६८१ वडामा मुख्यमन्त्री रोजगार कार्यक्रम- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६८१ वडामा मुख्यमन्त्री रोजगार कार्यक्रम

हुम्ला, डोल्पा र मुगुका प्रत्येक वडामा २० लाखका दरले बजेट विनियोजन
चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष पनि कर्णालीका वडा–वडामा ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ लागू गर्ने भएको छ । चालु आर्थिक वर्षमा कर्णालीका ७१८ वटै वडामा उक्त कार्यक्रम लागू गरेको सरकारले आगामी आव पनि कार्यक्रमलाई निरन्तरता दिने भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार कर्णालीका ७ सय १८ वडामध्ये ६ सय ८१ वडाबाट सिफारिस भएका योजना स्वीकृत भई पठाइसकिएको छ । कार्यालयका योजना अनुगमन तथा आर्थिक पूर्वाधार शाखाका नवीन ढकालका अनुसार आगामी आवका लागि फागुनमै योजना माग गरिए पनि पाँच स्थानीय तहका ३७ वडाबाट एउटा पनि योजना छनोट गरी पठाइएको छैन । प्रदेश सरकारले योजना प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि बजेट निर्माण हुनुअघि नै योजना छनोट गरेको हो ।

जाजरकोटको नलगाड नगरपालिकाका १३ वडा कुनै पनि वडाले एउटा योजना पनि पठाएका छैनन् । यस्तै, नौ वडा रहेको मुगुको मुगुमकार्मारोङ गाउँपालिका र ११ वडा रहेको खत्याड गाउँपालिकाले मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि योजना छनोट गरी पठाएनन् । योजना शाखाका ढकालका अनुसार जाजरकोटको छेडागाड नगरपालिकाको वडा नं. ८, सल्यानको छत्रेश्वरी गाउँपालिकाका २, ६ र ७ नम्बर वडाले एउटा पनि योजना नपठाएका हुन् । छुटेका वडाले साउनभित्र आफूहरूको क्षेत्रमा आयोजना आवश्यक छ भन्ने ठानी योजना पठाएमा स्वीकृत गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । आयोजना नपठाएका वडाले साउनसम्म पनि कुनै योजना छनोट गरी नपठाएमा ६ सय ८१ वडामा स्वीकृत भएका योजना मात्रै कार्यान्वयमा लैजाने कार्यालयको भनाइ छ ।

मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि छनोट भएका योजनालाई बजेट पारित भएलगत्तै आगामी साउनदेखि नै कार्यान्वयनमा लैजाने तयारी सरकारले गरेको छ । आगामी वर्षदेखि आयोजना कार्यान्वयन गर्न सरकारले कार्यविधिमा हेरफेर गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता केशवप्रसाद उपाध्यायले गत माघमा सरकार र प्रतिपक्षबीच भएको सहमतिअनुसार मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यविधिमा हेरफेर गरिएको हो । विगतको कार्यविधिमा रहेको स्थानीय तह र प्रदेशसभा सदस्यको भूमिकालाई यथावत् गरी उक्त कार्यविधि परिमार्जन गर्ने सहमति भएबमोजिम ‘बाधा अड्चन फुकाउ’ सम्बन्धी संशोधन गरिएको हो ।

चालु आर्थिक वर्षमा अनलाइनमार्फत स्थानीय तहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना माग गरी जारी गरेको सूचनाको समयावधिभित्र एकै घरका परिवारका सदस्यबाहेक कम्तीमा सात जना व्यक्तिहरू मिली सूचना प्रणालीमार्फत आयोजना माग गर्नुपर्ने व्यवस्था कार्यविधिमा थियो ।

तर अब भने सम्बन्धित स्थानीय तहको वडा समितिले सम्भव भएसम्म वडा भेला गरी प्रति आयोजना १५ लाखसम्मका पाँच वटा आयोजना छनोट गरी स्थानीय तहमा पठाउनुपर्नेछ । भेलाबाट आएका योजनालाई स्थानीय तहले कार्यपालिकाबाट निर्णय गरी सम्बन्धित जिल्लाको प्रदेशसभा सदस्यको संयोजकत्वमा रहेको आयोजना सिफारिस तथा समन्वय समितिमा पठाउनुपर्नेछ । समितिले स्थानीय तहबाट आएका पाँचमध्ये तीन आयोजना छनोट गरी मुख्यमन्त्रीको संयोजकत्वमा रहेको निर्देशक समतिमा पठाउनेछ । प्रदेश सरकारले अब डल्लो बजेट नराख्ने भनी क्रियाकलाप अनुरुप बजेट छुट्याउने भएको छ ।

