एउटै समूहको मकैको बीउ ३८ जिल्लामा- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एउटै समूहको मकैको बीउ ३८ जिल्लामा

कान्तिपुर संवाददाता

सुर्खेत — गुर्भाकोट नगरपालिका–१२ मेहलकुनास्थित पवित्र बीउ उत्पादन उद्योगमा आबद्ध महिलाहरूले उत्पादन गरेको मकैको बीउ ३८ जिल्लामा जान थालेको छ । उद्योगमा आबद्ध झन्डै ८ सय महिलाले बीउ उत्पादन गर्न थालेपछि भारतबाट मकैको बीउको आयात रोकिएको छ ।

उद्योगले गत वर्ष ३८ जिल्लामा ८० मेट्रिक टन बीउ पठाएको थियो । गत वर्ष २ करोड ४६ लाख रुपैयाँको मकैको बीउ बिक्री भएको उद्योगकी अध्यक्ष चन्द्रकला गुरुङले बताइन् । उनका अनुसार उद्योगले आधुनिक उपकरणमार्फत बीउको वर्गीकरण गरी विभिन्न जिल्लामा मकैको बीउ पठाइरहेको छ । चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँको बीउ बिक्री गर्ने लक्ष्य रहेको उनको भनाइ छ । उद्योगले रामपुर र अरुण–२ लगायत मकैको बीउ उत्पादन, वर्गीकरण र प्याकेजिङ गरी पठाइरहेको छ । उद्योगले काठमाडौं, बाजुरा, अछाम, सल्यान, रोल्पा, रूपन्देही, कैलाली, जाजरकोट, म्याग्दी, बागलुङलगायत जिल्लामा बीउ पठाइरहेको जनाएको छ ।

प्रदेश सरकारले बीउमा आत्मनिर्भर बन्ने नीति ल्याएपछि सुर्खेतका अन्य ठाउँमा पनि व्यावसायिक रूपमा बीउ उत्पादन भइरहेको छ । जिल्लामा यो वर्ष साढे ८० टन रामपुर र अरुण–२ हाइब्रिड–१० को बीउ सफल रूपमा उत्पादन गरिएको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले बताए । उनले सुर्खेत मकैको बीउमा आत्मनिर्भर भइसकेको दाबी गरे । ‘सरकारले सही कार्यक्रम दिनसक्यो र किसानलाई आकर्षित गर्न सकियो भने कृषिबाट परिवर्तन सम्भव छ भन्ने कुरा यहाँका महिलाले पुष्टि गरेका छन्,’ उनले भने, ‘यहाँको बीउ ३८ जिल्लामा जानु सबैका लागि गर्वको कुरा हो ।’ उनले मंगलबार उद्योगलाई सबैखाले बीउ वर्गीकरण गर्ने उपकरण हस्तान्तरण गरे । उक्त उपकरण प्रदेशस्थित कृषि निर्देशनालयले १८ लाख रुपैयाँमा खरिद गरी उद्योगलाई दिएको हो ।

प्रदेश सरकारले केही वर्षदेखि गुर्भाकोटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै सुपरजोन कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रम सञ्चालन भएको क्षेत्रमा यसभन्दा अघि परम्परागत रूपमा मकै, धान, गहुँ बाली किसानले लगाउँदै आएका थिए । पुरानो तरिकाले खेती गरेका किसानलाई कार्यक्रममार्फत व्यावसायिक बीउ उत्पादनमा लगाइएको प्रदेश कृषि निर्देशक चित्रबहादुर रोकायले बताए । उनका अनुसार ८ सय महिलाले झन्डै १३ सय हेक्टरमा मकै खेती गरिरहेका छन् । निर्देशनालयले ३ वर्षयता कर्णालीमा मकै खेती हुने क्षेत्रफल बढिरहेको जनाएको छ । यो वर्ष कर्णालीमा ८७ हजार ८ सय ७ हेक्टरमा मकै खेती भएको छ भने गत वर्ष २ लाख ५८ हजार मेट्रिक टन मकै उत्पादन भएको थियो । त्यसमध्ये झन्डै ३ सय १७ टन मकैको बीउ उत्पादन भएको रोकायले जानकारी दिए ।

प्रकाशित : असार १३, २०७९ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्

पर्यटक कुर्दै जुम्लाका होटल व्यवसायी

डीबी बुढा

जुम्ला — पर्यटक नआउँदा जुम्लाको होटल व्यवसाय संकटमा परेको छ । कोरोना महामारीअघि रारा आएका अधिकांश पर्यटक जुम्ला आउँथे । पर्यटक बढ्दै गएपछि व्यवसायीहरूले होटलहरूमा लगानीसमेत बढाए । तर अहिले अधिकांश होटलहरू रित्तै बनेका छन् ।

