२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

फोहोर उठाउँदै नगर प्रमुख

राजबहादुर शाही

मुगु — गमगढी बजार क्षेत्रमा फोहोर बढ्दै गएपछि छायानाथरारा नगरपालिका प्रमुख विष्णुकुमार भाम दौडधुपमा जुटेका छन् । नगर कार्यपालिकाको पहिलो बैठकबाट फोहोर व्यवस्थापनको निर्णय भएपछि नगर प्रमुख भाम आफै बजार क्षेत्रको फोहर उठाउन जुटेका हुन् ।

फोहोर उठाउँदै नगर प्रमुख

उनी प्रत्येक दिन बिहान फोहोर संकलनका लागि ट्याक्टर लिएर विभिन्न गाउँ पुग्छन् । बजार क्षेत्रको फोहोर टिप्दै ट्याक्टरमा आफै लोड गर्छन । भामको सक्रियताले गमगढी बजारमा फोहोर हट्न थालेको छ भने बजार सफा देखिन थालेको छ । नगरप्रमुखले आफै फोहोर उठाउँदा सकारात्मक सन्देश प्रवाह भएको शान्ति होटलका प्रोप्राइटर तिलक रावतले बताए । ‘उहाँको यो कामले हामीलाई पनि जथाभाबी फोहोर नगर्न र घर अगाडिको फोहोर आफै उठाउन प्रेरणा दिएको छ,’ उनले भने, ‘आफ्नो कार्यकालभरि उहाँबाट यस्तै सकारात्मक काम भइरहने हाम्रो अपेक्षा छ ।’

अघिल्लो कार्यकालमा फोहोर व्यवस्थापनका लागि नगरपलिकाले १२ जना कर्मचारी नियुक्त गरेको थियो । तर सरसफाइ कर्मचारीको बेवास्ताले बजार क्षेत्रमा फोहोर बढ्दै गएपछि नगर प्रमुख भाम आफै फोहोर उठाउन जुटेका हुन् । उनी हातमा पञ्जा लगाएर फोहोर संकलन गर्न दैनिकजसो खटिन्छन् । गमगढी बजारलाई पर्यटकीय क्षेत्र बनाउन फोहोर व्यवस्थापन अनिवार्य भएको भामले बताए । ‘सहरी क्षेत्रमा सिसाका बोतल, कार्टुन, कागजलगायत काम नलाग्ने सामान बेचेर पनि पैसा कमाइन्छ,’ उनले भने, ‘यहाा त जताततै फोहोर फाल्ने प्रवृत्ति बढ्यो, म आफै सक्रिय भएपछि कर्मचारीले पनि फोहोर व्यवस्थापनका काम गर्न थालेका छन् ।’

उनले कम्तिमा डेढ महिनासम्म आफै खटिएर फोहर व्यवस्थापन गर्ने जानकारी दिए । ‘सरसफाइ कर्मचारी र बजारबासीलाई सवक सिकाउन पनि म आफै जुटेको हुँ,’ उनले भने, ‘नगरपालिकाले एक महिनाभित्रै फोहोर व्यवस्थापनका लागि नियम बनाउने छ, यदि अटेर गरे कारबाहीको दायरामा ल्याइनेछ ।’ उनले गमगढीको न्युरोड र पुरानो बजार क्षेत्रमा अव्यवस्थित रूपमा राखिएका पाइप व्यवस्थापन गर्न एक महिनाको समय दिइएको जानकारी दिए । बजार क्षेत्रमा फोहोर संकलनको लागि व्यवस्थित डस्टबिन राखिने नगरपालिकाले जनाएको छ । गमगढी बजार क्षेत्रलाई विभिन्न प्रकोपबाट बचाउन नक्सा पास गरेर मात्र घर निर्माण गर्न लगाउने र आगलागीबाट जोगाउन छिट्टै दमकल खरिद गर्ने निर्णय पहिलो कार्यपालिका बैठकले गरेको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७९ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?