प्रकाशित : असार १८, २०७९ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्

मेसिनको प्रयोगले रोपाइँ खर्च कम

जनशक्ति, बीउलगायतमा खर्च घट्ने तथा उब्जाउ पनि बढी हुने भएपछि मेसिन प्रयोगमा किसानको आकर्षण बढ्दै
रमेशकुमार पौडेल

चितवन —  चितवन कुमरोजका सजना चौधरीलाई हिजोआज धान रोपाइँको चटारोले बिहानदेखि साँझसम्मै व्यस्त बनाएको छ । हिलाम्मे खेतमा दिनभर काम गर्ने उनको हातखुट्टा, कपडामा खासै हिलो हुन्न । ‘खेतबाट निस्केपछि हातखुट्टा धुन त पर्छ नै तर त्यस्तो हिलो हुन्न । सर्टपाइन्ट लगाएरै काम गर्ने हो । कपडामा एकाध छिटा लाग्छ । नभए हिलो खेतमा काम गरेको ठूलो संकेत देखिँदैन,’ सजनाले भने ।

पूर्वी चितवनको कुमरोजमा मेसिनबाट धान रोपिँदै । तस्बिर : रमेशकुमार/कान्तिपुर

कुमरोजको साना किसान कृषि सहकारीले किनेको धान रोप्ने मेसिनका चालक हुन् उनी । मेसिनले धान रोप्दा हिलोमा टेक्नै पर्दैन । गह्रा ढाक्ने गरी धान रोप्ने खेताला पनि खोज्नु पर्दैन । बिघौंबिघा खेत उनी एक्लैले मेसिन कुदाएर रोप्छन् । मेसिनले रोप्ने धानको बीउ/बेर्ना विशेष तरिकाले ट्रेमा तयार गर्नुपर्छ । बेर्ना बटुल्न पनि पुरानो ब्याडमा जस्तै धेरै खेताला चाहिँदैन । एक/दुई जनाले ट्रेका बेर्ना मेसिनसम्म ल्याए हुन्छ । ७/८ वर्षयता चितवनका हिला गह्राहरूमा फाट्टफुट्ट यस्ता मेसिनहरू देखिन थालेका छन् । मेसिनको प्रयोग सोचेअनुरूपको भने छैन । तर, प्रयोग गरेकाहरू केही समस्या रहे पनि सन्तुष्ट रहेको बताउँछन् ।

‘एक बिघा खेतमा धान रोप्न कम्तीमा १३ जना खेताला चाहिन्छ । एक जना खेतालाको ज्याला र खाजापानीको खर्च ८/९ सय रुपैयाँभन्दा बढी हुन्छ । यति नै खेत मेसिनले रोपे ४/५ हजार रुपैयाँ मात्रै लाग्छ,’ खैरहनी–१२ कपियाका नवीन श्रेष्ठले भने । अचेल खेताला पाउन कठिन छ । छिटो र खर्च पनि कम हुने भएका कारण किसानका लागि मेसिन लाभदायक भएको उनले बताए ।

चितवनमा झन्डै १० वर्षअघि जापानबाट एक जना व्यक्तिले धान रोप्ने मेसिन भित्र्याएका थिए । त्यसले व्यापकता पाउन भने सकेन । त्यसपछि २०७२ सालमा तत्कालीन जिल्ला कृषि विकास कार्यालयले पूर्वी चितवनका विभिन्न कृषि सहकारीलाई ६ वटा मेसिन अनुदानमा उपलब्ध गरायो । तीनपाङ्ग्रे ती मेसिन त्यति प्रभावकारी भएनन् । नवीन श्रेष्ठले पनि त्यतिबेलादेखि नै मेसिन प्रयोग सुरु गरेका हुन् ।