त्यसो त हिउँदका ३ महिना जुम्लामा पर्यटन आवागमन ठप्प हुन्छ । अत्यधिक हिमपात हुने भएकाले उक्त सिजनमा पर्यटकहरू नै आउँदैनन् । क्षेत्रीय होटल संघ जुम्लाका अध्यक्ष दिलबहादुर महतले हिउँदमा बन्द नै गर्नुपर्ने होटलहरू अहिले पनि पाहुना नआउँदा रित्तो बनेको बताए । उनका अनुसार अहिले ठूला लगानीका होटलहरूमा ५ वटा कोठा भरिन पनि मुस्किल छ । ‘सिजनकै बेला पर्यटक आउँदैनन्,’ उनले भने, ‘कुनै महिनामा त खर्चसमेत उठाउन मुस्किल हुन्छ ।’ उनका अनुसार जुम्लामा ५० लाखदेखि २ करोडसम्म लगानी गरेका होटल मात्रै झन्डै १५ वटा छन् । अहिले ठूला लगानीका होटलहरूमा १० देखि २० जनासम्म पाहुना मात्र आउने गरेको बताए । जबकि ती होटलहरूमा दैनिक ५० जनासम्म पाहुनाहरू राख्न सकिने सुविधा छ ।

होटल दौंतरीका सञ्चालक पदमबहादुर महतले आफूहरूसँग भएका आधा कोठा पनि नभरिँदा व्यवसाय नै धरापमा पर्न थालेको बताए । उनको होटलमा १६ वटा कोठाहरू छन् । तर दैनिक ८ कोठा पनि भरिन मुस्किल हुन्छ । ‘कोरोना महामारी अघिसम्म पर्यटकलाई कहाँ राख्ने होला भन्ने चिन्ता हुन्थ्यो, एक साताअघि नै सबै कोठा भरिभराउ हुन्थे,’ उनले भने, ‘अहिले त व्यवसायीले नै पाहुना खोज्नुपर्ने बाध्यता छ ।’

साउनदेखि भने पर्यटकहरू बढ्ने आशा रहेको संघका अध्यक्ष महतले बताए । उनका अनुसार साउन, भदौ, असोज र कात्तिक महिना रारा र जुम्ला घुम्न आउने पर्यटकका लागि उपयुक्त मौसन हो । ‘पर्यटकको संख्या बढ्दै गएपछि साना होटलहरूले पनि लगानी बढाए, यहाँ कुनै बेला त पर्यटकीय होटल बनाउने होडबाजी नै चल्यो,’ उनले भने, ‘जब कोरोना महामारी सुरु भयो, त्यसबेलादेखि ओरालो लागेको व्यवसायले अझै पनि गति लिन सकेको छैन ।’ संघको तथ्यांकअनुसार कोरोना महामारीअघिसम्म एकै महिनामा ३७ हजारसम्म पर्यटक जुम्ला आएका थिए ।

जुम्लामा होटल व्यवसायमा झन्डै २ अर्ब रुपैयाँ लगानी भएको संघको अनुमान छ । संघका अनुसार यो व्यवसायबाट कम्तीमा ३ सय जनाले रोजगारी पाएका छन् । पछिल्लो समय राष्ट्रियस्तरका कम्पनीहरूले समेत होटलका शाखा खोल्ने क्रम बढिरहेको छ । होटल पौवाले आफ्नो शाखा खोलिसकेको छ । पर्यटकीय होटलहरूले आफ्नो मेनुमा जुम्लाको उत्पादनलाई विशेष जोड दिएका छन् । होटल पौवाले कोदोको रोटी, फापरको रोटी, फापरको ढिँडो र मार्सी चामललगायत स्थानीय उत्पादनलाई प्रमुख परिकारका रूपमा राखेको छ ।

नियमित हवाई सेवा नहुँदा पनि होटल व्यवसाय समस्यामा परेको उपभोक्ता हकहित संरक्षण कार्यालयका प्रमुख श्रीकृष्ण देवकोटाले बताए । ‘कुनै बेला जुम्लामा मिठो खाने र राम्ररी सुत्न पाइने होटल नै पाउन मुस्किल थियो,’ उनले भने, ‘अहिले त एकसे एक होटल खुलेका छन्, तर पर्यटक नआउँदा व्यवसायीलाई ठूलो मर्का परेको छ ।’ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जिल्लाका होटेलहरूलाई स्तरीकरण तथा लोगो वितरण गर्ने प्रक्रिया थालेको छ । कार्यालयका प्रमुख डा. ईश्वर सुवेदीले होटलको स्तरीकरण गरी तिनीहरूलाई पर्यटकमैत्री बनाउन स्तरीकरणको काम सुरु गरिएको बताए । ‘व्यवसायीहरूलाई ५० वटा प्रश्नहरू समेटेर स्वमूल्यांकन फाराम दिएका छौं,’ उनले भने, ‘उनीहरूले भरेको फारामका आधारमा अनुगमन गरी एक साताभित्रै होटलहरूको वर्गीकरण हुन्छ ।’

प्रकाशित : असार १३, २०७९ ०७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×