महँगीले विपन्नलाई छाक टार्नै धौ- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महँगीले विपन्नलाई छाक टार्नै धौ

‘अब त आफ्नै बारीमा फलाए खान पाइने भो, नत्र भोकभोकै’
डीबी बुढा

जुम्ला — सिंजाका खड्कबहादुर कार्कीले दैनिक उपभोग्य वस्तु किन्न छाडेका छन् । ‘जेको पनि भाउ बढेको बढ्यै छ, हामी गरिबले कसरी किन्ने ?,’ उनले भने, ‘अब त खोले सिस्नो खाएरै बस्नुको विकल्प भएन ।’

उनका छिमेकी रणबहादुर कार्कीले पनि नुनबाहेक अरु उपभोग्य सामान नकिनेको एक महिना बित्न थाल्यो । ‘पहिले सयमा भान्सा चल्थ्यो, अहिले हजारमा पुग्यो,’ उनले भने, ‘महँगी अचाक्ली बढ्दै गयो, सबै समस्या हामी गरिबले मात्र झेल्नुपर्छ ।’

बजारमा चामल, तेल, नुन, चिनी, मैदा, मासुलगायतको भाउ बढेपछि जुम्लीहरूको भान्सा महँगिएको छ नै कम आय हुने परिवार समस्यामा परेका छन् । ‘सरकार फेरिए, व्यवस्था बदलिए, तर जनताको भान्सा कहिल्यै सस्तो भएन,’ खडकबहादुरले भने, ‘अब त आफ्नै बारीमा फलाए खान पाइने भो, नत्र भोकभोकै ।’

व्यापारीहरूले बजेटअघि जुम्लामा लाखौं मूल्यका सामान लुकाएका थिए । अहिले सबैजसो सामानमा २५ प्रतिशतसम्म मूल्य बढेको स्थानीय कमल न्यौपानेले बताए । ‘डिलरमै महिनौंदेखि थन्काएर राखेको सामानलाई चर्को मुल्यमा बेचिरहेका छन्,’ उनले भने, ‘प्रशासन मौन छ, वर्षा लाग्यो अब त झन् मूल्य बढ्छ होला ।’ वर्षायाम सुरु भएसँगै बर्षेनि ढुवानी समस्या देखाउँदै व्यापारीले आफूखुसी मूल्य बढाउने गरेको उनले बताए । व्यापारीले विपन्नको दुःख र कठिन समयलाई कमाउने अवसरका रूपमा उपयोग विडम्बना भएको उनको भनाइ छ ।

जुम्लाका व्यापारिक केन्द्रहरूमा सबैभन्दा बढी तेलको मूल्य बढेको छ । होलसेल र डिलरहरूले पटकैपिच्छे मूल्य बढाउँदा आफूहरू पनि मर्कामा परेको खलंगा बजारमा खुद्रा पसल चलाउँदै आएकी धनलक्ष्मी सार्कीले बताइन् । उनका अनुसार पहिले १ सय ५० रुपैयाँमा किनबेच हुँदै आएको खाने तेलको मूल्य अहिले २ सय रुपैयाँ पुगेको छ । त्यस्तै चिनी १ सय २० रुपैयाँ, चामल ७२ देखि ८० रुपैयाँ प्रतिकिलोसम्म पुगेको उनको भनाइ छ ।

५ किलो आटाको मूल्य यसअघि २ सय ५० रहेकोमा अहिले ३ सय २० रुपैयाँ प्रतिकिलो पुगेको छ । ‘हामी त किलोमा १०/१५ रुपैयाँ नाफा खाएर मात्र बेच्छौं,’ उनले भनिन्, ‘कमाउने जति ठूला व्यापारीले कमाउने भए, हामीलाई पनि सानो व्यापारले गुजारा चलाउन मुस्किल छ ।’ पशुपति जनरल स्टोरका सञ्चालक डिल्लीप्रसाद पाण्डेले महँगीले उपभोक्ता र साना व्यापारी मर्कामा परेको बताए ।

कम्पनीहरूले नै मूल्य बढाएर सामान पठाइरहेको जुम्लाका होलसेल व्यापारी मीनप्रसाद पौडेलले बताए । ‘सबै आयतित सामान भएकोले मुल्य बढेरै आउने गर्छ,’ उनले भने, ‘हामीले त झन् एमआरपी मूल्यमा पनि केही प्रतिशत छोडेर सामान बेचिरहेका छौं ।’ महँगी बढे पनि सबै व्यापारीको प्रतिस्पर्धा हुँदा आएको सामान १/२ दिनमै सकिने उनले जानकारी दिए ।

जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष पुरीचन्द्र देवकोटाले मुल्यबृद्धिका नाममा कालोबजारी भने नभएको बताए । उनले सरकारले तेलहरूमा विभिन्न समयमा मुल्य बृद्धि गरेको बताउँदै बाहिरबाट आउने खाद्यवस्तुमा ढुवानी र केही नाफा मात्र जोडेर बिक्री गर्न व्यापारीहरूलाई भनिएको जनाए । ‘स्थानीय बजारमा कुनै सामान उत्पादन हुँदैन, सबै बाहिरबाट आउने हो,’ उनले भने, ‘सामानको मूल्य बढेसँगै एक महिनायता जुम्लीहरूको भान्सा पनि महँगिएको छ ।’ सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको विषयमा गुनासो आएको बताइन् । ‘छिट्टै बजार अनुगमन गछौं,’ उनले भनिन् ।

