कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

राजकुलो बनेपछि रोपाइँको चटारो

गत वर्ष बाढीले क्षति पुर्‍याएका ६० स्थानका कुलो मर्मत
डीबी बुढा

जुम्ला — गत कात्तिकमा अविरल वर्षासँगै आएको बाढीले घर भित्र्याउनै लागेको धान बाली तहसनहस बनायो । धानसँगै खेतबारी पनि बगायो । बाढीले तातोपानी र तिलाका १३ वटा सिँचाइ योजना बगाएको थियो । जसका कारण किसानहरू यो वर्ष धान खेती गर्ने या नगर्ने भन्नेबारे अन्योलमा थिए । तर तातोपानी–१ स्थित रानी जिउलोमा सिँचाइ कुलो मर्मत भएपछि किसानलाई अहिले रोपाइँको चटारोले छोएको छ ।

राजकुलो बनेपछि रोपाइँको चटारो

जिल्ला कृषि विकास कार्यालयले ७ लाख रुपैयाँमा राजकुलो बनाएको हो । जसमा किसानले झन्डै एक लाख रुपैयाँको श्रमदान गरेका थिए । कार्यालयका सव इन्जिनियर महेश बुढ्थापाका अनुसार बाढीले बगाएको कुलोमा ४१ मिटर आरसीसी ढलान गरी मर्मत गरिएको हो । पूरै कुलो निर्माण नभए पनि किसानले रोपाइँ थालेका हुन् । रानी जिउलोको झन्डै १६ हेक्टर जमिनमा मार्सी धानको खेती गरिन्छ । स्थानीय कलबहादुर कठायतले जेनतेन पानी खेतमा पुगेपछि धमाधम रोपाइँ भइरहेको बताए । ‘कुलो नबन्दासम्म धानको बीउ राख्ने कि नराख्ने भन्ने नै अन्योल थियो,’ उनले भने, ‘अहिले किसानले निकै राहतको अनुभूति गरेका छौं ।’

तातोपानी–१ बाइराँकामा पनि १ सय ५० मिटर सिँचाइ कुलो निर्माणको काम चलिरहेको छ । त्यसमध्ये तिला–४ मा बालुदेखि चौसिलासम्मको १ सय २३ मिटरमा आरसीसी कुलो बनेको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लाको झन्डै ६० स्थानमा सिँचाइ कुलो बनेका छन्, जसका कारण रोपाइँ चलिरहेको छ । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बाढी प्रभावित क्षेत्रमा कुलो बनाउन पालिकाले पनि बजेट विनियोजन गरेको बताए । ‘बाढीले खेतबारी बगाउनु दुःखद थियो तर अब बिस्तारै खेत रोप्ने वातावरण बनाइरहेका छौं,’ उनले भने, ‘कुलो बनेका ठाउँमा रोपाइँ भइरहेको छ, अरू ठाउँमा पनि योजनाको मर्मत गरिरहेका छौं ।’

प्रकाशित : जेष्ठ ३०, २०७९ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×