गरिबीले बढ्दै आत्महत्या- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गरिबीले बढ्दै आत्महत्या

कान्तिपुर संवाददाता

सुर्खेत — वीरेन्द्रनगर–१३ पीपलडाँडाका हरिभक्त आचार्यले गत वर्ष माघ ११ गते साहुबाट लिएको ऋण तिर्न नसक्दा आत्महत्याको बाटो रोजे । छिमेकीहरूका अनुसार हरिभक्तले घर व्यवहार चलाउन विभिन्न व्यक्तिबाट ऋण लिएका थिए ।

छोराछोरी र श्रीमतीसहित घर व्यवहार धान्न समस्या भएपछि उनले आत्महत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । वीरेन्द्रनगरकै ७ वर्षीय सम्पूर्ण सुनारले चैत ११ मा अभिभावकले मोबाइल नकिनिदिएको भन्दै घरभित्रै आत्महत्या गरे । पछिल्लो समय गरिबीका कारण आत्महत्या बढेको प्रहरीको निष्कर्ष छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको त्रिवर्षीय तथ्यांक केलाउँदा पनि यस्तो तथ्य देखिन्छ । कार्यालयका अनुसार ३ आर्थिक वर्षमा कर्णालीका ८ सय ८८ जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये ८ सय ४३ जनाले विष सेवन गरेर र झुन्डिएर आत्महत्या गरेका छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र केसीले गरिबीका कारण पछिल्लो समय आत्महत्या बढ्दै गएको बताए । उनका अनुसार घरेलु हिंसा र बहुविवाहका कारण पनि आत्महत्याको दर बढिरहेको छ ।

एक वर्षअघि सल्यानको कालीमाटी गाउँपालिका–७ का २७ वर्षीय पूर्णबहादुर पुनले २६ वर्षकी रोशनी पुनसँग विवाह गरे । विवाहको १ महिना नबित्दै उनीहरू दुवैले आत्महत्या गरे । उनीहरूले आत्महत्या गर्नुको कारण पनि गरिबी रहेको प्रहरीले निष्कर्ष निकालेको छ । मजदुरी गरेर पेट पाल्दै गरेका पुन परिवारले आर्थिक अभाव बढेपछि २०७७ कात्तिक ४ गते आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका थिए । प्रहरीका अनुसार पछिल्लो समय आत्महत्या गर्नेमा बेरोजगार युवायुवती धेरै छन् ।

अधिकारकर्मी चेतन गिरीले कर्णालीमा गरिबी र बेरोजगारी आत्महत्याको पहिलो कारण बनेको बताए । यसको समाधानका लागि रोजगारी सिर्जना गर्नु उपयुक्त विकल्प रहेको उनी बताउँछन् ।

प्रकाशित : असार ८, २०७९ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्

भीमदत्तद्वारा श्वेतपत्र जारी

कान्तिपुर संवाददाता

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका झण्डै ४० करोड दायित्व बाँकी रहेको श्वेत पत्र जारी भएको छ । आइतबार नगरपालिकाले श्वेतपत्र जारी गरेको हो ।

विगतको कार्यपालिकाले जथाभावी खर्च गरेका कारण आर्थिक दायित्व बढी भएको नगर प्रमुख पदम बोगटीले बताए । पुँजीगततर्फ ३८ करोड ६८ लाख र चालुतर्फ ६५ लाख गरि ३९ करोड बढी दायित्व बाँकी रहेको श्वेत पत्रमा उल्लेख छ ।

विगतको स्थानीय सरकारले स्रोतको सुनिश्चितता नभई बोलपत्र आह्वान गरी ठेक्कापट्टा गरिएको, पटकपटक ठूलो आकारमा रकमान्तर गरिएको, स्रोतले धान्ने नसकिने आयोजनाहरूको विस्तृत परियोजना प्रतिवेदन बनाएका कारण आर्थिक दायित्व बढेको नगरपालिकाको आरोप छ । आन्तरिक स्रोतले धान्न नसकिने गरि कर्मचारी भर्ना गरेर आर्थिक व्ययभार बढाएको, इन्धन र मर्मत खर्चमा मितव्ययिता नअपनाइएको आरोप लगाइएको छ ।

उक्त दायित्व नगरपालिकाको आन्तरिक स्रोतबाट मात्रै नभ्याइने भएकाले प्रदेश र संघसॅंग आग्रह गर्ने, अनियमितता छानविन र बोझिलो कर्मचारी संयन्त्रलाई आवश्यकताका आधारमा मिलाउने श्वेत पत्रमा उल्लेख छ ।

प्रकाशित : असार ८, २०७९ ०८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×