कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुम्लाको तातोपानीले डाक्टर र इन्जिनियर पढाउने 

डीबी बुढा

जुम्ला — जुम्लाको तातोपानी गाउँपालिकाले डाक्टर र इन्जिनियर पढाउने भएको छ । नयाँ जनप्रतिनिधि आइसकेपछि बसेको पहिलो कार्यपालिका बैठकले डाक्टर र इन्जिनियर पढाएर स्वास्थ्य र विकास निर्माणलाई चुस्तदुरुस्त बनाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले जानकारी दिए ।

जुम्लाको तातोपानीले डाक्टर र इन्जिनियर पढाउने 

उनका अनुसार प्राविधिक धारतर्फ डाक्टर र इन्जिनियर स्नातक तहमा पढ्न चाहने महिला दलित र अल्पसंख्यक तीन जनालाई पढाउने निर्णय गरेको बताए । उनले भने,‘पालिकाले ५० प्रतिशत रकम हाल्नेछ । अध्ययन सकिसकेपछि ३ वर्ष उनीहरुले पालिकामा नि:शुल्क सेवा प्रदान गर्नुपर्नेछ ।

पालिकाले गरेको यो निर्णय समय सान्दर्भिक भएको स्थानीयले बताएका छन् । पालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले डाक्टर नहुँदा सामान्य स्वास्थ्य समस्या भएपछि अस्पतालसम्म पुर्‍याउन निकै कठिन भएको बताए । उनले भने,‘अब पालिकाले डाक्टर र इन्जिनियर पढाउँछ । दक्ष जनशक्ति उत्पादन गरेर यहाँको स्वास्थ्य अवस्थामा सुधार ल्याउने छ । गुणस्तरीय विकासका लागि जोड दिइनेछ । ’

पहिलो कार्यपालिका बैठकले पालिकाभित्रका २८ वटा विद्यालयमा विद्यार्थीहरुको नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने र जसका लागि स्वास्थ्यचौकीमा रहेका स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय गरेको हो । स्वास्थ्य बिमालाई निरन्तरता दिने र तातापानी टाइम्सका रुपपा पालिकालाई स्थापित गर्ने निर्णय गरिएको हो । अब तातोपानीले निर्धारित समयमै काम गर्नेछ । समय सीमाभन्दा ढिला काम गर्ने छैन,' अध्यक्ष चौलागाईंले भने,‘तातोपानी टाइम्स घोषणा गरेर हरेक काम समयमै गर्ने वातावरणको सिर्जना गरिनेछ । ’

यसैगरी जुम्लाको तिला गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले गर्भवती र सुत्केरी महिलालाई नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको छ । अहिले समयमै सवारीसाधन नपाउँदा गर्भवती र सुत्केरीले समयमै अस्पताल र स्वास्थ्य संस्थामा पुग्न पाएका छैनन् । अध्यक्ष मोतिलाल रोकायाले भने,‘अब एक एम्बुलेन्स गर्भवती र सुत्केरीका लागि राखिएको छ । समयमै स्वास्थ्य संस्था र अस्पताल पुर्‍याउन सहज हुनेछ । ’

जुम्लाको हिमा गाउँपालिकाले सबै नागरिकको स्वास्थ्य बिमा गर्ने निर्णय गरेको छ । अध्यक्ष लक्ष्मणबहादुर शाहीले भने,‘सबै नागरिक सहज स्वास्थ्य सेवाको पहुँचमा पुग्न सक्ने अवस्था रहँदैन । आर्थिक अभावका कारण बिरामी घरमै थन्किनु पर्ने अवस्था रहन्छ । पालिका भरका गरिब विपन्न नागरिकको स्वास्थ्य बिमा गरेर सहज स्वास्थ्य बिमा प्रदान गर्ने स्थानीय सरकारको लक्ष्य रहेको छ । ’


प्रकाशित : जेष्ठ १४, २०७९ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?