तातोपानी गाउँपालिका–५ का पूर्णप्रसाद चौलागार्इंले खाद्यवस्तुको मूल्य वृद्धिले उपभोक्ता मारमा परेको बताए । ‘सरकार हरेक बजेटमा कर्मचारीको तलब बढाउँछ,’ उनले भने, ‘जनतालाई भने मूल्यवृद्धिले लखतरान बनाएको छ, सरकारले तत्काल जनताको चुलो सस्तो बनाउन जरुरी छ ।’

प्रकाशित : असार ८, २०७९ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्

मार्सी फल्ने फाँटमै थुप्रिन्छ फोहोर

डीबी बुढा

जुम्ला — जुम्लामा जेठको पहिलो साताबाट रोपाइँ सुरु हुन्छ, जसका लागि खेतको आली बनाउने, सिँचाइ गर्नेदेखि माटो सम्याउने कामको सुरु अगाडि नै भइहाल्छ । तर यो वर्ष खेतबारीमा बगेर आएको फोहोरका कारण रोपाइँमा निकै समस्या भएको किसानले दुखेसो गरेका छन् । 

खेतमै प्लास्टिकजन्य वस्तु थुप्रिएको छ । अस्पतालबाट बगेर आएका सुई समेत खेतमै जाने गरेकोले रोप्न निकै कठिन भइरहेको किसान बताउँछन् । चन्दननाथ ७ का राजबहादुर महत प्रत्येक किसानको खेतबारीमा न्यूनतम १ बोरा जति फोहोर निस्कने गरेको दाबी गर्छन् ।

उनले भने, ‘बजारमा थुप्रिएको फोहोर खोलामा फालेकाले बगाएर खेतबारीसम्म ल्याइपुर्‍याउँछ ।’ सदरमुकामसँग जोडिएको छिना जिउलोमा फोहोर बढी जाने गरेको छ । फोहोरले माटोको उर्वराशक्ति नै ह्रास भएर उत्पादनमा कमी आउने गरेको किसान बताउँछन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मात्र प्रतिदिन ८० देखि एक क्विन्टलसम्म फोहोर निस्कन्छ । त्यो फोहोर व्यवस्थापन गर्ने अवस्था छैन । सिधै खोलामा फ्याँकिन्छ । अस्पतालबाट निस्केको फोहोरमा औषधिजन्य वस्तु र सुईसँगै भेटिन्छन् । रोप्ने र फोहोर पन्छाउने क्रममा कैयन किसानको हातमा बिझेका छन्,’ महतले भने, ‘सदरमुकाम खलंगा त फोहोर भयो नै, किसानको खेतमा समेत फोहोर पुगेकोले ठूलो समस्या निम्तिएको छ ।’

सदरमुकाम खलंगा क्षेत्रका व्यापारी समेत बोत्तलदेखि रित्ता कार्टुन सम्म खोलामै फाल्छन् । उनीहरु कुहिने र नकुहिने वस्तु छुट्याउँदैनन् । उनले भने, ‘हल्का खालको फोहोर सिधै खेतसम्म पुगेको छ । वर्षायाममा त खेतमै फोहोर डुबुल्की मारिरहेको देखिन्छ ।’

सदरमुकाम खलंगामा थुप्रिएको फोहोरले चन्दननाथ र तातोपानीसम्मका खेत बिगारेको छ । नगरप्रमुख राजुसिंह कठायत फोहोर लुकाउनको लागि अनेक विकल्प अपनाइरहेको बताउँछन् । उनले भने, ‘खलंगा फोहोर छ । जहाँतही फोहोर हुँदा दुगन्ध फैलिइरहेको छ । खेतबारीमा समेत फोहोर थुप्रिएको छ । नगरपालिकाले फोहोर उठाउँछ । नगरबासीले साथमा साथ दिनुपर्छ । ’

धान रोप्न खेतमा पस्न समेत डराउनु पर्ने अवस्था रहेको छ । अस्पतालबाट निस्कने फोहोर खोलामा फाल्न दिन नहुनेमा स्थानीयको जोड छ । मार्सीधान जुम्लाको ब्राण्ड हो । ब्राण्डको रुपमा रहेको मार्सी फल्ने फाँट फोहोरले ढाकिनु राम्रो होइन । उद्योग वाणिज्य संघ जुम्लाका पूर्वअध्यक्ष गोविन्दबहादुर शाही बजारको फोहोर लुकाउन नगरपालिकाले तदारुकता देखाउनु पर्नेमा जोड दिन्छन् ।

उनले भने, ‘फोहोर लुकाएर हराभरा खलंगा बनाउनु सबैको उत्तिकै दायित्त्व रहन्छ । तर उठेको फोहोर लैजान हरेक दिन नगरपालिकाको गाडी आइदिन पर्‍यो ।’

पटकपटक होटल तथा व्यापारीहरुलाई बोत्तल र प्लाष्टिकजन्य वस्तु जथाभावी नफाल्न आग्रह गरिएको भएपनि अटेर गरिरहेका छन् ।

प्रकाशित : असार ८, २०७९ १२:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×