‘हिलोमा मज्जाले नसर्ने, गेयर फँस्ने समस्या आयो । बनाउन पनि लगेको हो तर राम्रोसँग नचलेपछि प्रयोग हुन छाडे,’ नवीनले भने । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ भरतपुरले गत वर्ष पूर्वी चितवनकै बछौली, कुमरोज र कठारका कृषि सहकारीलाई अनुदानमा १/१ वटा धान रोप्ने मेसिन उपलब्ध गरायो । पुरानो मेसिनले काम नगरेर थन्किए पनि यसको फाइदा बुझेका कारणले कुमरोजबाट मेसिन ल्याएर रोप्न लागेको श्रेष्ठले बताए । सहकारीले किनेको मेसिन चारपाङ्ग्रे हो । त्यसले हिलोमा राम्रोसँग काम गरेको चालक सजनाले बताए । पूर्वी चितवनका यी तीन सहकारीसहित पश्चिम चितवन दिव्यनगरमा पनि यस्तै चारपाङ्ग्रे मेसिन छ । अहिले चितवनभर रहेका धान रोप्ने मेसिन यत्ति नै हुन् ।

स–साना गह्रामा मेसिनले धान रोप्न गाह्रो हुन्छ । ‘त्यसैले चक्लाबन्दी गरेर ठूला गह्रा बनाएका ठाउँमा मात्रै अहिले मेसिनको प्रयोग सुरु भएको छ,’ परियोजनाका कृषि अधिकृत तथा सूचना अधिकारी माधव पौडेलले भने । किसानहरू मेसिनसम्बन्धी सबै विषयमा अभ्यस्त नभएका कारण प्रयोग बढ्न नसकेको कृषि अधिकारीहरू बताउँछन् । यसबाहेक खेतमा पानी नियन्त्रण गर्न सक्ने सिँचाइ प्रणाली पनि हुनुपर्छ । चितवनको कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा चैते र वर्षेगरी साढे ३० हजार हेक्टर जमिनमा धान खेती हुने गरेको छ । चैते र वर्षे गरी जम्मा सय हेक्टर अर्थात् डेढ सय बिघामा मात्रै मेसिनले धान रोप्ने गरिएको कृषि अधिकृत पौडेलले बताए । तर, यसबाट हुने फाइदा बुझेपछि प्रयोग गर्नेहरू बढ्ने किसान सूर्यबहादुर बोगटी बताउँछन् ।

खैरहनी–१३ कुमरोजका बोगटीले २ बिघामा धान खेती गर्छन् । काट्ने रोप्ने काम मेसिनले नै गर्दै आएका छन् । ‘मेसिनले रोप्दा बीउ कम लाग्छ । खर्च पनि कम हुने । उत्पादन पनि बढ्छ,’ उनले अनुभव सुनाए । अरू बेला २ बिघाका लागि लगभग एक क्विन्टल बीउ राख्ने गरेकोमा ट्रेमा राख्दा १७ किलोले पुगेको उनले बताए । त्यसैगरी मेसिनले रोप्दा १० हजार खर्च भएको र खेताला लगाएको भए २७ हजार रुपैयाँ लाग्ने उनको भनाइ छ ।

‘उत्पादन २५ प्रतिशतले बढेको छ । लाइन मिलाएर फराकिलो बनाएर रोप्दा हावा खेल्न पाउने, मलखाद सबैलाई पुग्ने हुँदा हर्लक्क गाँज आएर बढ्छ । बाला राम्रो लाग्छ । त्यसैले उत्पादन बढ्छ,’ उनले भने । कृषि अधिकृत पौडेल पनि मेसिनले रोप्दा बीउ कम लाग्ने र उत्पादन बढ्ने स्वीकार्छन् । ‘कृषि कर्म हिलो धूलोमा खेल्ने दुखिया काम हो तर मेसिनको प्रयोगले यो मान्यता हटाएको छ । खर्च कम हुने गरेको छ । उत्पादन बढेको छ । बीउ पनि जोगिएको छ,’ उनले भने, ‘कुनै पार्टस् बिग्रे बनाउन फेर्न अलि गाह्रो रहेछ । त्यसैले मेसिन किन्न आँट गरेका छैनन् तर फाइदा देखेपछि प्रयोग बढ्छ नै ।’

प्रकाशित : असार १८, २०७९ ०८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×