कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

अशक्तलाई घरमै सुरक्षा भत्ता

विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका–९ सुनचौरका ८३ वर्षीय हर्कबहादुर बस्नेत सधैं भत्ताका लागि छोरा टेकबहादुर बस्नेतलाई लिएर झन्डै दुई घण्टा हिँडेर सदरमुकाम आउन बाध्य थिए । उनलाई वडा कार्यालयले मेघा बैंकमा खाता खोल्न लगाएको थियो । तर भत्ता बुझ्न आउँदा सधैं भीडभाड हुने । उनले भने, ‘बैंकमा पनि भत्ता लिन पालो पाउन गाह्रो थियो ।’ 

अशक्तलाई घरमै सुरक्षा भत्ता

शारदा नगरपालिका–८ मार्केकी ६० वर्षीया अपांग महिला कमला नेपाली त झन् भत्ताकै लागि सदरमुकाम आएको बेला आफन्तका घरमा बास बस्न बाध्य थिइन् । शारदा नगरपालिकाका लक्षित वर्गले लामो समय भत्ताका लागि सास्ती भोगे ।

तर अहिले नगरपालिकाले अन्यका लागि वडाबाटै र अशक्तका लागि घरमै गएर सुरक्षा भत्ता वितरण गर्न थालेको छ । बैंक र वडा कार्यालयको समन्वयमा अशक्त, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिले घरमै भत्ता बुझन् पाइरहेका हुन् ।

गत वर्षसम्म बैंकबाट भत्ताको व्यवस्था गरेको नगरपालिकाले नयाँ जनप्रतिनिधि आएसँगै घरघरमा गएर भत्ता वितरण गर्ने व्यवस्था मिलाएको हो । वडाबाटै भत्ता पाउने भएपछि विभिन्न सास्तीबाट मुक्ति पाइएको शारदा नगरपालिका–१० जलुकेकी ६३ वर्षीया एकल महिला धनसरा कँवरले बताइन् ।

भत्ताका लागि विगतमा अढाई घण्टासम्म हिँडेर सदरमुकामस्थित बैंकमा पुग्न बाध्य हुँदै आएकी उनले हिँड्न नपर्ने भएपछि धेरै राहत भएको जनाइन् । ‘पहिले सदरमुकाम आउजाउ गर्दा नै बिरामी परिन्छ कि भन्ने चिन्ता हुन्थ्यो,’ उनले भनिन्, ‘कष्टका साथ बैंक पुगे पनि घामपानी र भोकप्यास नभनी लामो समय पालो कुर्नपर्थ्यो ।’ उनले अहिले सदरमुकाम आउजाउ गर्ने पैसा पनि बचेको बताइन् ।

नगरपालिकाले सशक्त, अपांग र ज्येष्ठ नागरिकका लागि घरमै गएर भत्ता दिने व्यवस्था मिलाएर उदाहरणीय काम गरेको स्थानीय टेकबहादुर रोकाले बताए । ‘अब ज्येष्ठ नागरिक, अशक्त र अपांगता भएका व्यक्तिलाई घरमै गएर निःशुल्क स्वास्थ्य सेवा दिन जरुरी छ,’ उनले भने, ‘उनीहरूको हितमा थप कार्यर्क्रम ल्याउन पनि स्थानीय सरकारको सक्रियता जरुरी छ ।’

शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारीले लक्षित वर्गलाई अनावश्यक सास्तीबाट मुक्ति दिलाउन वडा र घरघरमै गएर भत्ता वितरण गर्न थालिएको बताए । ‘सुविधाको नाममा जनतालाई सास्ती दिनु पनि भएन नि,’ उनले भने, ‘हाम्रा सबै कामहरू लक्षित वर्गमैत्री बनाउन पहल भइरहेको छ ।’ उनका अनुसार नगरपालिकाभरि सामाजिक सुरक्षा भत्ता लिनेको संख्या ६ हजार १ सय ३० छ ।

प्रकाशित : असार ८, २०७९ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?