका–७ घुइयाबारीका ५० वर्षीय दिलबहादुर बुढाले २ वर्षदेखि पालिकाको केन्द्र पुग्न सकेका छैनन् । उनलाई गाउँपालिकाको केन्द्र जान कि त पैदल एक दिनभरि हिँड्नुपर्छ भने गाडीमा जाँदा २ जिल्ला काटेर गाउँपालिकाको केन्द्र पुग्नुपर्ने बाध्यता छ । ‘आफ्नै पालिकाको केन्द्र जान पनि समस्या भयो,’ उनले भने, ‘सरकारी कामकाज गर्नकै लागि सास्ती भोग्न बाध्य छौं ।’

पालिकाको केन्द्र पुग्नै एक दिन

पालिकाको केन्द्रसम्म सोझै सडक नजोडिँदा झन्डै ८ घण्टाको गाडी यात्रामार्फत पुतलीबजार पुग्नुपर्ने बाध्यता भएको उनको भनाइ छ । उनका छिमेकी ८४ वर्षीय अलबहादुर बुढाले पालिकाको केन्द्र पुग्न नसक्दा झन्डै डेढ वर्षदेखि सुरक्षा भत्ता निकाल्न पाएका छैनन् ।

कालीमाटी गाउँपालिका–६ र ७ स्थित काप्रेचौरका बासिन्दालाई गाउँपालिकाको केन्द्र टाढा हुँदा सरकारी सेवा सुविधा लिन समस्या छ । स्थानीयहरू पालिकाको केन्द्र पुतलीबजार पुग्न कि त बर्दिया र सुर्खेत हुँदै जान्छन् भने केही दाङ हुँदै बाँकेको कोहलपुरबाट पुतलीबजार गइ सरकारी कामकाज गर्न बाध्य छन् । ‘एक दिन बाटोमै मात्रै लाग्छ, कुनै सरकारी काम गर्नुपरे कम्तीमा ३ दिनको समय छुट्याउनुपर्छ,’ स्थानीय हेमन्त केसीले भने, ‘सानो काम गरेर फर्कन पनि कम्तीमा ५ हजार रुपैयाँ खर्च हुन्छ ।’ उनले २ वडाका झन्डै २ हजार परिवार विभिन्न सरकारी सुविधाबाट वञ्चित भएको गुनासो गरे ।

सदरमुकाम खलंगादेखि बाँकेको नेपालगन्ज जोड्न झन्डै ४ दशकअघि रामपुर (पुतलीबजार)–दम्दवाली–हात्तीदमार–घुइयाबारी हुँदै कोहलपुर जोड्ने सडक निर्माणको काम सुरु गरियो । तर अहिलेसम्म कालिमाटी गाउँपालिका–५ दम्दवालीसम्म मात्र सडक पुगेको छ । त्यसउता पर्ने १६ किलोमिटर सडक लामो समयदेखि अलपत्र परेको स्थानीय नारायण सुनारले बताए । ‘सडक अलपत्र पर्‍यो, हामीलाई २ जिल्ला घुमेर पालिकाको केन्द्र जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘हिँडेर जाने हो भने पनि बिहानै निस्केपछि बेलुकीसम्म पुग्न त सकिन्छ, तर ७/८ पल्ट जोखिम मोलेर बबई नदी तर्नुपर्छ ।’ बाटोमा बाँके राष्ट्रिय निकुञ्ज पर्ने भएकाले वन्यजन्तुको डर त्यतिकै हुने उनले बताए ।

निकुञ्जले निर्माणको काममा रोक लगाएपछि सडक निर्माण अलपत्र परेको कालीमाटी गाउँपालिका–६ का वडाध्यक्ष टेकराज पुलामीले बताए । ‘सडक बन्यो भने गाडीमा सिधै २/३ घण्टामा पालिकाको केन्द्र पुगिन्थ्यो,’ उनले भने, ‘अहिले २ जिल्ला घुमेर जानुपर्दा बाटैमा बास बस्नुपर्ने बाध्यता छ ।’ पालिकाको सीमित बजेटले सडक निर्माणको काम पूरा गर्न समस्या भएको गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए । ‘प्रदेश र संघीय सरकारले सडक निर्माणमा बेवास्ता गरिहेका छन्,’ उनले भने, ‘हाम्रो बजेटले सडक निर्माण गर्न पुग्दैन ।’

प्रकाशित : असार २१, २०७९ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?