मुसीकोटका मेयरको पहिलो निर्णय : शवदाहका लागि निःशुल्क दाउरा- कर्णाली - कान्तिपुर समाचार

मुसीकोटका मेयरको पहिलो निर्णय : शवदाहका लागि निःशुल्क दाउरा

हरि गौतम

रुकुम पश्चिम — मुसीकोट नगरपालिकाका नवनिर्वाचित नगरप्रमुखले शवदाहका लागि निःशुल्क दाउरा उपलब्ध गराउने निर्णय गरेका छन् ।


३ र १३ नम्बर वडाको बीचमा रहेको मुग्लुखोला घाटमा लगिने सबै शवदाहका लागि नगरपालिकाले निःशुल्क दाउरा दिने निर्णयमा नगरप्रमुख महेन्द्र केसीले हस्ताक्षर गरेका छन् ।

पदभार ग्रहण गर्दै नगरप्रमुख केसीले शवदाहका लागि दाउरा जरुरी र अत्यावश्यक भएकाले अब मुग्लुखोला जलाइने हरेक शवका लागि नगरपालिकाले निःशुल्क दाउरा दिने निर्णय प्रमाणित गरेका छन् ।

यस्तै जिल्ला अस्पतालबाट अर्को जिल्ला रिफर भएका विरामीलाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णयमा पनि नगरप्रमुख केसीले हस्ताक्षर गरेका छन् ।

नगरपालिका बाहेकका विरामीले पनि यो सेवा पाउनेछन् । यसअघि बन्द भएका विद्यालय पुनः सञ्चालन गर्ने निर्णय पनि उनले गरेका छन् । अरु पदाधिकारीको शपथग्रहणअघि नै पदभार ग्रहणका क्रममा नगरप्रमुख केसीले यी तीन निर्णयमा हस्ताक्षर गरेका हुन् । नगर उपप्रमुख विमलकुमार पुनसहित केही जनप्रतिनिधिले शपथ ग्रहण गरेका छैनन् ।

प्रकाशित : जेष्ठ १०, २०७९ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपतिद्वारा संसद्‌‌मा नीति तथा कार्यक्रम प्रस्तुत

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् । मंगलबार अपराह्न ४ बजेपछि सुरु संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । 

सरकारको नीति तथा कार्यक्रम आजै बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्‌को बैठकले पारित गरेको थियो ।

आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका साथ सरकारको नीति तथा कार्यक्रम निर्माण गरिएको छ । नीति तथा कार्यक्रमअनुसार नै सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्नेछ ।

प्रकाशित : जेष्ठ १०, २०७९ १६:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×