कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहकारीको ३५ लाख रुपैयाँ दुरुपयोग गरेर प्रबन्धक फरार

विप्लव महर्जन

सल्यान — दार्मा गाउँपालिका ४ रातामाटामा रहेको भल्चौर महिला साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक हेमन्त ओली सहकारीको ३५ लाख रुपैयाँ दुरुपयोग गरेर फरार भएका छन् । दुरुपयोग गरेको रकम फिर्ता गर्न सहकारीले ताकेता गरेपछि उनी फरार छन् ।

सहकारीको ३५ लाख रुपैयाँ दुरुपयोग गरेर प्रबन्धक फरार

सहकारीको रकम दुरुपयोग गरेको हल्ला फैलिएपछि हिसाबकिताब हेर्न केन्द्रीय सहकारी विभागमा अनुरोध गरेपछि केन्द्रबाट सहजीकरण तथा हिसाबकिताब हेर्न आएको विनोद पौडेलको टोलीले छानबिन गर्दा ३५ लाख रुपैयाँ दुरुपयोग भएको खुलेको थियो ।

प्रबन्धक ओलीले किसानलाई ऋण लगानी गरेको नक्कली कागज बनाएर रकम दुरुपयोग गरेको सहकारीकी अध्यक्ष हरिकला मल्लले बताइन् । घटना बाहिरिएपछि प्रबन्धक ओली सम्पर्क विहीन बनेका हुन् ।

सहकारीको रकम दुरुपयोग गरेको खुलेपछि ओलीविरुद्ध इलाका प्रहरी कार्यालय फारुलामा उजुरी दिएको मल्लले जानकारी दिइन् । ‘गत जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकमा ओलीले सहकारीको रकम दुरुपयोग गरेको स्विकारेको थिए, ’ उनले भनिन, ‘जेठ ३० गते दुरुपयोग गरेको रकम बुझाउने प्रतिबद्धता जनाएका प्रबन्धक ओली फोन सम्पर्क गर्दा बैठक बसाउँदै गर्नु म पैसा जुटाउँदै छु, केही समय लाग्छ, लिएर आउँछु भनेका थिए । अहिलेसम्म आएका छैनन् । फोन गर्दा स्विच अफ छ । ’

प्रबन्धकका कारण आफूहरु समस्यामा परेको भन्दै सहकारीमा आबद्ध रहेका किसानले समेत फरार रहेका ओलीलाई कारबाहीको माग राखेका छन् ।

प्रकाशित : असार १५, २०७९ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?