ऋण लिएर हेलिकप्टरबाट सुत्केरीको उद्धार- कर्णाली - कान्तिपुर समाचार

ऋण लिएर हेलिकप्टरबाट सुत्केरीको उद्धार

छपाल लामा

हुम्ला — हुम्लाको दक्षिणी भेगमा रहेको चङखेली गाउँपालिकाको नेप्का गाउँमा सुत्केरी भएको तीन दिनदेखि नै रक्तश्राव भइरहेकी एक महिलाको हेलिकप्टरमा उद्धार गरिएको छ ।

तस्बिर सौजन्य  : बिरबल घले

ज्यान जाने जोखिम देखिएपछि बचाउनका लागि आफन्त र स्थानीय बासिन्दासँग ऋण लिएर हेलिकप्टरबाट उद्धार गरिएको हो । चङखेली गाउँपालिका ५ की सुत्केरी महिला ३५ वर्षीया तुला तामाङको उद्धार गरिएको हो ।

सुत्केरी महिलाका देवर जशिलाल तामाङले तुलाको सुत्केरी भएको तीन दिनसम्म लगातार रक्तश्राव नरोकिएपछि ऋण गरी उद्धार गरिएको बताएका छन् । जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले सुत्केरी भएदेखि रक्तश्राव नरोकिएका कारण उनलाई जिल्ला अस्पतालमा ल्याउनु परेको बताइन् ।

उनको शरीर सुनिनुका साथै श्वासप्रश्वासमा समेत समस्या देखिएको बोहराले बताइन् । वरिष्ठ अनमी बोहरा सिमकोटबाट हेलिकप्टरमा आफैं सुत्केरी लिन नेक्पा पुगेकी थिइन् । अस्पतालमा सुत्केरी तामाङको अहिले उपचार सुरु भएको छ ।

महिलाका देवर तामाङका अनुसार हेलिकप्टर भाडा व्यक्तिगत रूपमा तिरिएको हो । वरिष्ठ अनमी बोहराले राष्ट्रपति महिला उत्थान कार्यक्रमले सुत्केरी वा गर्भवतीका लागि जिल्ला बाहिर उद्धार गर्नुपर्दा मात्र हेलिकप्टर भाडा तिर्ने गरेको र जिल्लाभित्रै उद्धार गर्दा नदिने गरेको बताइन् ।

दुर्गम जिल्लाभित्रै हेलिकप्टरबाट उद्धार गर्दा सरकारले लगानी नगर्नु विभेद भएको सुत्केरीका आफन्तले गुनासो गरेका छन् । नेक्पा पुग्न सदरमुकाम सिमकोटबाट तीन दिन पैदल लाग्छ ।

नेप्पा गाउँमा राम्रो स्वास्थ्यचौकी नहुँदा यस्तो समस्या परेको उनले बताइन् । 'ज्यान त बचायौं तर आफन्तको ऋण तिर्न गाह्रो छ,' तुल तामाङले बताइन् । यसरी आपतका बेला महंगोमा हेलिकप्टरको प्रयोग गर्नुपर्ने तुलाको मात्रै नभएर नेक्पा गउँका बासिन्दाहरूको नै बाध्यता छ ।

नेप्काका महिलाहरु सुत्केरी हुँदा ज्यन गुमाउनु परेको र पैसा नभए आफ्नो ज्यान पनि जाने तामाङले बताइन् । हुम्लामा हरेक महिना ४ जनासम्म यस्तो समस्याबाट गुज्रने गरेको अनमी बोहोराले बताइन् । एक हप्ताअघि पनि खापुनार्थ गाउँपालिकाबाट एक महिलालाई सुर्खेत अस्पतालमा हेलिकप्टरबाट उद्धार गरिएको थियो।

प्रकाशित : जेष्ठ ७, २०७९ २०:११
प्रतिक्रिया
पठाउनुहोस्

सर्केगाड गाउँपालिका अध्यक्षमा कांग्रेसका रोकाया विजयी

छपाल लामा

हुम्ला — हुम्लाको दक्षिण भेगको सर्केगार्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका ठानबहादुर रोकाया निर्वाचित भएका छन् ।

उनी गठबन्धन दलका तर्फबाट निर्वाचित भएका हुन् । सर्केगार्ड गाउँपालिकाका सहायक निर्वाचन अधिकृत मोहन गिरीका अनुसार गाउँपालिका अध्यक्ष पदमा निर्वाचित रोकायाले ३ हजार ५ सय ४३ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ज्ञामी बुमीले ९ सय ९७ मत ल्याएका थिए ।

त्यसैगरी उपाध्यक्ष पदमा गठबन्धन दलकै चन्द्रसिंह कार्कीले ३ हजार २ सय ८२ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका जुनकुरा कार्कीले १ हजार ६४ मत प्राप्त गरेकी थिइन् । यसैगरी ८ वटा वडा रहेको सर्केगार्ड गाउँपालिका १ मा बल कार्की र ६ नम्बर वडामा पदम बहादुर शाही एमालेबाट विजयी भएका छन् ।

वडा नम्बर ८ मा रत्नमल रोकाया, २ मा सिद्ध कार्की र ४ मा धनमल छत्याल नेकपा माओवादी केन्द्रबाट विजयी भएका हुन् । त्यसैगरी वडा नम्बर ७ मा बल खत्री र ५ मादल बहादुर सिंह नेपाली कांग्रेसबाट निर्वाचित भएका छन् ।

यता वडा नम्बर ३ मा भने अकिल कार्की स्वतन्त्रबाट निर्वाचित भएका छन् ।


प्रकाशित : जेष्ठ ३, २०७९ १८:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×