कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मुगुका १७ हजार विद्यार्थी पाठ्यपुस्तकबाट वञ्चित

राजबहादुर शाही

मुगु — जिल्लाको चारवटा स्थानीय तहका १ सय ४१ वटा सामुदायिक विद्यालयमा अध्ययनरत करिब १७ हजार विद्यार्थीहरू नयाँ पाठ्यपुस्तकबाट वञ्चित भएका छन् । विद्यालय खुलेको करिब एक महिना भइसक्दा पनि मुगुमा नयाँ पाठ्यपुस्तक उपलब्ध नहुँदा १७ हजार विद्यार्थीलाई पढ्नै मुश्किल परिरहेको छ । 

मुगुका १७ हजार विद्यार्थी पाठ्यपुस्तकबाट वञ्चित

कोरोना महामारीले गर्दा विगत तीन वर्षसम्म राम्रोसँग पढ्न नपाएका विद्यार्थी अहिले पढ्ने आशा बोकेर विद्यालय जान थालेपछि उल्टै पुस्तकको समस्याले गर्दा विद्यार्थीहरू चिन्तित भएका छन ।

‘स्कुल खुलेको एक महिना भइसक्यो; अझै नयाँ पुस्तक हातमा परेको छैन‚’ महाकाली माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत दुर्गादेवी शाहीले भनिन् ।

गत जेठ २ गतेबाट शैक्षिकसत्र सुरु भई विद्यार्थी भर्ना अभियान सकेर सामुदायिक विद्यालयमा पठनपाठन सुरु भए पनि सरकारले पाठ्यपुस्तक उपलब्ध गराउन सकेको छैन ।

नयाँ पाठयपुस्तक नआउँदा विद्यार्थीको पठनपाठन प्रभावित हुन थालेको बुद्ध माध्यमिक विद्यालयका प्रधानध्यापक टिकाप्रसाद उपाध्यायको भनाइ छ ।

नयाँ शैक्षिकसत्र प्रारम्भ हुनुभन्दा एक महिनाअघि हिमाली जिल्लामा पाठ्यपुस्तक ढुवानी गरिसक्नु पर्ने नियम भए पनि निर्वाचनले गर्दा असर परेको शिक्षा विकास समन्वय इकाई कार्यालयले जनाएको छ ।

इकाई प्रमुख सूर्य खत्रीका अनुसार स्थानीय निर्वाचनले गर्दा मुगुमा पाठ्यपुस्तक ढुवानी हुन नसक्दा विद्यार्थीको पढाइमा असर परेको छ । छायाँनाथ रारा नगरपालिकाभित्रका विद्यालयका लागि जयलक्ष्मी पुस्तक भण्डारले ढुवानीको जिम्मा लिएको छ भने मुगुम कार्मारोङ गाउँपालिकाअन्तर्गतका विद्यालयको निम्ति यूके जनरल स्टोरले लिएको छ ।

चुनावले गर्दा समयमै नयाँ पुस्तक ढुवानी गर्न नसकेको जयलक्ष्मी पुस्तक भण्डारका प्रोप्राइटर जयलक्ष्मी भामले जनाए । उनी भन्छन्‚ ‘अबको एक हप्ताभित्र पुस्तक जिल्लामा पुग्छ ।’

प्रकाशित : जेष्ठ २०, २०७९ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×